अवसरवादी श्रेष्ठ- चुनाव भनेपछि तर्सिन्छन, लडेपनि जित्दैनन्, तर ठूलै भाग कसरी पाउँछन् ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अवसरवादी श्रेष्ठ- चुनाव भनेपछि तर्सिन्छन, लडेपनि जित्दैनन्, तर ठूलै भाग कसरी पाउँछन् ?



नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई यसपटकको निर्वाचन भारी पर्ने देखिएको छ । अघिल्लो चुनावमा पनि गोरखाबाट हारेका उनी यसपटक गोरखाबाट चुनाव नलड्ने मनसायमा पुगेका छन् । केहि समय अगाडी उनी सर्लाही-३ बाट निर्वाचन लड्ने चर्चा समेत चलेको थियो ।

सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नम्बर २ मा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले हँसिया हथौडाबाट चुनाव लड्ने तयारी गरेका छन् । यस क्षत्रेको लागि बाबुराम बलियो उम्मेदवार हुन् । सोही क्षेत्रबाट दाबी गर्दै आएका माओवादी केन्द्रका नेता नारायणकाजीले पछिल्लो समय गोरखा छोड्ने मनसायमा पुगेका छन् ।

राष्ट्रियसभा सदस्य समेत रहेका नारायणकाजी माओवादीमा सबैभन्दा धेरै अवसर पाउने नेता हुन् । जनयुद्धभन्दा बाहिरबाट आएपनि उनले पार्टीमा कब्जा जमाउने गरेको बताइन्छ । त्यसमाथि उनले गलत व्यक्तिहरूलाई संरक्षण गरेका कारण पटकपटक विवादमा आउने गरेका छन् ।

सकेसम्म समानुपातिकमा बस्न खोजेका नारायणकाजी अहिले भने गोरखाबाट चुनाव नजित्ने भएकाले चुनाव नै नलड्ने निष्कर्षमा पुगेका छन् । त्यसमाथि आगामी चुनावमा भट्टराई माओवादीकै हँसिया हथौडा चुनाव चिन्ह लिएर गोरखा–२ बाटै टिकट पाउने पक्कापक्की भएको छ ।

२०७४ सालको चुनावमा नारायणकाजी एमाले–माओवादीसहितको वाम गठबन्धनबाट लडेका थिए । उनीसङ्ग प्रतिस्पर्धामा थिए भट्टराई । भट्टराईलाई कांग्रेसले समर्थन गरेको थियो । त्यतिबेला भट्टराईले ३१ हजार ८०७ मतका साथ विजयी भएका थिए भने श्रेष्ठ २४ हजार ९३३ मतका साथ पराजित भएका थिए ।

बाम गठबन्धनको साथ् हुँदा पनि ६ हजार ८७४ मतान्तरले श्रेष्ठले हारेका थिए । राष्ट्रिय सभा सदस्य रहेका नारायणकाजी पछिल्लो समय निर्वाचन लड्ने कुरा गरेपछि तर्सिने गरेको नेताहरू बताउँछन् । नेतृत्वमा प्रचण्डले लगातार पत्याएपनि पार्टीको तल्लो तहले उनलाई पत्याउँदैनन् । माओवादीका एक नेताका अनुसार उनले पार्टीमा राजनीति भन्दा बढी खुराफाती गर्ने गरेको बताउँछन् ।

उसो त नारायणकाजीले चर्चामा आउन अनेक बाचा गर्ने र बाचा तोड्ने गरेका रेकर्ड पनि उत्तिकै छन् । उनले अघिल्लो चुनावमा पराजित भएलगत्तै ५ वर्ष संसद नछिर्ने बाचा गरेका थिए । २ वर्ष नपुग्दै उनले बाचा तोडे, त्यसपछि उनी राष्ट्रिय सभाबाट संसद छिरेका थिए । उनी २०७६ साल माघ ९ गते भएको राष्ट्रिय सभा चुनावमा निर्वाचित भएका थिए ।

उसो त प्रतिनिधिसभामा नारायणकाजीले अहिलेसम्म कुनै निर्वाचन जितेको रेकर्ड छैन । २०६४ सालमा भएको पहिलो संविधानसभा चुनावपछि श्रेष्ठ मनोनित सभासद थिए। त्यसबेला मन्त्रिपरिषदबाट मनोनित २६ जनामा श्रेष्ठ परेपछि संसद भवनको यात्रा सुरू भएको थियो।

यसपटक पनि उनी चुनाव भनेपछि तर्सिन थालेको माओवादी वृत्तमा चर्चा छ । निर्वाचन लड्न डराउने, लडेपनि कहिलै नजित्ने उनले पार्टीमा भने चुनाव जितेर आएका र जनयुद्धबाट आएका नेताले भन्दा बढी अवसर पाउने गरेका छन् ।

अवसरका लागि चाप्लुसी गर्नेदेखि घुर्काउनेसम्मका गुण भने उनीसँग निकै रहेको उनलाई नरुचाउने नेताहरू बताउँछन् ।