सर्ने भयो कांग्रेसको १४ औँ महाधिवेशन - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

सर्ने भयो कांग्रेसको १४ औँ महाधिवेशन



काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सर्ने भएको छ । कोरोना महामारीका कारण बैठक सार्न लागिएको हो । सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेताहरूले यो प्रस्तावलाई केन्द्रीय कमिटीमा लैजाने भएका छन् ।

एक नेताले बताए अनुसार आवश्यक तयारी गर्न जोखिम भएकाले कांग्रेसका शीर्ष नेताहरुले यसमा सहमति गरिसकेका छन् । प्रस्तावलाई केन्द्रीय कमिटीमा लैजान मात्र बाँकी छ ।

नेताहरुले महाधिवेशन २०७८ जेठमा हुने गरी सहमति गरेका हुन्। कांग्रेसको १४ औँ महाधिवेशन आगामी फागुन ७ गतेका लागि तोकिएको छ। क्रियाशिल सदस्यता नवीकरण तथा वितरण, संगठन समायोजन लगायतको काम समयमै सम्पन्न नहुने अनुमान लगाउँदै नेताहरुले महाधिवेशन सार्न लागेका हुन्।

बिहीबार देउवाले आफ्नै निवास बूढानीलकण्ठमा पार्टी पदाधिकारी तथा शीर्ष नेताहरुलाई बोलाएर क्रियाशील सदस्यता शतप्रतिशत बढाउने निर्णय गराएका थिए। बिहीबार देउवा निवासमै भएको छलफलमा नेताहरुले देउवालाई समयमै महाधिवेशन गर्न नसक्ने र तत्कालै नयाँ मिति तोकेर तयारी गर्न सुझाव दिएका थिए।

बिहीबारको बैठकमा कृष्णप्रसाद सिटौलाले अहिलेको तयारी र परिस्थितीले फागुनमा महाधिवेशन गर्न नसक्ने बताएका थिए। केही नेताले फागुनमा महाधिवेशन गर्न सकिँदैन वैशाख जेठमा सार्नुपर्छ भनेर छलफल गरेका थिए ।

महाधिवेशन सारेर जेठमा गर्नेमा धेरै नेता सहमत भएको बताइएको छ । तर सार्ने प्रस्ताव केन्द्रीय समितिबाट पार्टीले नै निर्णय गरेपछि मात्र टुंगिने नेताहरू बताउँछन।