ओलीको प्रस्ताव नेम्वाङले गरे अस्वीकार, थपियो ओलीको तनाव - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ओलीको प्रस्ताव नेम्वाङले गरे अस्वीकार, थपियो ओलीको तनाव



काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रस्ताव संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अस्विकार गरेका छन् । वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धाबाट बाहिरिए राष्ट्रपति बनाउने ओलीको प्रस्ताव नेम्वाङले अस्विकार गरेका हुन् ।

सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन ओलीले दिएका थिए तर उनले अस्विकार गरेर वरिष्ठ उपाध्यक्षमै लड्ने तयारी गरेका छन् । उनको यो तयारीले ओलीलाई थप तनाव थपिएको छ । दसौं महाधिवशेनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका नेम्वाङलाई हालका महासचिव इश्वर पोखरेलका लागि सहज बनाउन ओलीले प्रतिस्पर्धामा नआउन भनेका थिए ।

ओली निकट नेताहरूले नेम्वाङलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवार नबन्न दबाब दिइरहेको बताइएको छ । इश्वर पोखरेल लगायतका नेताहरूले नेम्वाङलाई पार्टीमा बसेर आगामी निर्वाचनपछि राष्ट्रपतिको तयारी गर्न भनेको स्रोतले जानकारी दियो । ‘नेम्वाङलाई ‘तपाईं राष्ट्रपति हुने मान्छे हो । राष्ट्रपति हुने मान्छेले कार्यकारिणीमा किन लड्नुहुन्छ । पार्टीमा बसेर राष्ट्रपतिको तयारी गर्नुपर्छ’ भन्नुभएको रहेछ,’ नेम्वाङ निकट स्रोतले भन्यो ।

नेम्वाङले आफू वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बन्ने कुरा ओलीलाई जानकारी गराएको बताइएको छ । ‘हिजो तपाईंका लागि त्यति योगदान गरियो । पार्टीमा सहयोग गरियो अब मलाई सहयोग गर्नुस् भनेर नेम्वाङले अध्यक्षलाई भेटेर फर्किनुभएको छ,’ ती नेताले भने ।

पार्टी नेतृत्वलाई एकताबद्ध बनाएर लैजानका लागि कसलाई के पदमा ल्याउने भन्नेबारे प्रस्ताव बन्दसत्रको हलमा राख्न पनि नेम्वाङले अध्यक्ष ओलीलाई आग्रह गरेको बताइएको छ । ओलीले भने त्यसको कुनै प्रतिक्रिया नदिएको बताइएको छ ।

वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत हुनका लागि पोखरेलले ओलीको साथ पाएको बताइएको छ । तर, नेम्वाङ लगायतका नेताहरूले भने आफू पनि उम्मेदवार बन्ने अडान लिएपछि पोखरेल र ओली अप्ठ्यारोमा परेका छन् ।

अध्यक्ष ओलीले फेरि नेम्वाङ, पोखरेल, पौडेल, विष्णु रिमालसँग छलफल गरिरहेका छन् ।

अध्यक्षमा भने ओलीविरुद्ध उपाध्यक्ष भीमबहादुर रावलले उम्मेदवारी दिने तयारी गरेका छन् । त्यस्तै, महासचिव पदमा ओली निकट मानिएका विष्णु पौडेल र शंकर पोखरेलका साथी सुरेन्द्र पाण्डेले पनि दाबी गरिरहेका छन् ।