यी हुन् रामग्रामका मेयरले पाँच वर्षमा गरेका १२ नमूना काम - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

यी हुन् रामग्रामका मेयरले पाँच वर्षमा गरेका १२ नमूना काम



नरेन्द्र कुमार गुप्ता- मेयर, रामग्राम नगरपालिका

रामग्राम नगरपालिकामा हामी निर्वाचित भएर आएपछि मुख्य त पूर्वाधार विकासलाई अत्यन्तै जोड दिएर काम गर्यौँ । किनकि पूर्वाधारको क्षेत्रमा यो नगरपालिका अत्यन्तै कमजोर थियो ।  सडक पूर्वाधार र अन्य भौतिक पूर्वाधारमा निकै कमजोर थियो । त्यसकारण यो सदरमुकामलाई सदरमुकाम जसो बनाउनु पहिलो चुनौतीको विषय थियो ।

मुख्य बजार क्षेत्रमा हामीले ‘वनवे’सहितको सडकहरू निर्माण गर्यों, त्यसमा ग्रिनरी पनि थप्यौँ, त्यस सँगसँगै पाँचवटा गाउँलाई नमूना गाउँको रूपमा विकास गरेका छौँ । जसमा सडक, ढल, विद्युत र ग्रिनरी समेत राखेर ति गाउँहरूलाई नमूना बनाएका छौं । त्यस्तै प्रत्यक वडाबाट सदरमुकाम जोड्नेगरी सडक निर्माण गरेका छौँ । कालोपत्रे सडक सञ्जाल निर्माण गरेर सबै वडालाई लिंक गरेका छौँ ।

पूर्वाधारको क्षेत्रमा सहरी क्षेत्रमा तीन वटा पुल निर्माण गरेका छौँ । सडक पूर्वाधारको क्षेत्रमा ५८ किलोमिटर नयाँ सडक बनाएका छौँ । सडक सञ्जालमा हामीले ५८ किलोमिटर बाटो पिच गरेका छौँ ।

शिक्षा क्षेत्रमा भएका प्रगती के छन् ?

शिक्षामा पनि हामीले केही नमूना काम गर्ने प्रयत्न गरेका छौँ । जस अन्तर्गत हामीसँग भएका ३३ वटा सामुदायिक विद्यालयहरूको पूर्वाधारमा सुधार गरेका छौँ । सबै विद्यालयहरूमा एकै रङ्गको रङ्गरोगन गरेका छौँ । यसको साथै हामीले शिक्षाको क्षेत्रमा केही नयाँ कदम चालेका छौँ ।

हामीले नमूना विद्यालयको रूपमा सदरमुकामको एउटा विद्यालयलाई अगाडि बढाएका छौँ । जसलाई आधुनिक कक्षाकोठा पनि आधुनिक बनाउने कोसिस गरेका छौँ ।

१० कक्षा सम्म निशुल्क शिक्षा

सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूलाई कुनै शुल्क लाग्दैन । खासगरी १० कक्षासम्मका सम्पूर्ण विद्यार्थीहरूले कुनै शुल्क तिर्नु पर्दैन । विद्यार्थीका लागि लाग्ने सबै खर्च नगरपालिकाले बेहोर्नेगरी ब्यवस्था गरेका छौँ । जसअन्तर्गत प्रशासनिक शुल्क, परीक्षा शुल्क लगायतका सबै शुल्क तिर्नुपर्दैन ।

राजनीति रहित विद्यालय

खासमा अहिले सबै स्थानका विद्यालयहरू राजनीतिले थला परेको अवस्था छ । त्यसैलाई मध्यनजर गरेर हामीले विद्यालयलाई राजनीति फ्री बनाएका छौँ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि पनि कुनै निर्वाचन वा राजनीति गर्न नपाउने व्यबस्था गरेका छौँ । यसमा हामीले कानुन नै बनाएर अभ्यास गरेका छौँ ।

