नेकपा विभाजन नहुने, ओली पाँचै वर्ष प्रधानमन्त्री रहने: यसरी टर्‍यो संकट - Himal Post Himal Post
  • ५ चैत्र २०८०, सोमबार
  •      Mon Mar 18 2024
Logo

नेकपा विभाजन नहुने, ओली पाँचै वर्ष प्रधानमन्त्री रहने: यसरी टर्‍यो संकट



काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र देखिएको संकट तत्कालका लागि टरेको छ । आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिचको निर्णायक भनिएको वार्ता सकारात्मक निष्कर्षमा सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको बैठकमा दुवै अध्यक्षले मन माझामाझ गरेका थिए ।

छलफलमा दुवै अध्यक्षले पछिल्ला घटनाक्रमबारे खुलस्त छलफल गरेको र दुवै पक्षले वातावरणलाई सकारात्मक दिशातर्फ लैजान प्रयास गरिएको बताइएको छ। मङ्सिर ४ मा भएको समझदारी, त्यस यताका घटनाक्रमबारे दुई अध्यक्षबिच छलफल भएको थियो ।

शुक्रवार दुई अध्यक्षबिच करिब ४ घण्टासम्म भएको छलफलमा पार्टी महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मासमेत सहभागी थिए। पार्टी एकता प्रक्रिया लगायत यसअघिका निर्णायक वार्ताहरूमा सक्रिय रहेका पौडेल र शर्मालाई समेत साक्षी राखेर गरिएको शुक्रबारको लामो वार्ता निर्णायक हुने अपेक्षा गरिएको थियो।

स्रोतका अनुसार दुई अध्यक्षबिच भएको छलफलमा पुराना केही सहमति कार्यान्वयन गर्दै केही नयाँ सहमति हुने भएको छ । अब हुने सहमति भने लिखित हुने भएका छन् ।

स्रोतले जनाए अनुसार, पुराना सहमति मध्ये मङ्सिर ४ मा भएका सहमतिलाई कार्यान्वयन गर्ने जसअनुसार अध्यक्ष प्रचण्डलाई पूर्ण कार्यकारी अधिकार दिने र पार्टी संचालनमा दखल नगर्ने भनिएको छ ।

त्यस्तै सोही सहमति अनुसार प्रधानमन्त्री ओलीले पुरै कार्यकाल सरकार चलाउने तर पार्टीको म्यान्डेट बाहिर जान नपाइने, सरकार संचालनका लागि ५ सदस्यीय कार्यदल गठन गर्ने कार्यदलमा पार्टीका शीर्ष नेताहरू वरिष्ठ नेताद्वय माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम लगायतका नेता रहने बताइएको छ ।

नयाँ सहमति अनुसार केही मन्त्रीहरू (कार्यदक्षताका आधारमा) परिवर्तन गर्ने, केही मुख्यमन्त्रीहरू परिवर्तन गर्ने, पार्टीका मुख्य पाँच नेताहरूले कार्यदल बनाएर सरकार संचालनमा सहजीकरण गर्ने, प्रधानमन्त्री ओलीले कार्यदलले दिएको सुझाव अनुसार सरकार संचालन गर्ने सहमति भएको र केही नयाँ सहमति शनिवार बिहान गर्नेगरी शुक्रबारको बैठक सकिएको छ । शनिबार बिहान स्थायी कमिटिको बैठक अगाडी सहमतिहरू टुंग्याउने छलफल भएको बताइएको छ ।

यससँगै नेकपामा देखिएको पछिल्लो संकट टरेको नेताहरूले बताएका छन् । पार्टी विभाजनतिर जाने संकेत देखिएपछि दबाब स्वरूप पार्टीका युवा नेताहरूले कार्यालयमा धर्ना दिने देखि सामूहिक छलफल गरेका छन् ।

लामो समयदेखि नेकपामा देखिएको तिक्तता आइतबार प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा दिएको विवादित भाषणले उत्कर्षमा पुगेको थियो । जारी नेकपाभित्रको आन्तरिक विवाद स्थायी समिति बैठकमा थप उत्कर्षमा पुगेको थियो । बैठकमा प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर चर्को आलोचना हुनुका साथै उनको राजीनामा समेत मागिएको थियो।

शनिवार बालुवाटारमा भएको छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्माले संयोजन गरेका थिए । उनीहरू दुई जना त्यहाँ उपस्थित हुनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको थियो । पार्टी एकीकरणका क्रममा २०७५ साल जेठ २ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबिच पाँच बुँदै सहमति भएको थियो। दुवै पार्टीका अध्यक्षहरूबिच भएको उक्त सहमतिका साक्षी पौडेल र शर्मा थिए ।

पार्टी एकता संकटमा परेको वर्तमान अवस्थामा फेरि उनीहरूले गरेको सहमतिको प्रयास सफल भएको मानिएको छ ।