नारीप्रधान वैदिककाल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नारीप्रधान वैदिककाल



-प्रतिक पाण्डे 

मानव सभ्यताको उषाकाललाई हेर्दा मानिसको व्यवहार, चालचलन, जीवनशैली धर्मको सापेक्षतामा अगाडी बढेको पाइन्छ । जसको स्वरुप समाजमा आजसम्म पनि छ । धर्म एक किसिमको नियमावली हो । मानिसको जीवनशैलीलाई व्यवस्थित गर्ने, समाजमा शान्ति कायम गराउने र सामाजिक संरचनालाई व्यवस्थित रुपले अगाडि बढाउने एउटा अमूर्त स्वरुप हो । धार्मिक ग्रन्थहरु यस्तै नियमका दस्तावेज हुन् । यीनै दस्तावेजबाट देशको समग्र कानुनी प्रणाली पनि प्रभावित हुन्छ र हाम्रा चालचलन, व्यवहार, गतिविधि पनि यसैबाट निर्धारित हुन्छन् ।

हाम्रो समाज विशेषगरी दुई लिंगिय संरचनामा अगाडि बढेको छ । प्राय सबै धर्ममा लैंगिकतासम्बन्धी व्यवस्था रहेको भएपनि हिन्दु धर्म सम्प्रदायले विशेष गरी जातिय व्यवस्था, लैंगिक व्यवस्थालाई प्राथमिकता दिन्छ ।

महिला तथा पुरुषको शारीरिक संरचनाअनुसार सामाजिक, धार्मिक भूमिका निर्धारण गरिएका छन्, जुन एकअर्कामा अलग र विभेदसहितका पनि छन् । समाजको चेतनाको स्तर र विद्यमान धार्मिक, सामाजिक, साँस्कृतिक सोचले महिला र पुरुषलाई अलग–अलग श्रेणीमा राखेको छ ।

धार्मिक संरचनाहरुले लैंगिक विभेदलाई स्थापित गरिदिएको, पुरुषको स्थानलाई उच्च बनाएको, महिलालाई पुरुषप्रति अनुग्रहित बनाएको देखिन्छ । लैंगिक विभेदको मुख्य जरो धर्म र यसले स्थापित गरेका सामाजिक प्रणालीलाई लिइन्छ । तर कुनैपनि धर्मले महिलालाई हेला, बञ्चना वा उपेक्षाको दृष्टिले हेरेको पाइँदैन् । धर्म जहिले पनि समानताको घोतक रहँदै आएको छ । विभिन्न धार्मिक सम्प्रदायमा महिलाको स्थान उच्च रहेको छ ।
धर्म महिलाप्रति कहिले पनि अनुदार नभएको स्वयं धार्मिक वचनहरुले प्रमाणित गरेका छन् । तर धर्मका कथित व्याख्याकारहरुले आफ्नो प्रभुत्व कायम गर्न धर्मलाई प्रदुषित बनाउँदै गए ।

मानवसभ्यता विकासको प्रारम्भिक अवस्था मानिएको वैदिककालिन समाजमा महिलाको अवस्था निकै उच्च पाइन्छ । तर कालान्तरमा आएर महिलामाथिको दमन बढ्दै गएपछि धर्मशास्त्रमा भएका कथाहरुमा पुरुषलाई मात्रै प्राथमिकतामा राखियो र महिलाको भूमिका, क्षमतालाई पछाडि पारियो ।

धार्मिक कथाहरुमा पुरुषको पराक्रमका कथाहरु मात्रै पढाउन थालियो । तर नारीका कथा छायाँमा परे । धर्मका कथित व्याख्याकारहरुले समाजमा आफ्नो प्रभुत्व कायम गर्न, सामाजिक संरचनालाई आफू अनुकुल बनाउन सुरु गरे । धर्मको आडमा पुरुषप्रधान समाजको स्थापना गरे ।

धर्म कहिले पनि महिलाप्रति अनुदार नभएको स्वयं धार्मिक वचनहरुले प्रमाणित गरेका छन् । वैदिक समाजव्यवस्थामा महिलाको शिक्षा र स्वतन्त्रतालाई बढी जोड दिएको पाइन्छ र पुरुषभन्दा महिलालाई शक्तिशाली मानिएको छ ।

वेदका वचनहरुमा महिला स्वतन्त्रता र शसक्तिकरणको खुलेर व्याख्या गरिएको छ । यर्जुवेदमा महिलाले स्वतन्त्र रुपमा आफ्नो लागि योग्य वर आफैं चयन गर्न पाउने भनेर पनि उल्लेख गरिएको छ ।

वेदकालिन समयमा महिलाहरु निकै स्वतन्त्र थिए र पुरुषभन्दा महिला शक्तिको प्रभाव बढी थियो भन्ने कुरामा सबै धार्मिक अभियन्ताहरु सहमत देखिन्छन् ।