चुनावका लागि ठुलो रस्साकस्सीले भएकाले र विद्यालय राजनीति भन्दा बाहिर हुनुपर्छ भन्ने मान्यताका आधारमा यहाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नगरपालिकाले नै चयन गर्ने व्यवस्था गरेका छौँ । त्यसका लागि पनि निश्चित मापदण्ड र शैक्षिक योग्यता हुनुपर्ने हुन्छ । जसका लागि नगर शिक्षा समितिले केही ‘सर्टलिस्ट’ गर्ने गर्छ । त्यसका लागि स्कुल र वडाबाट सिफारिस भएका व्यक्तिहरूमध्येबाट छनौट गर्ने प्रावधान छ । यो हामीले गरेको एउटा ‘युनिक’ काम हो । देशभरका लागि यो प्रेरणा बन्न सक्छ ।

‘जेष्ठ नागरिकसँग मेयर कार्यक्रम’, “होम सर्भिस”

स्वास्थ्य क्षेत्रमा हामीले एकदमै ‘युनिक’ काम गरेका छौँ । जसमा ६५ वर्षमाथिका आमा बुवाहरूलाई घरमै स्वास्थ्य सेवा ‘होम सर्भिस’ दिएका छौँ । हाम्रा स्वास्थ्यकर्मीहरू उहाँहरूको घरमै गएर स्वास्थ्यजाँच, ल्याव टेस्ट र औषधि समेत घरमै उपलब्द गराएका छौँ । ३८ वटा बाहेक हामीले सुगर र प्रेसरका बिरामीलाई पनि निशुल्क औषधि दिएका छौँ ।

सबै वार्डमा स्वास्थ्य केन्द्र खोलेर सेवा प्रवाह गरेका छौँ ।  त्यस्तै गर्भवती महिलाका लागि हामीले निशुल्क एम्बुलेन्स चलाएका छौँ । सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउन प्रोत्साहन गर्नका लागि हामीले निशुल्क एम्बुलेन्सको व्यवस्था गरेका हौँ ।

त्यस्तै हामीले सुत्केरी महिला र बच्चाका लागि पोषण किट दिने व्यवस्था गरेका छौँ ।

मानव विकाश र बालबालिकाको लागि छुटै योजना

रामग्राम नगरपालिकामा भ्रुणहत्या कम गर्न, बालबिबाह रोक्न, र शिक्षादीक्षाको लागि छोरी जन्मिनेबित्तिकै बैंकमा खाता खोलिदिएर उसको नाममा पैसा फिक्स डिपोजिट गरिदिने व्यवस्था गरेका छौँ । खाता खोलेर हामीले २५ हजार रकम १८ वर्षको लागि फिक्स डिपोजिट हुन्छ । १८ वर्षपछि निकाल्दा त्यो ठुलो रकम बन्छ । उच्चशिक्षा अध्ययनका लागि पनि यो लाभदायक हुनेगर्छ ।

कृषि र खानेपानीको क्षेत्रमा

कृषि क्षेत्रमा पनि ठुलो परिवर्तन भएको छ । प्लान गरेअनुसार काम गर्न नसकेपनि यहाँका किसानहरूलाई आवस्यक पर्ने उपकरणहरू हस्तान्तरण गरेका छौँ । धान गहुँको लागि आवस्यक पर्ने उपकरण, माछाको लागि आवस्यक सामाग्रीहरू, तरकारी बालीको लागि आवस्यक पर्ने सामाग्रीहरू पनि हामीले वितरण गर्ने गरेका छौँ । यसका अलावा विभिन्न कार्यक्रमहरू गरेका छौँ, त्यस्तै जिल्ला सहकारी संघसँग मिलेर कोल्ड स्टोर निर्माण गरेका छौँ । त्यसमा किसानका उत्पादनहरू स्टोर गर्न सजिलो भएको छ ।

खानेपानीको क्षेत्रमा पनि हामीले सबै वार्डमा ओभरहेड ट्यांकहरू निर्माण गरेका छौँ । यो कार्य अन्तिम चरणमा पुगेको छ । कोरोना नभएको भए उहिले नै यो काम सकिने थियो । कोभिडले गर्दा सबै प्रोजेक्टहरू डिले भएको अवस्था छ । ट्यांकी बनाउने मिस्त्री पनि बाहिरबाट आउने भएकाले सबै काम प्रभावित गर्नुपरेको थियो । त्यतिखेर रोकिएको काम अहिले अन्तिम अवस्थामा पुगेको छ । अब छिट्टै सबै घरमा पानीको सप्लाई हुन्छ । यो त नैसर्गिक अधिकार पनि हो नि ।

