‘नारी’ र ‘वाद’ « Himal Post | Online News Revolution
Logo

‘नारी’ र ‘वाद’



डा. गोबिन्द शरण उपाध्याय

सम्भवत: पितृसत्तात्मक वा पितृप्रधान शब्द पनि नारीवादीहरूले लेखेका हुन् । धनिहरू गरिवको पसीनामा बाँच्नेहुँदा गरिवले धनिको सम्पत्ति खोस्नुपर्छ । खोस्ने र जोगाउने बीचको सङ्घर्षलाई कार्लमार्क्सले “वर्गसङ्घर्ष” भनेर बुझाए । नारीवादले पनि “पुरुषलाई धनि र महिलालाई गरिव”मा रुपान्तरित गर्दै पुरुष र महिलालाई दुई सङ्घर्षरत वर्गमा अर्थ्याए । नारीवादको आधुनिक रूप बन्यो । मानववाद वा मानवतावादबाट नारीलाई अलग्याएर “नारीवाद” बन्यो ।

धनको उपयोग मान्छेले आफ्नो र आफन्तको सुखसुविधाका लागि प्रयोग गर्छ । धन साध्य हुँदैन केवल साधनमात्र हुन्छ । मान्छेहरू धन नभए पनि जीवित रहन सक्छन् । पशुहरूका लागि धनको कुनै उपयोगिता छैन तर स्त्रीलिंग र पुलिंगको काम छ । किनभने स्त्रीलिंग र पुलिंग एकआपसमा परनिर्भर छन् । एकआपसमा अविभाजित सम्वन्ध भएका छन् ।

नारीको नारीको नारीत्व र पुरुषको पुरुषत्व प्राकृतिक रूपमा पूर्वनिर्धारित छ । व्यक्तिगत अस्तित्व फरक भए पनि “भविष्यको अस्तित्व” नारी र पुरुषको सार्वजन हितायको निर्माणले निर्माण हुन्छ । आजसम्म एसको विकल्प छैन ।

जहाँसम्म सत्ताको प्रश्न हो – सत्ता वा अस्तित्वरहित अवस्थाको कसैले पनि कल्पना गर्न सक्दैन । महिला र पुरुष प्रकृतिले पहिले नै निर्धारित गरेको सत्ता हो । मूलत: नारीवादको अतिवादी स्वरूप पुरुषको विकल्प खोज्ने वा सहकार्यमा बालबालिका जन्माउने तथा हुर्काउने कुरालाई अस्वीकार गर्नु हो भने सामाजिक स्वरूपचाहिं महिलाले आत्मसम्मान, सुरक्षा तथा अवसरहरूको समान उपयोग गर्ने वातावरण सृजना गर्नुहो । दोस्रो तहको समस्याको सम्बोधनका लागि मुस्लिम-समुदाय वाहेकका समुदायहरू सहमत हुन्छन् ।

जहाँसम्म पहिलो परिणामको कुरा हो – महिलाका विषयमा मुस्लिम सोच र यो सोचमा कुनै फरक छैन । व्यक्तिगत रूपमा कसैको सोचमा नियन्त्रण गर्न सकिन्न तर फैलिंदै जाँदा सलाईको काँटीको आगोले अस्ट्रेलिया जलिरहेको हो भन्न मिल्छ ।

असहमति भन्दा असहमतिलाई लक्ष बनाउनेहरूसंग कुनै प्रकारको सम्झौताको सम्भावना रहन्न । यदि मान्छेको संसार केवल पुरुष वा महिलाले एक्लै निर्माण गर्ने हो वा भविष्यमा एस्तो कुनै सम्भव भयो भने मेरो यो सोच बदलिनुपर्छ । नत्र भने महिलावाद पनि पुरुषवाद भन्दा कुनै पनि अर्थमा कम घातक र विनाशकारी हुँदैन ।

नारीहरूले आफ्नो आत्मसम्मान, सुरक्षा तथा समानअवसरका लागि यदि आवाज उठाएका छन् भने निश्चयनै वर्तमान वा विगतको सामाजिक संरचनाले महिलासंग भेदभाव गरेकै छ । महालक्ष्मी, महाकाली, महासरस्वती वा अन्य देवीहरूको गाथा देखाएर महिलाहरूलाई थुम्थुम्याउने काम एकप्रकारको धोका नै हो ।

