नन्द गुरुङ बने एनआरएनए अस्ट्रेलियाको अध्यक्ष - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नन्द गुरुङ बने एनआरएनए अस्ट्रेलियाको अध्यक्ष



अस्ट्रेलिया- नन्द गुरुङ एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा विजयी भएका छन्। गैर आवासीय नेपाली संगठनको शनिबार सम्पन्न निर्वाचनमा ८५८३ मतसहित गुरुङ आगामी दुइ वर्षका लागि अध्यक्ष निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी डाक्टर ज्ञानेन्द्र रेग्मीले ४८७९ मत प्राप्त गरेका थिए भने कोहि पनि छान्दिन भन्नेमा ७४४ मत परेको थियो। अध्यक्षमा निर्वाचित भए पश्चात आफुलाई मतदान गर्ने सम्पूर्ण मतदाताहरूमा धन्यवाद ज्ञापन गर्दै गुरुङले आफ्ना प्रतिवद्धताबाट पछि नहट्ने पनि बताएका छन्।

एनआरएनएको आफ्नै कार्यालय स्थापना गर्ने र कुलतमा फसेका युवाहरुलाई सहि बाटोमा ल्याउन काउन्सिलिङ्ग सेसनाहरु संचालन गर्ने मुख्य एजेन्डासहित गुरुङ चुनावी मैदानमा होमिएका थिए। उनि न्यु साउथ वेल्स राज्यका पुर्व संयोजक समेत हुन्।

सन् २०२१-२३ को कार्यसमितिमा महासचिवमा राजु बाबु अधिकारी, सचिवमा सन्ध्या शाह, संयुक्त कोषाध्यक्षमा राजकुमार नगरकोटी, नारि निकुञ्ज संयोजकमा मंजु खड्का र युवा संयोजकमा बबिन मिश्र निर्वाचित भएका छन्।

यस्तै शनिबारनै सम्पन्न निर्वाचनले एनआरएनएको केन्द्रीय निर्वाचनका लागि प्रतिनिधि पनि छानेको छ। निर्वाचित केन्द्रीय प्रतिनिधिहरुमा बुद्धि डल्लाकोटी, परशुराम अधिकारी, प्रज्वल भट्टराई, सूर्य खनाल, प्रवेश राज घिमिरे, राजेश बुढाथोकी र प्रेम कंडेल रहेका छन्।

त्यस्तै राज्य र केन्द्र बीच समन्वय कायम गर्ने राज्य संयोजन समितिहरुमा पनि प्रमुख संयोजक सहित सबै पदाधिकारीहरु निर्वाचित भएका छन्। अस्ट्रेलियन क्यापिटल टेरिटोरीको संयोजकमा अशोक बस्नेत, न्यु साउथ वेल्समा देव गुरुङ, नर्थन टेरिटोरीमा बिष्णु चापागाईं, क्विन्सल्याण्डमा बिनोद भक्त आचार्य, साउथर्न अस्ट्रेलियामा रेनुका लामा, तास्मानियामा राकेस शाक्य, भिक्टोरियामा राम हरि खड्का र वेस्टर्न अस्ट्रेलियामा दिपक बस्नेत संयोजकका रुपमा निर्वाचित भएका छन्।

नेपाली विद्यार्थीहरुको सर्वाधिक चासोको विषय बनेको न्यु साउथ वेल्स राज्यको युवा संयोजक पदमा बिक्रम दाहाल विजयी भएका छन्। आफ्ना निकटतम प्रतिद्वन्द्वी कलाम खड्का भन्दा ६ सय ८८ मत बढी पाएर उनि विजयी भएका हुन् भने कसैलाई पनि छान्दिन भन्नेमा १ हजार २५ मत परेको थियो।

परिणाम घोषणा भए लगत्तै खड्काले दाहाललाई शुभकामना दिएका छन्। “हार जित चुनावी खेल नै हो। विक्रम जीले नेपाली विद्यार्थीका समस्या पहिले देखि नै सम्बोधन गर्दै आउनु भएको हो। अब एनआरएन विद्यार्थीहरुको पनि हो भन्ने उदाहरण उहाँले बसाल्नु हुनेछ भन्ने बिश्वास लिएको छु, उहाँलाई सफल कार्यकालको शुभकामना। ” खड्काले भने।

यस्तै विजयी दाहालले पनि आफुले युवाहरुको उत्थानमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। “पहिलो पुस्ताका नेपाली बिद्यार्थी र यहि जन्मिएका दोश्रो पुस्ताका नेपाली युवाहरु बीच समन्वय कायम गर्नु मेरो मुख्य उद्देश्य हुनेछ। यस संगै सामाजिक, सांस्कृतिक र खेलकुदका कार्यक्रम आयोजना गर्दै आत्मियता बढाउने त अनिवार्य कार्य नै भयो। कार्यकाल सक्किदा सम्म केहि उल्लेखनीय नतिजा हेर्न पाउनु हुनेछ। ” उनले भने।

दाहालले नेपालमा कोरोनाको दोश्रो लहर चलिरहँदा नेपाली विद्यार्थीहरुको तर्फबाट नेपालमा अक्सिजन कनसन्ट्रेटर पठाउने अभियानमा मुख्य भूमिका खेलेका थिए।एनआरएनएको शनिवार सम्पन्न चुनावमा ९२ दशमलव ९२ प्रतिशत मतदान भएको थियो।