कथा : जेल-मान्छे - Himal Post Himal Post
  • १० बैशाख २०८१, सोमबार
  •      Mon Apr 22 2024
Logo

कथा : जेल-मान्छे



– नीलम कार्की निहारिका

आँखा खुल्नासाथ खोज्छ।

राति सुत्दा साथ लिएर सुतेको थियो। आमाचाहिँले निदाएपछि अलि पर राखिछन्।

आफू एक्लै हाँस्छ। साह्रै खुसी छ अहिले। सबैलाई देखाइसकेर पनि दोहोऱ्याएर देखाउँदै हिँड्छ।

नेता अङ्कल छन्। उनैबाट पाएको हो यति बिघ्‍न खुसी। पत्रिका पढिरहेको बेला सोध्या’थ्यो– ‘कसरी आउँछ फोटो यसमा ?’ नेता अङ्कलको फोटो छापिएको थियो पत्रिकामा।

अङ्कलले भनेका थिए– ‘फोटो खिचेर छाप्‍ने हो।’

– ‘मेरो र आमाको पनि आउन मिल्दैन ?’

त्यो दिन केही बोलेनन् नेता, हाँसे मात्र।

केही दिनपछि देख्यो– ऊ एक्लै खेल्दै गरेको आफ्नो फोटो, पत्रिकामा।

शीर्षक थियो– ‘आमासँगै जेलमा सजाय भोग्दै नाबालक।’

उसलाई तल लेखेको विवरण त थाहा भएन, तर आफ्नो फोटो देखेर खुसीले उफ्रियो।

त्यो पत्रिका आफू सुत्दा पनि साथै हुन्छ। मैलो, पुरानोजस्तो भइसकेको छ।

केही दिनअगाडिसम्म भुल्लाको बल खेल्थ्यो। अहिले प्लास्टिकको बल पा’को छ, त्यसमा पनि थप खुसी छ।

ऊ बललाई साथी भन्छ। कपडाको गुडियालाई साथी भन्छ अनि राति आउने जून–तारालाई साथीहरू भन्छ, कुरा गर्छ उनीहरूसँग।

ऊ त्यहीँ जन्म्यो– ६ वर्ष पहिला। तर अहिले शरीरको उचाइ हेर्दा लाग्दैन यो ६ वर्षको हो।

जहाँ जन्म्यो– त्यही हो संसार। बाहिर के छ, थाहा छैन।

छाना नभएको खाली भागबाट जति देख्छ उसको भागको आकाश। १० रोपनी जमिनमा घर–टहराबाहेक पर्खालले घेरेको बाँकी रहेको जमिन उसको भागमा परेको टेक्ने धर्ती।

त्यहीँ गाडियो उसको साल–नाल। त्यहीँ सऱ्यो बामे। टुकुटुकु हिँड्यो, अहिले दगुर्ने भा’छ, तर कोही आफ्नो उमेर मिल्दो छैन खेल्न।

वयस्क छन्, बूढाबूढी पनि छन्, ती सबै कम्तीमा एक अभियोगको पगरी लाएका मात्र छन्। तीमध्ये सबैभन्दा मनपर्ने मान्छे हो अङ्कल। अझ पत्रिकामा उसको फोटो आएपछि त झन् नजिकको मान्छ उनलाई।

उसकी आमा छन्।

साढे ६ वर्षदेखि सजाय भोगिरहेकी छिन्।

जब अग्लो पर्खालले घेरेको धर्ती टेक्यो उसले। आमाले न्वारनबिना नाम राखिदिइन्– कर्म।

कसैले ‘कर्म’ भनेर बोलाइदियो मात्र भने पनि अर्को दङ्ग पर्छ।

कर्म पनि आफ्नी आमासँगै सजाय भोगिरहेछ। तर आमाको सजाय कम हुने होइन, दुवैले भोग्दैमा।

वनमा जन्मेको हुर्केको भए वन–मान्छे हुने थियो। जेलमा जन्मेको भएर जेल–मान्छे। उसको पहिचान।

यो नाम जेलरले राखेको। जेलर त्यही भनेर बोलाउँछन् – ‘ए, जेल–मान्छे !’

