नेपालमा भेटिएको कोरोनाको नयाँ प्रजाती अत्यन्त संक्रामक: यस्तो छ स्वास्थ्य मन्त्रालयको अपील - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपालमा भेटिएको कोरोनाको नयाँ प्रजाती अत्यन्त संक्रामक: यस्तो छ स्वास्थ्य मन्त्रालयको अपील



काठमाडौं- नेपालमा कोभिड-१९ को नयाँ म्युटेसन भेटिएको छ। यो अझ संक्रामक र सबै उमेरका व्यक्तिलाई असर गर्ने रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार, कोरोनाभाइरसको संक्रमण भएका विभिन्न उमेर समूहका ४८ जनाको नमूना परीक्षणका लागि भारतको नयाँ दिल्लीस्थित ‘द इन्स्टिच्यूट अफ जेनोमिक्स एन्ड इन्टेग्रेटिभ बाइलोजी (आईजीआईबी)’मा पठाएको थियो। त्यहाँ गरिएको जिनोमिक पहिचान गर्दा ४७ नमूनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जनाएका छन्। त्यस्तै, एउटा नमूनामा अल्फा भेरियन्ट पुष्टि भएको छ। 

डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये नौ वटामा थप उत्परिवर्तन ‘के–४१७ म्युटेसन’ भेटिएको जनाइएको छ। यसलाई ‘एवाई–१’ नाम दिइएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, यो ‘एवाई–१’ म्युटेसन नेपालसहित १० देशमा भेटिएको छ। यो संक्रामक पनि रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

अहिले नेपालमा नयाँ म्युटेसन ‘एवाई–१’ सहित डेल्टा, अल्फा र कप्पा भेरियन्ट रहेको स्वास्थ्य मन्त्रालय सहप्रवक्ता डा. अधिकारीले बताए। यी सबै भेरियन्ट र म्युटेसन झन् संक्रामक रहेको जनाइएको छ। 

स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी सचेत रहन आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको छ। त्यसैले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन भूमिका बढाउन सबैको जानकारीका लागि विनम्र अपील गर्दछौं।”