नयाँ धरहराको नक्सा समेत बनेन, २९ रोपनी जग्गामा बन्नेछ नयाँ धरहरा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

नयाँ धरहराको नक्सा समेत बनेन, २९ रोपनी जग्गामा बन्नेछ नयाँ धरहरा



काठमाडौं, २० कात्तिक । भूकम्पबाट ढलेको धरहरा निर्माण गर्न सरकारले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान चलाएको करिब नौ महिना बितिसकेको छ । तर, निर्माणको काम सुरु नै भएको  छैन । अहिलेसम्म नक्सासमेत बनेको छैन ।

नक्सा बन्न एक महिना लाग्ने
पुरातत्व विभागका सिडिई सम्पद घिमिरेले धरहराको नक्सा बन्न अझै एक महिना लाग्ने बताए । ‘नक्सा बनाउन विभागले कन्सल्टेन्टलाई जिम्मा लगाएको छ । नक्साको काम सक्न अझै महिना दिन लाग्ने देखिन्छ’, घिमिरेले भने ।

विभागले धरहराको सम्भाव्यता अध्ययन चार महिनाअघि नै सकेको थियो । अध्ययनपछि सम्भावित नक्सा पनि सार्वजनिक गरेको थियो । ‘सम्भाव्यता अध्ययन हुँदा र अहिले धरहराको नक्सा परिवर्तन हुनेछ,’ घिमिरेले भने, ‘पहिला धरहरा ६ रोपनी जग्गामा मात्रै बन्ने भनिएको थियो । तर, अब २९ रोपनी जग्गामा धरहरा निर्माण गरिनेछ । त्यसैले वास्तविक नक्सा बन्न ढिला भएको हो ।’

२९ रोपनी जग्गामा बन्नेछ नयाँ धरहरा
पुरातत्व विभागका अनुसार नयाँ धरहरा गोश्वारा हुलाकको साढे ११ रोपनी, टक्सारको थप साढे ११ रोपनी र पुरानो धरहराले चर्चेको ६ रोपनी गरि २९ रोपनीमा बन्नेछ ।

धरहराको डिपिआर कन्सल्टेन्ट केज÷एमआरपी जेभीले गर्दै छ । यसका लागि १५ लाख खर्च भइसकेको छ । थप ५० लाख डिपिआरमा लाग्ने कम्पनीले जनाएको छ ।

नयाँ धरहराको उचाइ दुई सय ४५ फिट तथा ११ तलाको बन्नेछ । विभागका अनुसार नवनिर्मित धरहरामा अत्याधुनिक लिफ्ट बन्नेछ । लिफ्ट प्रत्येक तलामा रोकिनेछ । अत्याधुनिक पार्किङको सुविधा पनि हुनेछ ।

भावी पुस्ता तथा पर्यटकको जानकारीका लागि अत्याधुनिक र सुविधासम्पन्न संग्रहालय पनि निर्माण गर्ने योजना छ । नयाँ पत्रिका दैनिकबाट