ऊसँग न खेल्ने मान्छे साथी छ, न त बोल्ने नै। त्यसैले त ३ वर्ष पूरा भएर ४ लाग्दा बल्ल बोल्न थालेको थ्यो। सबैले भन्थे– यो लाटो हुन्छ ! अहिले बोल्न सक्छ। बोलीमा धेरै उसका प्रश्न मात्र हुन्छन्। ऊसँगै शब्द धेरै छैनन्– कुरा गर्नका निम्ति।

ऊ सँगै भएको बेलामा कोही बोलेमा प्रत्येक वाक्यपछि उसलाई जबाफ दिनुपर्छ शब्दको अर्थ। कोही गाली गर्छन्। कोही गर्छन् हप्कीदप्की र कुटपिट पनि। कोहीले उसकी आमालाई चेतावनी दिन्छन्– ‘तेरो छोरालाई सम्झा होइन भने’ भनेर। सम्झाउँछिन् पनि– ‘यसो नगर्नू’ भनेर, तर एक दिन एकछिन मान्छ, फेरि उस्तै।

प्रश्न नै प्रश्नको ओइरोले हैरान।

एक दिन पाँच–सात जना कैदी एकै ठाउँमा धागो बनाएर बसेका थिए।

एउटीले गाउँ हुँदा कुवामा कोस हिँडेर पानी लिन जाँदा भूत भेटेको कुरा गर्दैथी। सबै उत्सुक भएर सुनिरहेका थिए, तर त्यति नै बेला कर्मेको प्रश्न सुरु हुन्छ लगालग–

– ‘भूत के हो ?

– कस्तो हुन्छ ?

– कुवा के हो ?

तर कसैले सुनेनन् उसको प्रश्न। अर्थात्‌ सुनेर पनि नसुनेझैँ गर्न खोजे। उसले झन् ठूलो आवाजमा सोध्‍न लाग्यो– ‘कुवा के हो, भूत के हो ?’ तीमध्ये एकले औँलाले सङ्केत गर्छे चुप लाग्‍न। ऊ त्यसरी बस्नेवाला थिएन। दोहोऱ्याई रह्यो आफ्नो प्रश्न।

– ‘ऐ सावित्री, छोरालाई सम्झाउनू है ! उता लिएर जानू नि, अहिले त यो कति अटेरी छ, पछि कतिको ज्यान लिने हो… ?’

आफूलाई गाली गरेको हो भन्ने बुझ्यो, तर अर्थ बुझेन। बुझ्ने कोसिस  पनि गरेन। सावित्रीले त्यहीँको त्यहीँ दुई थप्पड दिइन् गालामा।

अनि अलि पर लगेर भनिन् –‘तिमीलाई पिट्न मन लाग्दैन, तर पिट्नुपर्छ। तिमी ज्ञानी भइदेऊ।’

रोयो, खूबै रोयो। त्यही दिन आमाले आफ्नो पछ्यौरा च्यातेर एउटा गुडिया बनाइदिइन्, साथी भनेर दिइन् उसैसँग कुरा गर्न भनी।

अनि ऊ खुसी भयो।

धेरैजसो एक्लै हुन्छ। कि आमासँगै, कहिलेकाहीँ नेता अङ्कलसँग।

उसले जानेको सम्बोधन– अङ्कल, महिलालाई दिदी अनि आमा। जेलरलगायत अरू सुरक्षाकर्मीलाई सर।

योभन्दा बाहेक नाता–सम्बन्ध, दाजु–भाइ, बाबा, मामा, हजुरबुबा, हजुरआमा…, के हो थाहा छैन।

आमालगायत जेलका बन्दीहरू धागो बनाउने काम गर्थे, दुई पैसा आर्जन गर्थे। ऊ पनि आमासँग धागो बनाउन खोज्छ। आमासँग प्रश्न गर्छ– ‘आमा यो धागोले के गर्ने हो ?’

– ‘लुगा बनाउने।’

–‘कसरी बन्छ लुगा ? मलाई बनाइदिनुहुन्छ ?’

त्यसपछि आज पनि प्रश्न छ आफ्नी आमासँग, उही केही दिनदेखि लगालग सोधिराख्‍ने प्रश्न।

– ‘बाहिर कहिले जाने ?’ छोरा।

– ‘बाहिर जान हुन्न।’ आमा।

– ‘किन ?’ छोरा।

– ‘धेरै डरलाग्दो हुन्छ, राक्षस बस्छ।’ आमा।

– ‘राक्षस भनेको के हो ?’ छोरा।

– ‘मान्छेलाई दुःख दिन्छ के।’ आमा।

– ‘कसरी ?’ छोरा।

– ‘सताउँछ के।’ आमा।

– ‘कसरी सताउँछ ?’ छोरा।

– ‘जे पनि गर्छ, अर्कालाई दुःख दिन्छ, एकबारको जन्म, मान्छेको चोला नर्क बनाइदिन्छ।’ आमा।

– ‘अरू के–के गर्छ ?’ छोरा।

– ‘तेरो टाउको गर्छ।… चुप लागेर बस्न सक्दैन।’ अब भने आमा सावित्री झर्किन्छिन्।

एकछिन त चुप लाग्छ, फेरि सुरु हुन्छ– ‘मान्छे पनि त हुन्छ बाहिर। के त नेता अङ्कललाई भेट्न आ’को मान्छे होइन ?’

