नेपाल भारत इन्धन आपूर्ति सम्झौता पाँच वर्षका लागि नवीकरण - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

नेपाल भारत इन्धन आपूर्ति सम्झौता पाँच वर्षका लागि नवीकरण



काठमाडौँ, चैत १५ गते । 

नेपाल र भारतबीच इन्धन आपूर्ति गर्नेसम्बन्धी सम्झौता पाँच वर्षका लागि नवीकरण भएको छ ।  आपूर्तिमन्त्री दीपक बोहरा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा सोमवार नयाँदिल्लीमा उक्त नवीकरण सम्झौता भएको हो ।  आपूर्ति मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठका अनुसार नवीकरण सम्झौतानुसार अब नेपाललाई मागेजति इन्धन भारतीय आयल कर्पाेरेसन (आइओसी)ले उपलब्ध गराउनेछ ।

नेपाललाई उपलब्ध गराइने इन्धन हालको तुलनामा नेपाल–भारतसीमा सुनौली र वीरगन्ज क्षेत्रबाट नजिक सुविधासम्पन्न र ठूला डिपो राखिने र त्यसबाट नेपाललाई वार्षिक रुपमा एक अर्ब रुपैयाँभन्दा बढी रकम बचत हुने उहाँले जानकारी दिनुभयो ।

भारतबाट नेपाललाई इन्धन उपलब्ध गराएबापत प्राप्त गर्ने नाफाको सीमा शून्य दशमलव पाँच प्रतिशत घटाउन मन्जुर गरिएको छ ।  त्यसबाट नेपालमा ल्याइने इन्धन आपूर्तिको लागत अहिलेको तुलनामा कम हुनेछ ।  नेपाल र भारतबीच इन्धन आयात गर्ने सम्बन्धमा सहमतिमा पुग्न अप्ठ्यारो भएमा तेस्रो पक्षको मध्यस्थतालाई स्वीकार गरिने विषय पनि सम्झौतामा परेको उल्लेख छ ।

नेपालले भारतसँग वार्षिक रुपमा रु एक खर्बभन्दा बढी मूल्यको इन्धन आयात गर्दै आएको छ ।  नेपाल र भारतबीच रक्सौलदेखि अमलेखगन्जसम्म पेट्रोलियम पदार्थ पाइपमार्फत उपलब्ध गराउने सहमति भएअनुरुप काम अघि बढिरहेको छ ।  इन्धनसम्बन्धी सहमतिका लागि नेपाल आयल निगमको टोली आइतबार नयाँ दिल्ली पुगेको थियो ।  रासस