नमूना सहर, नमूना गाउँ

खासमा परासी बजार, बजार जस्तै थिएन । यो बत्तर ठाउँ थियो अहिले परासी बजार सेल्फी खिच्ने ठाउँ भएको छ । पाँच वर्षमा भएको चेन्ज देखेर हामी आफै उत्साहित बनेका छौँ । परासी बजारलाई सहरी क्षेत्रको रूपमा हामीले गरेको परिचय त्यसमा आमूल परिवर्तन मान्न सकिन्छ । पहिले परासीमा पाँच मिटरको बाटो थियो । अहिले ११-११ मिटरको वनवे बनेको छ. सर्भिस लेन छ, ग्रीनरी छ, लाइट छ त्यस्तै । राम्रो त कति भयो कति कुरै छाडौँ न । त्यसमाथि परासी क्षेत्रमा बसपार्क थिएन । हामीले सहरी विकास मन्त्रालयसँग सहयोग लिएर बसपार्क निर्माण गर्न लागेका छौँ । त्यो संचालन हुनै लागेको छ । २५ करोड बजेटमा यो बन्दै छ ।

त्यस्तै हामीले एउटा पहिचानको लागि घण्टाघर निर्माण गरेका छौँ ।

खेलकुदको क्षेत्रमा

कोरोना महामारीको कारणले खेल क्षेत्रमा सोचेजस्तो गर्न नसकीपनि हामीले क्रिकेट स्टेडियम निर्माण गरेका छौँ ।  फिल्ड नापेर नै हामीले त्यसलाई बनाएका छौँ । करिब साढे दस करोडको बजेटमा यो बनेको छ । हामीले प्रदेशकै नमूनाको रूपमा निर्माण गरेका छौँ ।

हरेक विद्यालयमा खेलकुदका सामाग्रीहरू हस्तान्तरण गरेका छौँ । त्यस्तै हामीले मेयर कप खेलकुद चलाएका छौँ । अन्य खेलकुदका कार्यक्रम पनि चलिरहेका छन् । जस्तै अन्तरविद्यालय रनिङ शिल्ड इत्यादी ।

फ्री वाईफाई जोन

जति नमूना काम गर्ने भनिएका थिए सबै पुरा हुन नसके पनि केही नमूना काम भने हामीले गर्ने प्रयास गरेका छौँ । यसै शिलशिलामा बजार क्षेत्रका दुई स्थानमा फ्री वईफई जोन बनाएका छौँ ।

कोरोनासँगको नौलो जुधाई “केहि नमूना प्रयास”

सबैभन्दा पहिला त एम्बुलेन्सहरूले संक्रमित बोक्न नमानेपछि म आफै चढ्ने गाडीलाई एकै रातमा एम्बुलेन्समा रूपान्तरण गरेर बिरामी बोक्न लगाइयो । महामारीको समयमा नगरबासीलाई सबैभन्दा बढी भरोशा हाम्रै हुने रहेछ । उनीहरूको त्यो भरोशालाई हामीले मर्न दिएनौं ।

डाइलासिस गर्नुपर्ने र दिर्घरोगीहरूलाई पनि सम्बन्धित स्थानमा पुराएर उपचार गराएर ल्याउने काम भयो ।

नगरबासीलाई बाहिर निस्कन नदिएर आफू बाहिर खट्नै पर्ने अवस्था थियो । जनप्रतिनिधिबाट जनाअपेक्षा कति धेरै हुने रहेछ भन्ने त्यतिबेलै मैले बुझ्ने मौका पाएँ । संक्रमित सबैका घर-घरमा पुगेर, क्वारेन्टाइनहरूमा पुगेर हौसला बढाउने काम गरियो । मेयर आएर उभिदिएमात्रै पनि हुन्थ्यो भन्ने जनाअपेक्षा थियो ।