– ‘हो।’

– ‘कस्तो हुन्छ त राक्षस ?’

– ‘हेर्दा मान्छेजस्तै हुन्छ, चिनिँदैन के।’ दिक्क हुन्छिन् सावित्री।

– ‘कसरी थाहा पाउने त ?’

केही बोल्दिनन् सावित्री।

– ‘ला ! अङ्कललाई भेट्न आ’को मान्छे हो कि, राक्षस हो कि !’

– ‘त्यसैले भनेको बाहिर जान हुन्न है, राक्षस हुन्छ त्यहाँ।’ सावित्री ।

यसै गरी हुर्केको छ कर्म। अनि त्यो दिनदेखि बाहिर जाने भनेर दुःख पनि कहिले दिएन।

एक दिन,

एक कैदीलाई भेट्न आएका थिए वकिल र आफन्ति।

फलामको बारभित्र–बाहिर थिए उनीहरू। अलि नजिक मानौँ– मुख जोडेजस्तो कुरा गर्दै थिए। कर्म दगुरेर गयो र कैदीलाई बोलायो– ‘आउनू, यता आउनू !’

उसले कर्मको कुरा नसुनेझैँ गऱ्यो। बाहिरकासँग गफ गरिरह्यो। कर्मले फेरि फेरि पनि इशाराले बोलाइरह्यो। तर अन्तमा नजिक गएर भन्यो– ‘अङ्कल, तपाईँलाई था’छ, यिनीहरू मान्छे हो कि राक्षस ? राक्षस मान्छेजस्तै हुन्छन्’अरे आमाले भनेको।’

कोही केही नबोलेपछि कर्म नै बोल्यो– ‘यिनीहरू राक्षस पनि त हुन सक्छन्।’

अङ्कलले, रीसले आँखा देखेनन्, जोडसँग धकेलिदिन्छन् कर्मलाई। ऊ लड्यो अलि पर पुगेर।

– ‘वकिलसाहेब, यो केटा पागल छ। आमाचाहिँ के–के सिकाउँछे के–के। आफैँ बहुलाइजस्ती छ। यो पनि उस्तै। निमोठेर फालूँझैँ लाग्छ। यहीँभित्र छ यसकी आमा। लोग्‍ने मारेर जेल परेकी।’ कैदीले भन्यो।

ऊ लड्दा चोट लाग्यो। घुँडामा चोट लागेर रगत बगेको हुन्छ। त्यसको भन्दा पर्वाह उसको मनमा अब अर्को गडेको छ प्रश्न– ‘लोग्‍ने भनेको के हो ?’

सोध्यो, आफूलाई गाली गर्नेसँगै पनि सोध्यो। मेरो नजिक न’आ भन्नेसँग पनि सोध्यो। ‘लोग्‍ने भनेको के हो ?’ कोही बोल्दै बोलेनन्। कोहीबाट जबाफ पायो– ‘तेरी आमासँग सोध् न !’

साँझ भात खाने बेला पनि सोध्यो आमालाई। दर्जन पटक सोधिसकेको प्रश्न, उही प्रश्न– ‘लोग्‍ने भनेको के हो ?’

उत्तर नआउँदासम्म भातको भागमा हात हालेन।

आमाले भनिन्– ‘जोसँग बिहा गरेको, त्यो लोग्‍ने हो।’

‘बिहा भनेको के हो ?’ अब अर्को प्रश्न।

सावित्री केही बोलिनन् ।

 

अर्को बिहानै अनि घरीघरी सोध्यो– ‘त्यो लोग्‍ने के हो नि ?’

राम्ररी चित्त बुझ्ने गरी उत्तर पाएन।

दिउँसो त्यही सोध्यो।

– ‘आमा, खोई त त्यो लोग्‍ने ?’

– ‘बाहिर, पर्खालबाहिर।’

– ‘झुट, झुट, आफूले झुटो बोलेको। आफैँले भनेको होइन– मलाई झुटो बोल्न हुन्न भनेर। आफू झुटो बोलेको। तपाईँले मारेको हो लोग्‍ने ? किन झुटो बोलेको ? आफू झुटी।’

आमाचाहिँ सँग जबाफमा कुनै वाक्य रहेन।

कर्म बोल्छ– ‘आफूले साङ्लो मार्न हुन्न, पाप लाग्छ भनेको होइन ? अब तपाईँलाई पाप लाग्दैन ?’

कर्म फतफताई मात्र रह्यो। अझ पूरापुर बुझेको छैन। बिहे के हो ? लोग्‍ने के हो ? उत्तर छैन,  ‘कस्तो हुन्छ लोग्‍ने  ?’

उसले सम्झयो– नेता अङ्कल। तर उनलाई भेट्न मौका पर्खनुपर्छ–पर्छ। ऊ उचित समयको खोजीमा रह्यो। ट्वाइलेट जाने बहानामा निस्कियो हेर्न, अङ्कल फुर्सदिला भएकी…!

