'कोरोना' भन्दा 'नमस्कार'को असर बढी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

‘कोरोना’ भन्दा ‘नमस्कार’को असर बढी



काठमाडौं- आदरभाव व्यक्त गर्ने विशिष्ट संस्कार नमस्कार हो । अहिले यसकै चर्चा छ ।

कोरोना सङ्क्रमणले विश्वव्यापी आतंक मच्चाइरहेको छ। यसैको कारणले हजारौं मानिसले ज्यान गुमाएका छन् । एक प्रकारको भवितव्य नै बनेको कोरोना सङ्क्रमण नेपालमा भने अहिले सम्म भेटिएको छैन ।

संयोग नै मान्नुपर्छ संसारका १ सय ६२ देशमा कोरोना संक्रमण फैलिँदा पनि नेपालमा भने यसको असर देखिएको छैन ।

कोरोना सङ्क्रमणकै कारण पश्चिमा देशहरूले मेपालाको मौलिक संस्कार अवलम्बन गर्न थालेका छन् । अहिले विश्वका भिआइपीहरूले हाम्रो मौलिक संस्कार नमस्कार अवलम्बन गरेका छन् ।

कैयौँ देशका राष्ट्रप्रमुखहरूले नमस्कार गरेका तस्विरहरू अहिले भाइरल बनेका छन् भने यससँगै हाम्रो मौलीक संस्कार वैज्ञानिक भएको चर्चा विश्वभर हैराहेको छ ।

एकातिर विश्व ध्वस्त बनाएको पश्चिमा संस्कारलाई बिस्थापित गर्दै हाम्रो संस्कार दुनियाभर फैलनु र अर्कोतिर नेपालमा कोरोना सङ्क्रमण नदेखिनु पनि आश्चर्यलाग्दो बनेको छ ।

विनासकारी भूकम्पपछि बेलायतका राजकुमार ह्यारी नेपाल आउँदा नमस्तेबाट यात्रा सुरू गर्दा सबैले उनको तारिफ फरे ।

त्रिभुवन विमानस्थलबाट बाहिर निस्कँदा नमस्कारको मुद्रामा देखिएका ह्यारीले त्यसपछिका सबै ‘हाई हाइप्रोफाइल’ भेटमा पनि नमस्तेलाई निरन्तरता दिएका थिए ।

अहिले सम्पूर्ण विश्व कोरोनाको कहरमा फसेको बेला विश्वका शक्तिशालीहरूले नमस्कारलाई महत्व दिएका छन् ।

यो कोरोनाभाइरसको संक्रमण फैलन सक्ने त्रासका कारण अपनाइएको नमस्कार संस्कृति विकल्प मात्र होइन वैज्ञानिक पनि छ ।

पश्चिमा मुलुकमा हात मिलाउने तथा अंकमाल गरेर अतिथिलाई स्वागत गर्ने परम्परा छ । जुन परम्परा यसपटक बेलायतसहित विश्वका धेरै मुलुकले तोडेका छन् ।

पश्चिमा संकृतिको उपज मानिने अंकमाल, हात मिलाउने तथा चुम्बन गर्ने परम्परा पच्छ्याउन थालेको नेपाली युवापुस्तामा समेत संक्रमण सर्ने त्रासकै कारण नमस्ते गर्ने अभियान चलेको छ ।

विज्ञहरुकाअनुसार नमस्ते संस्कृत शब्दबाट आएको उत्तम पूर्वीय सभ्यताको सत्कार संस्कार हो । जसलाई वैज्ञानिक आत्माको संकेतका रुपमा हिन्दुधर्म परम्पराले अंगिकार गर्दै आएको छ ।

यही साता मुटुको चक्रजस्तै दुई हात जोडेर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ह्वाइट हाउस’मा आयरल्यान्डका प्रधानमन्त्री लियो भराडकरलाई नमस्ते गरे ।

हात मिलाउँदा, अंकमाल गर्दा तथा चुम्बन गर्दा भाइरसको संक्रमण फैलने भन्दै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यही साता आफ्ना नागरिकहरुलाई हात नमिलाइ नमस्ते गर्न आह्वान गरे ।

फ्रान्सका राष्ट्रपति इम्यान्युएल माइक्रो, नेदरल्यान्ड्सका राजा विलियम अलेक्जेन्डरलगायत विश्वका थुप्रै मुलुकका सरकार तथा राष्ट्रप्रमुखले नमस्ते संस्कार पच्छ्याएपछि यसको वैज्ञानिकता र व्यवहारिकताबारे नयाँ शिराबाट बहस सुरु भएको छ ।

शिर झुकाएर, प्रेम र सद्भावयुक्त मीठो अभिवादन गर्नु हिन्दु धर्म, संस्कृतिको परम्परा नै हो । जसलाई हिन्दु धर्मग्रन्थहरुमा शान्ति र धैर्यको सूचकका रुपमा अर्थ्याइएको छ ।

त्यसैले पनि विश्वका शक्तिशाली नेताहरुले दुई हात जोडेर नमस्कार गरेको तस्वीर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्राथमिकताका साथ छाइरहेका छन् ।

त्यतिमात्र होइन हाम्रो संस्कार नमस्कारकै कारणले हात नै मिलाउन नपरेपछि अनगिन्ति मानिसमा कोरोना संक्रमण हुन दिएको छैन । त्यसैले कोरोना भाइरसको भन्दा नमस्कारको असर पक्कै बढी छ । त्यो पनि सकारात्मक असर ।