नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुकको सुचीमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुकको सुचीमा



हिमाल पोस्ट /काठमाडौ १२ माघ । 

नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुकको सुचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचकांक २०१६ ले आज सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल २९ अंक पाएर १ सय ३१ औं स्थानमा छ ।

गत वर्ष १६८ देशलाई समावेश गरिएको सूचकांकमा नेपाल २७ अंकसहित १३० औं स्थानमा थियो । नेपालले गत वर्ष पाएको अंक भन्दा २ अंक बढी पाउनुले सामान्य सुधार आएको हो कि भन्ने देखिएको छ ।

तर नेपालले पाएको अंकमा भएको थोरै फेरबदलले भ्रष्टाचारमा कमी आएको भन्न नमिल्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । यो अध्ययनमा १७६ देशलाई समावेश गरिएको थियो ।

यो वर्ष भ्रष्टाचार अवधारणा सूचकांकमा रहेका १०० भन्दा बढी देशले ५० भन्दा कम अंक पाएकाले पनि विश्वव्यापी रुपमा रहेको भ्रष्टाचारमा सुधार नदेखिएको विश्लेशकहरुको भनाई छ ।

दक्षिण एसियाली मुलुकमा भूटान ६५ अंकसहित सबै भनदा कम भ्रष्ट मुलुक बनेको छ । भुटान भ्रष्टाचार अवधारणा सूचकांकको २७ औं स्थानमा छ । यस्तै भारत ४० अंकसहित ७९ औ, माल्दिभ्स र श्रीलंका ९५ औं स्थानमा छन् ।

सुचकांक अनुसार ३२ अंक पाएको पाकिस्तान नेपाल भन्दा अगाडि १ सय १६ औं स्थानमा छ भने बंगलादेश १४५ औं स्थानमा तथा अफगानिस्तान १५ अंक सहित एक सय ६९ स्थानमा छ ।

सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र न्यूजिल्याण्ड परेका छन् । दुबै देशले समान ९० अंक पाएका छन् भने १० अंक मात्र पाएको सोमालिया विश्वकै भ्रष्ट मुलुकमा सुचिकृत भएको छ।