पत्रिका पढिरहेका थिए। कर्ममा अब धैर्यता रहेन। ऊ नजिक गयो। जानासाथ सोध्यो एकै सासमा– ‘अङ्कल, लोग्‍ने भनेको के हो ?’

‘जोसँग बिहे गरिन्छ, त्यो लोग्‍ने हो।’ नहेरी उत्तर दिन्छन्।

‘बिहे भनेको के हो त ?’

पत्रिकाबाट आँखा हटाएर बल्ल हेरे कर्मलाई।

आज उसलाई सदाको भन्दा अर्कै देखे।

नेता हाँसेर भनेँ– ‘मेरो अलिकति काम छ, अनि कुरा गरूँ है !’

ऊ उभिइरह्यो।

बेला–बेला सोध्थ्यो– सकियो ?… सकियो ?

नेता अङ्कलले भने– ‘एक छिनमा आउनू, अनि सकिन्छ।’

ऊ अलि निन्याउरो मुख लाएर फर्कियो। अर्को बाजी आएर टाढैबाट हेरेर गयो।

अब अङ्कल लेखिरहेका थिए।

पछि जाने मौका मिलेन, राति भो।

सदाझैँ आज आमासँग कुरै गरेन, चुपचाप सुत्यो। बिहानको पर्खाइमा।

बिहान दगुऱ्यो नेता अङ्कलकोतिर, तर पुरुष बस्नेतिरको ढोका खुलेको थिएन अनि फर्केर आयो।

दुई–तीन पटक यताउता गऱ्यो। छटपट… छटपट।

आमाचाहिँ कराइन्– ‘यो जाडोमा कति यताउता गर्छ यो केटा ?’

ऊ  अलि डरायो पनि, तर केही बोलेन।

ल यो पटक त खुलेछ। ऊ फुत्त पसी पनि हाल्यो।

‘खोई त भनेको ?’ जानासाथ सोधिहाल्यो अङ्कललाई।

– ‘के ?’

– ‘बिहे भनेको के हो ?’

– ‘ठूलो भएपछि बिहे गर्छन् के।’

– “बिहे गर्छन् ?’ अलमल्लमा पर्छ। अङ्कलले बिहेबारे थोरै बुझाउँछन्, कर्मको उमेर अनुसार मात्र।

– ‘लोग्‍नेसँग हो ?’ कर्म उमेरभन्दा अघि बढेर प्रष्ट हुन खोज्छ।

– ‘हो।’

– ‘तपाईँको पनि छ लोग्‍ने ?’

नेता हाँस्छन्। होइन, केटामान्छेको त स्वास्नी हुन्छ, केटीमान्छेको लोग्‍ने।

‘ए।’ बुझेझैँ गर्छ र सोध्छ– ‘कस्तो हुन्छ त त्यो ?’

– ‘कस्तो हुनु ? मान्छे त हो नि !’ लोग्‍ने भनेको केटामान्छे, स्वास्नी भनेको केटीमान्छे।’

– ‘मान्छे ! लोग्‍ने भनेको मान्छे हो, लोग्‍ने भनेको ? ’

त्यो दिनदेखि ऊ कम बोल्ने भयो। प्रश्न पनि धेरे सोध्‍न छोड्यो। आमा–छोराबीचको पनि बोलचाल कम भयो।

राति सावित्रीले भनिन्– ‘छोरा, तिमी बाहिर जाने भनेको थियौ नि, मैले साहेबलाई भनेको छु– तिमीलाई बाहिर लान। अब छिट्टै मिल्छ रे। तिमी त्यहाँ गएर राम्ररी पढ्नुपर्छ, ठूलो ज्ञानी बन्नुपर्छ, धेरै साथी हुन्छन् मान्छे  साथी। माथि आकाशको जून–तारालाई साथी बनाउन पर्दैन। खेल्ने कुरा पनि हुन्छ, खेलौना हुन्छ। बस, गाडी, मोटरसाइकल कति हुन्छ, अग्लो–अग्लो घर हुन्छ।’

आमा निरन्तर बोलिरहेकी छिन्। सुत्ने बेला ‘आमा, अझै कुरा गर्नु न’ भन्ने कर्मलाई अहिले मतलब छैन। कहिल्यै नसुनेको शब्द दोहोऱ्याएर कति आए, तर एउटाको पनि अर्थ सोधेन उसले।

धेरैबेरपछि बोल्यो कर्म मीठो गरी– ‘आमा, एउटा कुरा सोध्छु है !’

– ‘सोध न !’

– ‘आमा, तपाईँको लोग्‍ने राक्षस थियो हो ? हेर्दा मान्छेजस्तो, तर राक्षस–मान्छे ?’

