नेपाल र चीनबीच पारवहन सन्धिको प्रोटोकल छलफल सुरु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेपाल र चीनबीच पारवहन सन्धिको प्रोटोकल छलफल सुरु



हिमाल पोस्ट / मंसिर, काठमाडौं ।
नेपाल र चीनबीच गत वर्ष भएको पारवहन सन्धि कार्यान्वयन गर्न सन्धिको प्रोटोकलका लागि द्विपक्षीय छलफल सुरु भएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा द्विपक्षीय बैठक सुरु भएको हो । नेपालले प्रोटोकलको मस्यौदा चिनियाँ पक्षसमक्ष राखेको र त्यसमा छलफल चलिरहेको ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले बताए ।

सन्धिको प्रोटोकल तय गर्ने पहिलो बैठक भएकाले कुन बन्दरगाह प्रयोग गर्ने, कुन रेलमार्ग तथा सडकमार्ग हुँदै सामग्री ल्याउनेजस्ता विषयमा छलफल प्रवेश नै नभएको कार्कीले बताए । ‘त्यति विस्तृतमा छलफल पुगेकै छैन । प्रोटोकलमा के–के शीर्षक रहने भन्ने संरचनाको विषयमा नेपालले प्रस्ताव राखेको छ,’ महावाणिज्यदूत कार्कीले भने, ‘प्रोटोकल बनाउने विषय जटिल हो । हामीले मस्यौदा राखेका छौँ । भोलि पनि छलफल हुनेछ ।’

पारवहनको प्रोटोकलको मस्यौदा नेपाली पक्षले चिनियाँ पक्षसमक्ष प्रस्तुत गरे पनि कुन बन्दरगाह प्रयोग गर्नु नेपालका लागि नजिक र मितव्ययी हुन्छ भन्ने अध्ययन भने नगरेको टिमका एक सदस्यले बताएको को आजको नयाँ पत्रिकामा समाचार छ ।

गत वर्ष मार्चमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको पारवहन सन्धिपछि नेपाल र चीनबीच प्रोटोकलको विषयमा भएको यो पहिलो बैठक हो ।

यसअघि तय भएका दुई बैठक स्थगित भएका थिए । १ देखि ४ मंसिरसम्म तय बैठकमा औपचारिक छलफल भने बिहीबारबाट मात्र सुरु भएको हो । नेपालका तर्फबाट बैठकको नेतृत्व वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैँजूले गरेका छन् ।

टोलीले नेपालबाट चीन हुँदै नेपालमा सामान ढुवानी गर्ने सुविधासम्बन्धी प्रोटोकलको विषयमा पनि छलफल गरेको छ । चीनसँग सन् १९९४ मा नेपालबाट चीन हुँदै नेपाल सामग्री ढुवानी गर्नेसम्बन्धी सम्झौता भएको थियो ।