नेपाल र अस्ट्रेलियाबीच हवाई उडान सम्झौता: सातामा ७ उडान - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेपाल र अस्ट्रेलियाबीच हवाई उडान सम्झौता: सातामा ७ उडान



काठमाडौं- नेपाल र अस्ट्रेलियाबीच हवाई उडान सम्झौता भएको छ । हप्ताको सात उडान गर्ने पाउने गरी हवाई सेवा सम्झौता भएको हो ।

दुवै देशका तोकिएका वायुसेवाले जुनसुकै आकारको जहाज प्रयोग गरी हप्ताको सात उडान गर्ने पाउने गरी हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ।

क्यानडाको मन्ट्रियलस्थित अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मुख्यालयमा नेपाल र अस्ट्रेलियन सरकारका प्रतिनिधिबीच आज मंगलबार उक्त हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको हो।

सम्झौतामा नेपालका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य र अस्ट्रेलियाका तर्फबाट सङ्घीय पूर्वाधार, यातायात, सहरी एवं क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जिम वल्फेले हस्ताक्षर गरेका छन्।

सहसचिव आचार्यका अनुसार सम्झौतापछि नेपालबाट तोकिएका वायुसेवा कम्पनीले काठमाडौंबाट अस्ट्रेलियाका सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थका लागि हप्तामा सात उडान गर्न पाउनेछन्। तर, तीबाहेक अन्य विमानस्थलमा भने असीमित संख्यामा उडान गर्न पाउनेछन्।

त्यसैगरी अस्ट्रेलिया सरकारले तोकेका वायुसेवा कम्पनीले काठमाडौंका लागि सातामा सात उडान गर्न पाउनेछन्। त्यसबाहेक सातामा थप २८ उडान भने पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि गर्न पाउने आचार्यले जानकारी दिए।

‘नेपालका लागि यो हवाई सेवा सम्झौता एउटा कोसेढुङ्गो साबित हुनेछ,’ आचार्यले क्यानडाबाट टेलिफोनमा नेपालन्युजसँग भने, ‘यसबाट नेपालको पर्यटनदेखि अर्थतन्त्रमा पनि सकारात्मक योगदान पुग्ने विश्वास छ।’

उनका अनुसार दुवै पक्षका तोकिएका वायुसेवाले जुनसुकै प्रकारको जहाज प्रयोग गरी आफूले निर्धारण गरेको उडान संख्या वा क्षमतामा कार्गो उडान पनि गर्न पाउनेछन्।

त्यसैगरी दुवैतर्फका तोकिएका वायुसेवाले दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र मध्यपूर्वका कुनै दुई विन्दु उपयोग गर्दै मध्यवर्ती विन्दु भएर पाँचौं ट्राफिक अधिकार उपयोग गर्न पाउने सम्झौतामा उल्लेख छ।

नेपाली पक्षका वायुसेवाका हकमा अस्ट्रेलियाका गन्तव्य विन्दुभन्दा पर न्युजिल्यान्डका दुई विन्दुमा पाँचौं ट्राफिक अधिकार प्रयोग गर्न पाउनेछन्। उता अस्ट्रेलियाका पक्षमा भने तोकिएका वायुसेवाले भारतको नयाँदिल्लीबाहेक नेपालका गन्तव्य विन्दुभन्दा पर अन्य दुई विन्दुमा पाँचौं ट्राफिक अधिकार प्रयोग गर्न पाउने सम्झौता भएको छ।

दुवै पक्षका तोकिएका वायुसेवाले असीमित संख्या र क्षमतामा तोकिएको मार्ग सारिणीमा पाँचौं ट्राफिक अधिकार प्रयोग गर्न पाउने पनि सम्झौता भएको छ।

त्यस्तै दुवै पक्षका उड्डयन प्राधिकरणको पूर्वस्वीकृतिमा आ-आफ्ना तोकिएका वायुसेवाले उडान सुरक्षा, सहजता र यात्रु अधिकारलाई ध्यानमा राखेर तेस्रो पक्षीय कोड सेयर गरेर समेत उडान सञ्चालन गर्ने सम्झौता भएको सहसचिव आचार्यले जानकारी दिए।

त्यसबाहेक भविष्यमा उडान संख्या अपुग भए समझदारीमा भएको प्रावधानले बाधा पुगे तत्काल वार्ता गर वा पत्राचार गरी समझदारी गर्न सकिने आचार्यले बताए। फाइल तस्बिर