नाङ्गाहरुको लिङ्ग ढोग्नेहरुको नाममा..... - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नाङ्गाहरुको लिङ्ग ढोग्नेहरुको नाममा…..



हेमन्त गिरी

(नोट: यो आलेखमा मैले नागा बाबा वा साधु भन्ने शब्द प्रयोग नगरी नाङ्गा शब्द मात्र प्रयोग गरेको छु,किनकि मेरो मान्यता छ बाबा वा साधु कहलिने मान्छे सार्वजनिक स्थानमा नाङ्गो हुन्न)

शिवरात्रीको अवसरमा पशुपति क्षेत्रका विभिन्न दृश्यहरू हिंजो दिनभर सामाजिक सञ्जालमा आइरहे । भारतबाट आएका नाङ्गा जोगीहरुको प्रदर्शनी मुख्य आकर्षण थियो । सञ्जालमा ठुलो जामातद्वार नांगाहरुको विरोध गरिंदै गर्दा फिल्डमा चाहिँ केही फरक दृश्यहरू देखिए । युवायुवतीहरुले नाङ्गाहरु सँग सेल्फ़ी खिचाउन,नांगाहरूका लिंगलक्षित गरी ढोग्न अनि उनीहरूको दर्शन पाउन तँछाडमछाड गरिरहेको दृश्यले केही लेख्न बाध्य बनायो । हुनसक्छ, यो लेखिसके पछि म धर्म विरोधी,संस्कार र चलन विरोधी कहलिने छु । तर कोही त बोल्नै पर्छ,कसैले त लेख्नै पर्छ ।

नाङ्गाहरुले गलत गरे वा उनीहरूसँग सेल्फ़ी खिच्नेहरुले वा उनीहरूको लिङ्ग ढोग्नेहरूले गल्ती गरे भन्ने तिर नजाउँ । जे गरे स्वेच्छाले गरे,जसलाई देशको कानुनले पनि छुट दियो भनेपछि हामी बोलिरहनुको अर्थ पनि रहेन । नग्नता प्रकृतिक हो । प्रकृतिलाई स्वीकार गरेको हरेक प्राणीले नग्नतामा जिब्रो टोक्नु पर्ने कुनै कारण पनि छैन । तर नग्नताको एउटा परिधि हुन्छ; स्थान,उमेर र नियमको परिधि । बालक नाङ्गो हुन्छ, तर राम्रो देखिन्छ,यहाँ उमेरको परिधि छ । बन्द कोठा भित्र बैध जोड़ी नांगा हुन्छन्,त्यो पनि शोभनिय नै हुन्छ,यहाँ स्थानको परिधि छ । कतिपयले नग्नता बेचेर पैसा कमाउँछन,कानुनले मान्यता दिएका देशमा त्यो पनि सामान्य हुन्छ,यहाँ नियमको परिधि छ । हाम्रो देशमा चाहिँ उमेर,स्थान र नियत हेरेर नग्नतामा बंदेज लगाइएको छ । राज़ीखुशीले बसेका प्रेमी जोड़ी होटेलको बन्द कोठा भित्र पुलिसद्वारा समातिन्छन, वयस्क फ़िल्म बनाउन र प्रदर्शन गर्न बर्जित छ, सडकमा नग्न गतिविधि देखाउनेलाई सके कानुनले नसके स्थानीयले तह लगाउँछन । देखिने गरी गरिने हरेक नग्न गतिविधिहरू नेपालमा बर्जित छन् तर पशुपतिमा आउने भारतीय कथित बाबाहरुको नग्नता किन सर्वस्वीकार्य भएको होला ? यसको ख़ास कारण छ ।

