एकीकृत समाजवादीले तोड्यो गठबन्धनसँग भएका सहमति - Himal Post Himal Post
  • २२ श्रावण २०७९, आईतवार
  •      Sun Aug 7 2022

एकीकृत समाजवादीले तोड्यो गठबन्धनसँग भएका सहमति



काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले सत्ता गठबन्धनमा भएका पहिलेका सहमति नमान्ने भएको छ । वाग्मती प्रदेश सरकारको नेतृत्वलाई लिएर विवाद भएका बेला नेकपा एसले सहमति नमान्ने भएको हो ।

वाग्मती प्रदेश सरकारको नेतृत्व छाड्नुपरे अर्को प्रदेशमा सरकारको नेतृत्व गर्न पाउनुपर्ने पार्टी निष्कर्ष निकालेको छ । काठमाडौंस्थित केन्द्रीय कार्यालयमा बसेको वाग्मती प्रदेश संसदीय दलको बैठकले आफ्नो पार्टीले अहिलेझैँ कम्तीमा दुई प्रदेशको नेतृत्व पाउनुपर्ने निष्कर्ष निकालेको हो ।

तर बाग्मती प्रदेश सरकार निर्माण गर्दा लिखित सहमति भएको कांग्रेसका नेताहरूले बताएका छन् । नेकपा एसले गठबन्धन गर्दा गरेका सहमति नमाने परिस्थिति फरक बन्ने चेतावनी कांग्रेसले दिएको छ ।

नेता–कार्यकर्ताको व्यवस्थापनका लागि सबै पार्टीले अहिलेझैँ प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने एकीकृत समाजवादीको धारणा छ । “काहीँ न काहीँ अवसरहरूको बाँडफाँड त हुन्छ नि ! वाग्मती नभए अर्को ठाउँमा होला । दुई ठाउँमा हाम्रा अहिले मुख्यमन्त्रीहरू हुनुहुन्छ, १ नम्बर र वाग्मतीमा । यस्तै अरू कहीँ दुई ठाउँमा पाउनुपर्ने होला,” बैठकपछि पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, “कांग्रेसको पनि दुई ठाउँमा छ, उसले पनि चेन्ज गरेर दुई ठाउँमा लिने इस्यु मिलाऔँ भन्ने छ ।”

केन्द्रीय सत्ता गठबन्धनका दलहरूबीच छलफल गरेर सातै प्रदेशका बारेमा एउटा धारणा बनाउनुपर्ने उनले बताए । “गठबन्धनका दलहरूभित्र छलफल गरेर सातै प्रदेशका बारेमा एउटा धारण बनाऔँ अनि अगाडि बढौँला भन्ने हाम्रो साझा धारणा हो,” उनले भने ।

गठबन्धनका दलहरू मिलेर सबैतिर एकैचोटि ‘सेटल’ र उपयुक्त अवसरहरूको बाँडफाँड गर्नुपर्ने उनले बताए । बैठकमा प्रादेशिक समसामयिक राजनीतिक परिस्थितिका विषयमा समीक्षा भएको उनले जानकारी दिए । बैठकमा अध्यक्ष माधवकुमार नेपालको पनि उपस्थिति थियो ।

वाग्मतीमा प्रदेश सरकार परिवर्तनको कसरत गरिएको छ । एकीकृत समाजवादीले वाग्मती सरकारको नेतृत्व गरेको छ । राजेन्द्र पाण्डे मुख्यमन्त्री छन् ।

पाण्डेलाई पदबाट हटाउन सत्तासाझेदार दलहरू नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यहरूले हस्ताक्षर संकलन गरेका छन् । वाग्मतीमा गठबन्धनबीच ६/६ महिना सत्ताको नेतृत्व गर्ने सहमति भएको उनीहरूको भनाइ छ ।