यी दुई नक्साबारे १३ सवाल र तथ्य - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

यी दुई नक्साबारे १३ सवाल र तथ्य



-गोविन्द शरण उपाध्याय

१. यहाँ देखाइएको नेपालको पहिलो नक्सा नापी-विभागले बनाएको हो । आजभन्दा ४० वर्ष अगाडी मैले प्राथमिक तहमा पढ्दा किताबहरूमा यस्तै नक्सा थिए र अहिलेका किताबहरूमा पनि ठ्याक्कै यस्तै नक्सा छन् ।

२. दोस्रो नक्सा आजभोलि विभिन्न सञ्चारमाध्यमहरूले जारीगरेर बहस चलिरहेको नक्सा हो । यो नक्सामा भारतको उत्तराखण्ड राज्यभित्र नेपाली भूभागको टुप्पी पसेको छ । तीनैतिरबाट भारतीय भूमिले छेकेको छ ।

३. यस्तो टुप्पी घुसेको नक्सा मैले नेपालका कुनै पनि पाठ्यपुस्तकमा देखेको, पढेको कोरेको छैन । (मैले नदेखेको भए क्षमा चाहन्छु किनभने म म्यापविद् होइन) आजका बालबालिकाहरूले पनि टुप्पी नभएको नेपाल नै कोरी रहेका छन् ।

४. अहिले अचानक टुप्पीवाल नेपालको माया जागेर आएको छ । सर्वसाधारण देखि प्रधानमन्त्री सम्म सम्भवतः (टुप्पी हाम्रै हो) भन्ने अभिव्यक्ति दिएका छन् ।

५. केही राजनैतिक व्यक्तित्वहरू सन् १९६५ मा राजाले गोप्य सन्धि गरेर सगरमाथाको उत्तरी भेक चीनलाई दिएको र त्यसपछि अज्ञात मितिमा कालापानी पनि गोप्य नै सन्धि गरेर भारतलाई दिएको भन्ने बहस पनि सुनिन थालेको छ ।

६, यदि आजभोलि नक्सामा देखाइएको टुप्पी नेपाली भूभाग नै हो भने विगतका नक्साहरूमा किन राखिएन ? २०४७ पछि नेपालमा धेरै पटक प्रजातान्त्रिक राजनैतिक दलहरूले राज्य सञ्चालन गरेकै हुन् र गरिरहेका छन् । आफ्नै हातमा डाडु-पनियो हुँदा काङ्ग्रेस-नेकपा सरकारहरूले “टुप्पी-सहितको नक्सा” किन जारी गर्न सकेनन् ?

७. यदि यो टुप्पी नेपालकै भूभाग थियो भने त्यो भूभाग कसले गोप्य सन्धि गरेर भारतलाई प्रयोग गर्न दिइयो र कहिले देखि ? भन्ने रहस्य सरकारले जनतासमक्ष प्रकट गर्नुपर्छ । देशको सार्वभौम सत्ता नै अतिक्रमण पर्दा जनतालाई आफ्नो सीमा मिचिएको कारण थाहा हुनुपर्छ ।

८. मैले लेखेको कुरा धेरैलाई चित्त नबुझ्ला तर भारत र चीन सीमा मिचे भन्दै हामी नेपाली देशभक्तहरूले सडक तताएर हामी भन्दा धेरै बलिया भारत र चीनले अतिक्रमण गरेको भूभाग “ल लिनोस् तपाईँको नेपाल” भनेर फिर्ता दिने छैनन् । बरु, उनीहरूसँग हाम्रो कूटनैतिक सम्बन्ध नै बिग्रने डर छ ।

९. नेपाल सरकारले सीमाका विषयमा जनताको मागलाई सम्बोधन गर्न सीमाको वास्तविकता सार्वजनिक गर्नुपर्छ र अर्कोतिर विवादित क्षेत्रका समस्याहरू समाधान गर्न तुरुन्त उच्चस्तरीय वार्ता आरम्भ गर्नुपर्छ । जनतालाई “भारतसँग यति ठाउँमा र चीनसँग यति ठाउँ र यो ठाउँमा सीमा विवाद छ” भनेर सरकारी तवरबाट नै जानकारी प्राप्त हुनुपर्छ ।

१०. सत्तामा हालीमुहाली गर्ने बेइमानहरूले गर्दा जनताले राजनैतिक विश्वास गुमाउँदै छन् । सत्ताको डाडुपनियो बोक्नेहरूलाई समस्या थाहा छ, छैन भने खोज्नुपर्छ । “संविधानमा धर्मनिरपेक्षता कसरी घुसाइयो थाहा भएन” भनेर वक्तव्य दिने प्रधानमन्त्री यही देशका हुन् । भारत मै बसेर भारतविरुद्ध “सुरुङ युद्ध” सञ्चालन गरे पनि अहिले सत्तामा छन् । दुवैका कार्यकर्ताहरूले २००७ पछिका नक्सा देखेकै थिए होला ? अनि, मुखमा दही किन जमेको थियो ?

११. यिनै सत्तामा हालीमुहाली गरिरहेका र गरेका पार्टीका नेता तथा कार्यकर्ताहरूमा अचानक “टुप्पी”प्रति माया, ममता र सद्भाव ओइरिएको छ । “राष्ट्रवाद” झाँगिएको छ । म राष्ट्रवादी अवश्य हुँ तर बेइमान राष्ट्रवादी बन्न चाहन्न । मेरो राष्ट्रवाद सस्तो बन्नु हुँदैन । सरकारले विवादित सीमा क्षेत्र र भारत र चीनले जबरजस्ती कब्जा गरेका क्षेत्रहरूको आन्तरिक नक्सा तुरुन्त जारी गरोस् – भन्ने मेरो माग छ ।

१२. आज एटम बमको जमानामा “खुकुरी” नचाएर कुनै पनि युद्ध जितिँदैन । नेपालले आफ्नो कुरा बलियो गरी उठाउनुपर्छ । आफूले प्रमाणसहित अडान लिन सकियो भने केही हदसम्म सफलता मिल्छ । चीन वा भारत विरोधी नारा लगाउँदैमा सीमा विवाद मिल्दैन ।

१३. अन्त्यमा, नेपालको इतिहास भारतभन्दा धेरै प्राचीन छ । भारत १९४७ मा बनेको हो । भारत वा चाइनाले नेपालजस्ता छिमेकीलाई हेपेर शान्तिसँग बस्न सक्दैनन् । भूमिको राजनीति कठोर र क्रूरतम हुन्छ । तैपनि नेपाल र भारत मिलेर समस्याको समाधान गर्नुपर्छ । यही नै निर्विकल्प बाटो हो ।