जुन देशको कानुन फितलो हुन्छ,जहाँ देशको नियम कानुनलाई भन्दा धर्मलाई ठुलो मानिन्छ,जहाँका मानिसहरू धर्मलाई आस्थाको रूपमा नभई डरको रूपमा ग्रहण गर्छन्,त्याहाँ धर्मको नाममा हुने हरेक गतिविधि प्रति आँखा चिम्लिने चलन हुन्छ । त्यस्तो देशका आम मानिसमा (शासक र प्रशासकमा पनि) एक किसिमको भगवानको डर,भगवानको नभए चलनको डर,अनि चलनको पनि नभए साथीभाई/आफन्तको डरले काम गरिरहेको हुन्छ । त्यही डरले धर्मको आडमा हुने गलत कामलाई पनि सही भन्न बाध्य पार्छ,ख़राब चलनको विरोध गर्न कसैले हिम्मत गर्दैन । त्यसैले त देशकै सर्वोच्च पद धारण गरेकाहरु पनि कुनै भारतीय जोगी आउँदा लम्पसार पर्ने गरेको दृश्य हामीले देख्दै आएका छौँ । ‘हाम्रो देशमा मात्र किन, विकासमा पाइला चालिरहेको भारतमा नै हजारौँ नांगा बाबाहरु छन्,जो हिन्दु धर्मका आराध्य हरू हुन’ भन्ने दलील आउला । तर म भारतीय नांगाहरुको चरित्र देखेर र भोगेर आएको भुक्तभोगी भएको कारण यो लेख्दैछु ।

केही वर्ष अघि बुवासँग एक महिने तीर्थ यात्राको क्रममा म भारतको कलकत्तामा थिएँ । माघे सक्रांतिमा गंगसागरमा लाग्ने मेलाको बारेमा त तपाईँले सुन्नुभएकै होला । त्याहाँ एउटा अनौठो दृश्य देखियो । एक भारतीय महिला नांगाको लिङ्ग दूधले धूँदै थिइन । मलाई उक्त दृश्यले आकर्षित गर्‍यो । म रोकिएँ । म सँगै एक जना क्यामेरा बोकेको भारतीय युवक पनि थियो । महिला नांगा सँगको संवादमा भनिरहेकी थिइन,’मेरो जेठो छोरोलाई नै लैजानुस,कान्छो छोरो धेरै सानो छ’ । तर नांगाले ज़िद्दी गरिरहेको थियो । ‘कान्छो नै चाहिन्छ,जेठो धेरै ठुलो भयो अब यसलाई साधु बनाउन सकिन्न’ भनिरहेको थियो । महिलाका दुवै छोरा चुपचाप आमा र नांगाको कुरा सुनिरहेक़ा थिए । यत्तिकैमा नांगा गर्जियो । म सँगैको युवकले उसको दृश्य खिचिरहेको रहेछ । क्यामेरा फुटाइदिने धम्की सँगै यति बेसर्मी पाराले युवकलाई आफ्नो लिङ्ग देखाइदियो कि, त्यो सब हेरिरहेक़ा म लगायत अरू मान्छे लाजले शिर निहुर्याउँदै त्याहाँबाट बाटो लाग्यौं । त्यसपछि त्याहाँ के भयो थाहा भएन ।

मेरो कौतुहलता मेटिएको थिएन । फोटो खिच्ने भारतीय युवकसंग महिला र साधु बिचको संवादको बारेमा जान्ने उत्सुकता जाग्यो । स्थानीय संचारकर्मी उक्त युवकबाट सुनेका कुराले म तीन छक खाएँ । भारतमा साधु बनाउने भनेर आफ्ना सन्तान सानैमा बेचिने कुरा उसको मुखबाट सुने पछि पत्याउन मुस्किल पर्‍यो । गरिबी र अभावमा पिल्सिएकाले आफूले पाल्न धौ हुने कारण साधु बनाउन सन्तान हवाला गर्ने कुरा गर्दै थियो ऊ । अझै मन मुटु नै हल्लाउने कुरा त ऊ भन्दै थियो, ती साना बालकहरुको यौन शोषण नै हुने गर्छ रे ! उसको दलील थियो,ठुलो छोरो नलगेर सानो छोरो साधुले माग्नुको कारण पनि त्यही थियो रे । अंजान ठाउँमा अंजान मान्छेबाट सुनेको उक्त कुरालाई कति सत्य मान्ने, म अझै पनि अन्योलमा छु । तर मेरो मनबाट उक्त दृश्य अझै हराएको छैन ।