सबै संक्रमितलाई प्रत्यक्ष भेटेर मैले मेरै हातले स्वास्थ्य किट बाँडेको थिए । सबै संक्रमितलाई मेयर आइदिए त मलाई सन्चो हुन्थ्यो भन्ने लाग्दो रहेछ त्यसैले पनि सबैसँग पुगियो ।

रोजगारीको नयाँ मोडल

यो दुनियाकै विकराल समस्या हो, ठुला ठुला मुलुकहरूमा पनि यो सबैभन्दा ठुलो समास्य हो । यस्तो बिकराल समस्या छुमन्तर गरेर हट्ने पनि होइन । तरपनि निकै राम्रा प्रयास हामीले गरेका छौँ ।

रामग्राम क्षेत्रमा रोजगारीको क्षेत्रमा धेरै प्रयास गरेका छौँ । हामीले ‘इन्डस्ट्रियल स्टेट’ अनाएका छौँ । त्यसमा धेरै स्थानीयहरूले रोजगारीको मौका पाउनु भएको छ । यसमा स्थानीयहरूलाई बढी प्रार्थमिकता दिनुपर्छ । ‘इन्डस्ट्रियल स्टेट’सँग जोडिएर धेरै ब्यापार हरू फस्टाएका छन्, जसले स्वरोजगारी पनि बढाएको छ । पाँच लाख भित्रका व्यवसाय हामीले नगरपालिकामै रजिस्टर्ड गर्ने व्यबस्था मिलाएका छौँ ।

युवाहरूलाई उद्यमशिल बनाउने अभियान चलाएका छौँ । त्यसका लागि नगरपालिकाले सिप र प्रशिक्षण दिइरहेका छौँ । यसले पनि धरै रोजगारी सिर्जना गरेको छ ।

रोगजारी र स्वरोजगारीमा यहाँ राम्रै प्रगति भएको छ भन्ने लाग्छ । एक त उद्योग कल-कारखानामा काम गर्नेहरूले यहिं किनमेल गर्ने भएकाले पनि सबैको ब्यबसाय फस्टाएको छ ।

फेरि मेयरमै उठ्ने चाहना, जित सुनिश्चित

फेरि एकपटक मेयर नै बनेर नगरबासीहरूको सेवा गर्ने मूडमा छु । पार्टीले पनि विश्वास गरेर मलाई नै जिम्मेवारी दिन्छ भन्नेमा मा बिश्वस्त छु । यहाँ मैले जित्ने पनि निश्चित नै छ ।

आजसम्म मैने आफ्नो जिम्मेवारी अत्यन्त कुशलता पूर्वक निभाएको छु । कुनैपनि निकायको उजुरी परेको छैन । कुनैपनि अनियमिततामा मुछिएको छैन । त्यसैले पनि मलाई पार्टीले बिश्वास गर्छ ।

अर्कोतर्फ नगरबासीले पनि मलाई जिताउँछन् । यसमा म झनै बिश्वस्त छु ।

अबका योजना

सबैभन्दा पहिले त यहाँ फोहर व्यवस्थापन र त्यसबाट बायो ग्यास निकाल्ने योजना छ । त्यसका लागि जग्गा पनि फाइनल भएको छ । फोहरलाई मोहरमा परिवर्तन गर्ने योजना छ । त्यस्तै नगरबासीको सुविधाका लागि नगरमा इलेक्ट्रिक नगर बस चलाउने योजना छ । बसपार्क पनि मास्टर प्लान अनुसार सम्पन्न गर्नुछ । यो सँगैहामीले १० मेगावाटको सोलार इनर्जी निकाल्ने योजना छ । यसले नगरबासीलाई सहुलियतमा विद्युत दिन सकिने छ ।

करदाताहरूलाई अत्यधिक सहुलियत दिने मेरो योजना छ । यी सबै बिषयको निर्णय प्रक्रिया टुंगिएको छ । आउने कार्यकालमा कार्यान्वयन गर्ने हो ।  

(मेयर नरेन्द्र कुमार गुप्तासँग गरिएको कुराकानीमा आधारित)