नेकपा फुटाउने घानमा देउवा पनि - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेकपा फुटाउने घानमा देउवा पनि



काठमाडौँ – मिति २०७७ साल असार १७ गतेको मध्यराति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकाएक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे । प्रधानमन्त्री ओली र देउवाबीच करिव सुई घण्टा अन्तरंग कुराकानी भयो । देउवा बालुवाटार जाँदा भन्दा आफ्नो निवास फर्किँदा अनुहारमा चमक बढी थियो । बालुवाटारमा भएका धेरै घटना मिडियामा आउने र चर्चा हुन्थे तर अहिलेसम्म यो घटना भने गुपचुप नै थियो ।

बालुवाटारबाट फर्केपछि सभापति देउवाले आफ्ना केहि अत्यन्त निकटसंग त्यहाँको माहोलबारे बताए, त्यसलाई पनि कांग्रेसमै गोप्य राखियो । अहिले चरम संकट र विवादको जड यहि घटना नभएपनि मलजल भने देउवाले गरेको कतिपय कांग्रेस नेताको निस्कर्ष छ ।

बालुवाटार कसले पठायो देउवालाई ?

अध्यादेश प्रकरणदेखि नागरिकता विधेयकसम्म आइपुग्दा सभापति देउवा प्रधानमन्त्री ओलीसंग रुष्ट थिए । पछिल्लो केहिदिन बालुवाटारबाट उनलाई धेरैपटक बोलावट भयो तर उनि जान चाहेनन् ।

१७ गते रातिको भेटघाटको चाँजोपाँजो भने भारतीय दूतावासले मिलाएको स्रोतले बताएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नयाँ सरकार निर्माणका लागि सघाउन भारतीय राजदूतसंग आग्रह गरेका थिए । देउवालाई यसअघि पनि बालुवाटारबाट बोलावट आएको थियो तर उनि गएका थिएनन । भारतीय दूतावासले आस्वस्त पारेपछि उनि त्यहाँ पुगेको स्रोतले दाबी गर्छ।

पछिल्लो समय दुतावास निकै सक्रिय भएर लागेको र प्रधानमन्त्री ओलीका विश्वासपात्र गोकुल बास्कोटा दुतावासको निरन्तर सम्पर्कमा रहेको स्रोतले दाबी गरेको छ ।

त्यतिमात्र होइन दूतावासले जनता समाजवादीका शिर्ष नेताहरूलाई पनि बालुवाटारको सम्पर्कमा रहन भनेको छ ।

निकटसंग देउवाको ब्रिफिङ

प्रधानमन्त्री ओलीसंग छलफलमा भएका सबै कुरा स्रोतले नखुलाएपनि देउवाले पार्टी फुटाउन मलजल भने गरेको देखिएको छ । उक्त भेटघाटपछि देउवाले आफ्नो निवासमा विश्वासिला नेताहरुसँगको कुराकानीमा नेकपाभित्रको विवाद उत्कर्षमा पुगेकाले ओलीले पार्टी विभाजन गर्ने निष्कर्ष निकालेको जनाएका थिए ।

असार १७ गते राति ओली र देउवाबिच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटपछि सभापति देउवाले आफ्ना निकटका केहि नेताहरूलाई गरेको ब्रिफिङ अनुसार नेकपा फुट्ने पक्का भएको र नेपाली कांग्रेसका लागि यो सुखद खबर भएको बताएका थिए ।

उनले नेताहरूलाई गरेको ब्रिफिङमा अब प्रचण्डले दिएको धोकाको बदला पनि पुरा हुने संकेत गरेका थिए । मध्यरातमा बालुवाटार पुगेका देउवा दुई घण्टा लामो छलफल गरेर फ़र्किएपछि निकै हौसिएको पनि एक नेता बताउँछन । ‘सभापतिज्यु बालुवाटारको छलफल पछाडी निकै हौसिनुभएको छ।’ ति नेताले भने ।

कांग्रेस सभापति देउवा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग निकै रुष्ट छन् । गएको चुनावमा प्रचण्डले दिएको धोकाबारे उनले पटक पटक भन्दै आएका छन् । केहि समय अगाडी पुल्चोकको हिमालयन होटलमा भएको प्रचण्ड-देउवा भेटघाटमा त देउवाले धोकेबाज अब मलाई के मा फसाउने विचार छ भन्दै हकारेका थिए ।

बालुवाटारमा मध्यरातमा भएको ओली-देउवा छलफलमा पनि देउवाले प्रचण्डको प्रसंग निकालेको स्रोतले बताउँछ ।

प्रधानमन्त्री ओलीले नेकपा अब एउटै पार्टी भैरहन नसक्ने बताइरहेका बेला नेपाली कांग्रेसका सभापतिले शेरबहादुर देउवाले नेकपा फुटाउन सहयोग गरेको गाइगुई अन्यत्र पनि सुनिन थालेको छ ।

यता नेपाली कांग्रेसका देउवा इतरका केहि नेताहरूले देउवाले पार्टी फुटाउन सहयोग गरेको बताउने गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार गरेको भाषणले पनि यो संकेत गर्छ । पौडेलले भनेका थिए, ‘लोकतन्त्रमा अरूको पार्टी फुटाएर आफ्नो घर बन्न सक्दैन ।’

तर पार्टी पंतिमा भने दुई नेताबिच संवैधानिक निकायमा नियुक्तीबारे मात्र कुराकानी भएको बताइएको छ । पार्टी विभाजनपछि कसरी अघि बढ्ने भन्ने भावी राजनीतिक रोडम्यापबारे पनि कुराकानी भएको स्रोतले जानकारी दियो।

स्रोतका अनुसार नेकपा विभाजनपछि सरकारमा सहभागी हुन ओलीले देउवालाई आग्रह गरेका छन्। जवाफमा देउवाले ‘त्यसका लागि आफू तयार रहेको’ बताएका छन्।

ओली देउवाबिचको उक्त सहमति भएको सूचना नेकपाका अरु शीर्ष नेताहरुले पाएसँगै उनीहरु थप शसंकित बनेका छन्। ओलीलाई प्रधानमन्त्री र नेकपाको अध्यक्षबाट समेत हटाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल लागि परेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।

नेकपा विवाद

नेताहरुले जारी स्थायी कमिटि बैठक रोकेर सहमतिका लागि कोशिस गरे पनि नेकपाभित्रको विवाद झन् झन् गहिरिँदै गएको छ। शनिबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सोमबारसम्म स्थगित भएको छ। ४५ सदस्यीय स्थायी कमिटिका ३० जना सदस्य ओलीलाई दुवै पदबाट राजीनामा गराउने पक्षमा उभिएका छन्।

शनिबार बेलुका प्रधानमन्त्री ओलीले मन्त्री तथा राज्यमन्त्रीलाई बालुवाटार बोलाएर आफ्नो कित्ता क्लिएर गरेर बस्न निर्देशन दिएका छन्। आफू दुवै पदबाट नहट्ने र परिस्थिति जटिल बन्दै गएकाले ‘स्टेप बाइ स्टेप’ ‘बाइ फोर्स’ अघि बढ्नु पर्ने अवस्था आउन सक्ने ब्रिफिङ गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएर ओलीले मन्त्रीहरुलाई कित्ता क्लिएर गर्न भनिरहँदा उनी इतरका नेताहरु दाहाल निवास खुमलटारमा भेला भएर कसरी अघि बढ्ने भन्ने छलफल गरिरहेका थिए।

ओलीले आफू र राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत हटाउन चलखेल भइरहेकाले आफूले प्रतिवाद गर्ने जानकारी मन्त्रीहरुलाई गराएका हुन्।