वैदिककालमा छोरीको विवाहभन्दा शिक्षालाई बढी प्राथमिकता दिइन्थ्यो । महिलाहरु वेदका प्रकाण्ड विद्धान पनि थिए । जस्तो आत्रेयीले दक्षिण भारतमा गई वेद र भारतीय दर्शन पनि पढेकी थिइन् भने उभय भारती प्रकाण्ड वेदकी विद्धान थिइन् ।

आठौं शताब्दीका अद्वैत् वेदान्तका प्रणेता मानिने शंकराचार्यको कर्मकाण्डका विद्वान मण्डन मिश्रसँग शास्त्रार्थ हुँदा शंकराचार्यले मण्डन मिश्रकै पत्नी उभय भारतीलाई निर्णायक बनाएका थिए ।

वेदकालमा महिलाहरु कि सिद्धवधु हुन्थे जो विवाह गरी घरजमगर्दथे वा ब्राह्मणवधिनी हुन्थे जो धार्मिक हुन्थे ।

महिलाहरुले पनि वेद पढ्नुपर्छ भन्ने मान्यता थियो । वैदिक समयमा मन्त्रद्रष्टा ऋषिहरु भएजस्तै मन्त्रद्रष्टा ऋषिकाहरु पनि थिए । वेदका प्रमुख ऋषिकाहरुमध्य ऋग्वेदका धेरै सूक्तहरु शचीद्धारा देखिएका छन् ।

गार्गी बृहदारण्यकोपनिषदका कतिपय मन्त्र गार्गीले देखेका छन् । गार्गी मिथिला क्षेत्रकी विदुषी हुन् । वैदिक कालमा शास्त्रार्थ गर्ने महान विदुषी थिइन् गाग्री । याज्ञवल्क्य ऋषिसँग यिनको शास्त्रार्थ हुन्थ्यो । गार्गिले राजा जनकको सभामा आयोजित ब्रह्मसभामा शास्त्रार्थमा भाग लिई सबैलाई पराजित गर्थिन् ।

यस्तै अन्य ऋषिकाहरुले पनि वेदको निर्माणमा योगदान पुर्याएका छन् । ऋग्वेदको दशौं मण्डलको दशौं सूक्त ममताद्धारा, ऋग्वेदको पाँचौ मण्डलका कतिपय सूक्तहरु विश्ववाराद्धारा देखिएका छन् । यस्तै ऋग्वेदको ८ औं मण्डलका मन्त्रहरु ऋपालाद्धारा देखिएका छन् ।

वैदिककालका विदुषीहरुमा अग्रपंक्तिमा नाम आउने घोषा पनि एक हुन्, जसले ऋग्वेदको दशौं मण्डलका ३९–४१ सूक्त सबै रचना गरेकी छन् । उनलाई ब्रह्मवादिवी (ब्रह्मज्ञाता) पनि भनिन्छ ।

ऋग्वेदको दशौं मण्डलका ८५ औं सूक्तभित्रका मन्त्र सूर्याद्धारा देखिएका छन् । ऋग्वेदको दशौं मण्डलका १२५ सूक्तभित्रका मन्त्र वाकद्धारा देखिएका छन् ।

यसरी वेदमा ऋषिकाद्धारा देखिएका वेदका मन्त्रहरुलाई ‘देव्यर्थशीर्षम्’ नाम दिइएको छ । यसरी वैदिककालमा महिलालाई शक्तिकी धनी, जननी, ज्ञानको प्रतीकका रुपमा लिइन्थ्यो । यससमयमा शिक्षा, सम्पत्ति एवं विभिन्न सामाजिक आयाममा महिलाको स्थान उच्च थियो ।

हिन्दु धर्ममा मात्र होइन्, क्रिश्चियन धर्मको पूर्व अवस्था मानिने जुडिजममा महिलालाई स्वतन्त्र भएर पति चयन गर्न र विवाहका सम्बन्धमा निर्णय गर्न पाउने व्यवस्था थियो । जुडिजमले नै महिलालाई आफ्नो शरीरमाथिको स्वतन्त्र अधिकार पनि दिएको थियो । महिलाको इच्छा विपरित पतिले पनि शारीरिक सम्बन्ध राख्न नपाउने व्यवस्था प्राचीन समयदेखि नै प्रचलनमा रहेको थियो ।

यसबाट स्पष्ट हुन सकिन्छ कि वैदिक समाजव्यवस्था जातिय, लैैंगिकलगायत अन्य सामाजिक आयाममा समानता थियो । महिलाहरुले परापूर्व कालदेखि नै स्वतन्त्रता, अधिकार र समानताका साक्षी भएको आधार र प्रमाणहरु पूर्वीय दर्शनमा पाइन्छ ।
यसरी हेर्दा वेदको पुर्नव्याख्या गरिनु पनि आवश्यक देखिन्छ । छायाँमा परेका महिलाका पराक्रमका कथाहरु अगाडि ल्याउनु पनि आवश्यक छ ।