पशुपतिमा आउने सबैजसो नाङ्गाहरु भारतीय नै हुन । उनीहरू आजीवन नांगै बसे,ब्रम्हचार्यमा गए वा यौन कार्यमा लिप्त भए भन्ने कुरामा पनि मेरो चासो होइन । तर जब उनीहरू शिवरात्री पारेर आउँछन, एकाएक हाम्रो देशमा तरङ्ग फैलिन्छ,त्यसमा चाहिँ मेरो चासो हो । धर्म प्रतिको आस्था र आशक्तिले हामीलाई धर्मका कुरामा बहस गर्न अलि संकोच लाग्छ,तर यो चलन भित्र अदृश्य रूपमा स्विकारिएको दासताको भंडाफ़ोर नगर्ने हो भने भोलि धेरै ढिलो हुनेछ । यो प्रवृत्ति भित्र दुई प्रकारका दासतालाई स्विकारिएको छ । एक हिन्दु धर्मको डरमा भारतको दासता अनि महादेवको डरमा लिङ्गको दासता । भारतको दासता स्वयम् देश हाँक्नेहरुले नै स्विकारेकोले हामी त्यसमा जति बोले पनि केही फरक पर्ने वाला छैन । तर लिङ्गको दासताको बारेमा चाहिँ हामी बोल्न सक्छौँ । बोले पछि फरक पनि पर्छ । फरक परे पछि समाज बदलिन्छ पनि । धर्मग्रन्थमा जे लेखियो,हाम्रा अग्रज हरुले जे सिकाए त्यो सब शत प्रतिशत सही भनेर हिँड्ने हो भने हामी अझै कैयौँ वर्ष महादेव जस्तो पति पाउने ब्रत र पूजाआजामै सड़ने निश्चित छ । म विशेष जोड़ दिएर महिला दिदी-बहिनीहरूलाई भन्न चाहन्छु, तपाईँहरूलाई सिकाइएको सोमबारे ब्रत र लिङ्ग पूजन भित्र शिवको सच्चा आराधना छैन,केवल पुरुषको लिङ्ग सर्वेसर्वा हो भन्ने दासत्व लादिएको छ । मानिलिनोस,तपाईँ महिला नांगी माता बनेर हिंड़नूभयो भने के भन्छ यो समाजले ? आज तपाईँहरू भिडभाड़को रमाइलोमा नांगाहरु सँग सेल्फ़ी खिच्न तँछाड मछाड गर्दै गर्दा महिला सशक्तिकरणको लागि लगाइएका नाराहरू प्रति अट्टहास र उपहास गर्छन् कि गर्दैनन लिंगधारीहरु ? ती भारतबाट आएका जोगी पो देख्दा नांगा हुन,नियतले नांगा त कति छन् कति समाजमा ! उनीहरूलाई त के छ र,एक नाङ्गोले अर्को नाङ्गो सँग सेल्फ़ी खिच्यो,रमाइलो गर्‍यो, सक़ियो । भोलि बिहानै देखि भाइरल त तपाईँका तस्बिर हुन्छन्,बदनाम त तपाईँलाई गर्न लागि पर्छन मान्छेहरू । यसमा केही अति आधुनिकको यस्तो तर्क पनि आउला,’कूल ड्यूड,के टाउको दुखाइराको यस्तो सिम्पल कुरामा ? जस्ट चिल ब्रो’!

‘जस्ट चिल’ हुनको लागि दृश्य र व्यवहार पाच्य हुनुपर्छ । नियम र नियतको सङ्गत मिल्नुपर्छ । विकसित देशहरूमा विशेष गरी पश्चिमा देशहरूमा नग्नता सामान्य भइसक्यो । नग्नता बारे थुप्रै बहस छेडिएका छन् । नग्नतालाई प्रकृति सँग जोड़दै विभिन्न अभ्यासहरू गरिएका छन् । त्यस्ता मुलुकहरूमा ख़ास विषयमा ख़ास स्थानको नग्नतालाई सामान्य रूपमा लिइन्छ । त्याहाँ वयस्क फ़िल्मलाई छेकथुन छैन,देह व्यापारलाई रोकटोक छैन,लिभिंग टुगेदर सामान्य छ । अझ त्याहाँ त नांगा ओलम्पिक आयोजना हुन्छन्,नांगा योगाभ्यास हुन्छन्,नाङ्गो कम्यूनिटी नै बनाएर प्रकृतिक र कस्मेटिक दुवै अभ्यास गरिन्छन । तर सबको दायरा छ,परिधि छ,उमेर र स्थानको किटान छ । ‘एडल्ट कंटेंट’ र ‘यूनिभर्सल कंटेंट’ को बारेमा फरक सिकाइएको छ । कानुन त्यही किसिमले बलियो बनाइएको छ । त्यसैले त त्याहाँ जिब्रो नटोकी नग्नतालाई स्विकारिएको छ र पचाइएको छ । हाम्रो लागि ती संस्कृति छाडा लाग्छ्न तर सब भन्दा मुख्य कुरा त्याहाँ लिङ्गको दासता सिकाइएको छैन ।