मनोविज्ञान भन्छ – जव कुनै व्यक्तिलाई लामोसमयसम्म एकै प्रकारको वातावरणमा राखिन्छ, अन्तत: तेही वातावरणलाई उसले आफ्नो भाग्य ठान्छ । पुस्तान्तरणबाट त्यो भाव अझैं बलियो हुन्छ । मैले आफ्ना हजुरवासंग सुनेको थिएँ कि चन्द्र शम्शेरले कमारालाई मुक्ति दिंदा केही कमाराहरूले तेस्तो मुक्तिलाई स्वीकार गरेका थिएनन् । किनभने उनीहरूसंग अर्को कुनै विकल्प थिएन ।

अधिकार, सुरक्षा तथा समानअवसरको अर्थ, महत्व र प्रयोजन सचेत नागरिकहरूले बढी बुझेका हुन्छन् । आफुले बुझेको तत्थ्यहरू कत्थ्यका रूपमा आफुसरहका बीचमा प्रवाहीकरण गर्ने उनीहरूमा क्षमता हुन्छ । यदि कुनै महिलाले उठाउँछन् भने उचित नै हो । आँखा नदेख्नेहरूको आँखा बन्नु ठूलो पुण्यको कुरा हुन्छ । तर यदि यही कुरा पुरुषप्रति केवल घृणाप्रकट गर्ने आधार वा आफु परिचर्चामा रहने सिंडीका रूपमा प्रयोग हुन्छ भने निकै पीडादायक र ह्रिंसक बन्न सक्छ । घृणाले घृणा जन्मिन्छ, युद्धले युद्ध जन्मिन्छ र प्रेमले प्रेम नै बढ्छ । नारीको बुझाईका सवालमा पुरुषको बुझाई अपूर्ण हुन्छ तर अपूर्ण बुझाईलाई तिरस्कार गर्न मिल्दैन ।

कार्लमार्क्स र एंगेल्सप्रति श्रद्धा व्यक्त गर्छु कि इसाई कट्टरपन्थीहरूले निर्धारित गरेको “नारीलाई वस्तु ठान्ने” विश्वासलाई उहाँको विचारले भताभुङ्ग बनाईदियो । मार्क्सवादले इसाई समाजको “नारी बस्तुवादी दृष्टिकोण”का जरोमा प्रहार गर्यो । तेसपछि नारीहरूले पश्चिमा समाजसंग बिद्रोह गरे । यो बिद्रोहलाई पुरुषप्रतिको घृणाका रूपमा नारीहरूले बुझ्नु र पुरुषलाई अपराधिका रूपमा पहिचान गरेर अधिकार खोज्नु – कार्लमार्क्स र एंगेल्सको अक्षम्य अपराध हो । एसको अर्थ, पुँजीवादीहरू पवित्र वा निर्दोष छन् भन्ने प्रमाणित हुँदैन । कार्लमार्क्सको “निषेध-सिद्धान्त”ले एकअर्कालाई निषेध गर्ने मनोविज्ञानको मात्र विकास गरेन अपितु निषेध गरिएको वस्तु वा सिद्धान्तलाई जरैदेखि उखालेर फाल्ने कामलाई मात्र “अधिकार-प्राप्ति” मान्ने दर्शनको विकास गर्यो । नारीवाद यहाँ भ्रमित भएको छ, मार्गच्यूत भएको छ ।

