सैनामैनामा नयाँ शक्तिको घरदैलो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सैनामैनामा नयाँ शक्तिको घरदैलो



बुटवल: नयाँ शक्ति पार्टीले चुनावी अभियान अन्तर्गत मतदाताकेन्द्रित घरदैलो अभियान सुरु गरेको छ ।

शुक्रबार नयाँ शक्तिले रुपन्देही क्षेत्र नं. २ अन्तर्गत सैनामैना नगरपालिका वडा नं. ४ को लखनपाला, हडैयालगायतका क्षेत्रमा घरदैलो गरी चुनावी अभियान संचालन गरेको हो ।

नयाँ शक्ति पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनिकर कार्कीले घरदैलोका क्रममा नयाँ शक्ति पार्टीले राजनीतिक परिवर्तनपछि देश बदल्नको लागि विकास र समृद्धिको मार्गचित्र प्रस्तुत गरेको र यो देशबाट गरिबी उन्मुलन गरी व्यापक रोजगारीको सिर्जना गरी आम नागरिकको दैनिकी बदल्ने लक्ष्य लिएको बताउनुभयो ।

त्यस्तै रुपन्देही २ अन्तर्गत प्रदेश सभा क्षेत्र नं. २ का उम्मेदवार तेज कुमार घिमिरेले परिवर्तन र विकासको संवाहक नयाँ शक्ति भएकोले नयाँ शक्तिलाई मतदान गर्न आग्रह गर्नुभयो । नयाँ शक्तिले भड्किलो र खर्चिलो चुनावी कार्यक्रमहरु नगरी मतदाताकेन्द्रीत चुनावी अभियान संचालन गर्ने र चोक चोकमा ससानो प्रविधियुक्त चुनावी सभा गर्ने बताएको छ ।

घरदैलो कार्यक्रम नयाँ शक्ति पार्टीका रुपन्देही क्षेत्र नं. २ का उम्मेदवारहरुसहित, पार्टीका ५ नं. प्रदेश सचिव कमल खनाल, जिल्ला सचिवालय सदस्य हरि खड्का विदेश विभाग सचिवालय सदस्य नर सुनार, नयाँ शक्ति विद्यार्थी युनियनका प्रेम अर्याललगायतका नेता तथा अभियन्ताहरुको सहभागितामा सम्पन्न भएको थियो ।

यसअघि नयाँ शक्तिले बिहीबार साँझ बुटवलको योगिकुटी चोकमा मल्टिमिडियामार्फत चुनावी कोणसभाको आयोजना गरेको छ । वैकल्पिक राजनीति शक्तिको रुपमा उदाएको नयाँ शक्तिले चुनाव प्रचारमा पनि वैकल्पिक प्रयोग गरिरहेको छ । नयाँ शक्तिले यहाँका चोकचोकमा सन्देशमूलक अडियो भिडियोमार्फत चुनावी कार्यक्रमहरु गर्दै आएको छ ।