नेपाल एयरलाइन्सको चरम लापरवाही- पर्यटनमन्त्रीका प्रश्नै प्रश्न - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेपाल एयरलाइन्सको चरम लापरवाही- पर्यटनमन्त्रीका प्रश्नै प्रश्न



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई पाँच पश्न सोधेका छन् । एक सातामा भएका नेपाल एयरलाइन्सको लापरवाहीको बारेमा थप प्रश्न गरेका छन् ।

उनले सोमबार सामाजिक सञ्जालमार्फत नेपाल एयरलाइन्सलाई चार्टर उडानबाट निगमलाई पर्न गएको भार, दिल्लीमा पांग्रा पन्चर हुँदा तत्काल पाटपूर्जा व्यवस्था गर्न किन नसेकेको र काठमाडौं–दुबई फ्लाइटका समयमा किन पाइलटको तत्काल व्यवस्था गर्न नसकेको भन्नेबारेमा थप प्रश्न सोधेका छन् ।

यसअघि, मन्त्री किरातीले गत २० गते एक सातामा भएको तीन लापरवाहीको बारेमा गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।

यी हुन् मन्त्रीले नेपाल वायुसेवा निगमलाई सोधिएका प्रश्नहरु :

१. चार्टर फ्लाइटबाट निगमलाई आर्थिक भार के कति पर्न गएको हो ? स्पष्ट नभएकोले पुनः स्पष्ट बनाउने ।

२. नेपाल एयरलाइन्सको हवाइजहाजको दिल्लीमा पाङ्ग्रा बिग्रेको कारण जहाज उडानमा ढिलाइ भएको सम्बन्धमा पाङ्ग्रालगायत सानातिना पार्टपूर्जाको व्यवस्था निगमको उडान हुने गन्तव्यमा किन राख्न नसकिएको हो ? साथै यसबाट आर्थिक भार के कति पर्न गयो ?

३. काठमाडौं–दुबई सेक्टरमा पाइलटको अभावले जहाज उडानमा ढिलाइ भएको जानकारी प्राप्त भएको सन्दर्भमा जानकारी प्राप्त हुँदाहुँदै पाइलटको व्यवस्था किन गर्न नसकिएको हो ? यसबाट संस्थालाई के कति आर्थिक भार पर्न गयो ?

४. एयरपोर्टमा सामान हराइरहेका गुनासो बारम्बार आइरहेकोले सोलाई नियन्त्रण गर्ने कार्य योजना के कस्तो छ ? पेस गर्ने ।

५. म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पद बहालीपश्चात् टुइनेटर जहाज कतिपटक ग्राउन्डेड भयो ? यसबाट संस्थालाई आर्थिक भार कति पर्न गयो ? अब आगामी दिनमा यस्तो हुन नदिने कार्य योजना हुनुपर्छ कि पर्दैन ? पेस गर्ने ।