हाम्रो देश यस्तो देश हो जहाँ वर्षौं देखि लिङ्ग पूजिंदै आएको छ तर महिनावारीका कुरा,प्रजननका कुरा अनि यौन शिक्षाका कुरा गर्‍यो भने जिब्रो टोकिन्छ । कुनामा बसेर लोलिता र निलो चोली त पढिन्छ तर टी भी मा कण्डमको विज्ञापन आयो भने टी भी बन्द गरिन्छ । छोरी-बहिनीलाई ‘तिघ्रा देखिने लुगा नलगा’ भनिन्छ तर भारत बाट आएका नांगा पुरुषहरुको लिङ्गमा ढोगिन्छ,उनीहरू सँग सेल्फ़ी खिचेर सार्वजनिक गरिन्छ । नग्नतालाई हेर्ने हाम्रो दृष्टिकोण दोहोरो चरित्रको भयो भन्ने हो,नग्नताको हाम्रो मापदन्ड दोहोरो प्रकृतिको भयो भन्ने हो । यो सब हामीलाई धर्मको नाममा हाम्रो मनमा उत्पन्न गराइएको डरले बनाएको हो, धर्मको आडमा कुनै एक ख़ास लिङ्ग-समूहले प्रकृति र प्रणालीमा बरोबरीको हिस्सा भएको अर्को लिङ्ग-समूह माथि थोपरेको दासताले बनाएको हो ।

‘एम. एम. एस.’ लीक हुँदा चेलीले आत्महत्या गर्ने उही समाजमा किन एक पुरुष त्यही एम. एम. एस. को भरमा ब्ल्याकमेल गर्न डर मान्दैन ? चेलीले एकल जीवन बिताउन बाध्य हुने समाजमा किन श्रीमती मरेको १३ दिन नबित्दै अर्की श्रीमती ल्याउन पुरुषलाई छुट हुन्छ ? किन कसैले लाहुरेकी श्रीमतीको चरित्रमा फ़िल्म बनाएर करोडौं कमाउँछ तर लाहुरेले लिएर आउने एड्सको कथामा लगानी गर्न किन डराउँछ ? गहिरिएर सोंच्नु भयो भने जवाफ तपाईँकै अन्तर्य बाट आउँछ । यो सब सदीयौं देखि तपाईँले गर्दै आउनु भएको लिङ्ग पूजन र लिङ्ग ढोगनको परिणाम हो । तपाईँले स्विकार्दै आउनु भएको पुरुष-दासताको परिणाम हो । धर्म वा भगवान् प्रतिको तपाईँको आस्थामा प्रश्न गर्ने हैसियत म राख्दिन तर जे जस्ता चलनलाई धार्मिक क्रियाकलाप हुन भनेर सिकाइएको छ, ती चलनमा तपाईँले थाहै नपाउने गरी पुरुष दासत्व थोपरिएको छ भन्ने कुरामा सजग गराउन मैले कलम चलाएको हुँ । पहिले तपाईँ ढुङ्गा वा धातुको लिङ्ग ढोग्नुहुन्थ्यो, अचेल भारतीय नांगाहरूको लिङ्ग ढोग्न तँछाड मछाड गर्दै हुनुहुन्छ । आस्था हो भन्ने जान्दा जान्दै पनि कहिलेकाहीँ यो लहैलहै मात्र साबित भइदिन्छ । त्यसैले धर्मको नामका यी लहैलहैमा लागेर कतै नांगाहरु सँग सेल्फ़ी खिच्ने र नांगाहरुको लिङ्ग ढोग्ने भिडमा मिसिंदै हुनुहुन्छ भने सजग हुनुहोस, तपाईँले दासतालाई निरंतरता दिँदै हुनुहुन्छ ।