एकीकृत समाजवादी राष्ट्रिय दल नबन्ने पक्का - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एकीकृत समाजवादी राष्ट्रिय दल नबन्ने पक्का



प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणनामा जनता समाजवादी पार्टी (जसपा) ले पनि ‘थ्रेसहोल्ड’ कटाउन लागेको छ। उसले अहिलेसम्म ३ लाख १९ हजार ४ सय १९ मत प्राप्त गरेको छ।

निर्वाचन आयोगका अनुसार कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० रहेकामा यसको ६१ प्रतिशत अर्थात् १ करोड ९ लाख ७० हजार आसपास मत खसेको छ भने अहिलेसम्मको गणनाअनुसार ३ लाख मत बदर भएको आकलन छ।

अहिलेसम्मको हिसाबले कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन आउँछ। यसको ३ प्रतिशत ३ लाख २० हजार हुन्छ। यसर्थ ३ लाख १९ हजार ४ सय १९ मत ल्याइसकेको जसपा थ्रेसहोल्ड पार गर्ने संघारमा छ भन्न सकिन्छ।

यसअघि नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीले थ्रेसहोल्ड पार गरिसकेका छन्।

अहिले पहिलो स्थानमा रहेको एमालेले २५ लाख १९ हजार ३ सय १६, दोस्रोमा रहेको कांग्रेसले २३ लाख ८७ हजार ३ सय १९ र तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५९ हजार ३ सय २२ समानुपातिक मत प्राप्त गरिसकेका छन्।

जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पनि थ्रेसहोल्ड पार गर्न संघर्षरत छन्। अहिलेसम्म जनमतले २ लाख ५६ हजार १७ र एकीकृत समाजवादीले २ लाख ४८ हजार ८ सय ४९ समानुपातिक मत पाएका छन्।

हालसम्म समानुपातिकतर्फ ९२ लाख ५० हजार ८ सय ९१ मत गणना भइसकेको आयोगको तथ्यांकमा उल्लेख छ।