एकीकृत समाजवादी पनि राष्ट्रिय पार्टी ! - Himal Post Himal Post
  • १९ माघ २०७९, बिहीबार
  •      Thu Feb 2 2023

एकीकृत समाजवादी पनि राष्ट्रिय पार्टी !



समानुपातिकतर्फ अहिलेसम्म एक करोड २ लाख १३ हजार ५ सय ५४ मतगणना हुँदा नेकपा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो परिणामअनुसार एमालेले २७ लाख २६ हजार ३ सय ३ मत पाउँदा नेपाली कांग्रेस २५ लाख ९३ हजार ७ सय ४२ मतका साथ पछ्याइरहेको छ ।

नेकपा माओवादी केन्द्रले ११ लाख ५४ हजार १ सय ९४ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ५ हजार ३ सय ७१ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार ७ सय ३९ मत पाएको छ ।

जनता समाजवादी पार्टीले ४ लाख ११ हजार ८ सय ५६ मत पाएको छ । जनमत पार्टीले ३ लाख ८१ हजार २ सय ४४ तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले २ लाख ९२ हजार ८२ मत पाएको छ । नागरिक उन्मुक्ति पार्टी २ लाख ६८ हजार ७ सय ५ मत पाएको छ ।

यो निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड ९ लाख हाराहारीमा मत खसेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।

प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ ३ लाख भन्दा धेरै मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ । अहिलेसम्म सात दलले ‘थ्रेस होल्ड’ सीमा पार गरिसकेका छन् ।

एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा नेपाल र जनमत पार्टीले गणना भएको मतबाट ३ प्रतिशतभन्दा बढी मत कटाएका छन् । नेकपा एस थ्रेसहाेल्डकाे सीमानजिक पुगेकाे छ ।

२०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाँच दलले निर्वाचन ऐनले तोकेको थ्रेस होल्ड पार गरी राष्ट्रिय दलको मान्यता पाएका थिए । सो निर्वाचनमा एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालले राष्ट्रिय मान्यता प्राप्त गरेका थिए ।

उक्त निर्वाचनमा एमालेले ३१ लाख ७३ हजार चार सय ९४, कांग्रेसले ३१ लाख २८ हजार तीन सय ८९, माओवादी केन्द्रले १३ लाख तीन हजार सात सय २१, राजपा नेपालले चार लाख ७२ हजार दुई सय ५४ र सङ्घीय समाजवादी फोरम नेपालले चार लाख ७० हजार दुई सय एक मत प्राप्त गरेका थिए ।

उक्त निर्वाचनमा प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी नेपालले छ स्थान र सङ्घीय समाजवादी फोरम नेपालले छ सिट प्राप्त गरेको आयोगको तथ्याङ्क छ ।