नारी तथा पुरुष वर्ग होइनन् । यी बीचको सङ्घर्षलाई “वर्ग-सङ्घर्ष”का रुपमा बुझ्ने र एसैलाई बंग्याएर व्याख्या गर्नेहरूप्रति मेरो सद्भावना छैन । मान्छेको रगत मान्छेलाई मिल्छ । त्यो रगत चाहे पुरुषको होस् वा महिलाको रोगीलाई केही फरक पर्दैन । मुख्य कुरा विभेदको हो, वर्गसङ्घर्षको पटक्कै होइन । “पुरुष र महिला दूई फरक मानव प्रजाति हुन्” भनेर ब्याख्या गर्ने फ्रेन्च लेखिका सिमोनले नारी र पुरुषमा भ्रम उत्पादन गरेकी छिन् । उनको यो भ्रमले नारी र पुरुषको प्राकृतिक सम्बन्धमा घृणाको वृद्धि भएको छ । आजीविकाको लागि नारीवादको ब्याख्या गर्नेहरूले एसलाई थप विकृत तुल्याएका छन् ।

वर्गसङ्घर्षलाई नै नारीवाद ठान्ने महिला तथा पुरुषहरूको अविवेकी हुल मसंग पनि आइपुगेको छ । फलत: नारीवाद वा नारीका विषयमा असल कुरा बोल्दा वा लेख्दा नारीवादीहरूको पीडक स्वरूप मभित्र पस्छ र तर्साउने गर्छ । मलाई थाहा छ, वर्गसङ्घर्षवादी नारीवादभित्र घृणा भरिएको छ । मैले नै सम्मान गरेपनि तिनको शब्दकोशमा यी शब्द छैनन् । तर मेरो नारीवाद वर्गसङ्घर्षबाट होइन प्रेमबाट आरम्भ हुन्छ र मेरो विश्वासले भन्छ – विश्वका सबै नारीवादीसगं मेरै सोच छ । यो तथ्य र मर्म स्वीकार गर्नेहरूका लागि अधिकार, समानअवसर तथा सुरक्षा सहजमा घटीत हुन्छ, होइन भने मृतकहरूको सम्झना गर्दै पुन: सङ्घर्षमा फर्किनु पर्छ ।

“वाद” एउटा दार्शनिक शब्द हो जुन धेरैपछि रचना भएको हो । आजभोली हरेक फरक विचारलाई वादको आवरण दिने गरिन्छ । नारी आफैमा वाद होइन । नारी आफैमा शक्तिशाली चेतना हुन् । प्रकृतिले दिएका खास शक्ति तथा क्षमताका कारण नारी ठ्याक्कै पुरुषसरह छैनन् र हुनु आवश्यकता पनि छैन । आजको नारीवादले यो प्राकृतिक रचनामा अतिक्रमण गर्न चाहेको छ ।

नारीलाई अवला भन्नुको अर्थ बलहीन ठान्ने नारीवादले घृणालाई उत्साहित गर्छ । नारी साच्चिकै अवला हुन्छे जतिवेला उसको उदारमा नयाँ मान्छे निर्मित भैरहेको हुन्छ । यदि कुनै नारीवादले नारीको यो प्राकृतिक अवस्था र ब्यबस्थासंग घृणा गर्छ भने त्यस्तो नारीवादप्रति सहमति व्यक्त गर्न जरूरी छैन । नारीवादभित्रको यो विकृत चिन्तन हो ।

नारी र पुरुष दूवैको सहयोगमा मान्छेको संसार चलिरहेको छ । न पुरुषलाई देवत्वकरण गर्ने आवश्यकता छ नारीलाई देवत्वको आवश्कता नै छ । नारी वाहक शक्ति भएकाले उसको सुरक्षा बढी आवश्कता छ, त्यहि बाहक शक्तिका कारण गरिने असमानता समाप्त हुनुपर्छ । अधिकार भने समाज, परिवेश तथा मान्यताका आधारमा निर्धारित हुँदा महिलाले उपयोग गर्ने अधिकार र पुरुषले उपभोग गर्ने अधिकारमा भिन्नता हुन्छ नै ।

नारी-मानवका रूपमा उपभोग र उपयोग गर्न पाउने अधिकारहरू कुनै पनि वहानामा अवरुद्ध हुनुहुँदैन । यदि नारीवादको घृणावादी चिन्तनलाई अगाडी बढाइयो भने आजको १५० वर्षपछि पुरुष अहिलेकी नारीको ठाउँमा धकेलिने छ । तेसपछि नारीहरू विरुद्ध पुरुषहरूले पुरुषवादको उत्थान गर्ने छन् ।