नेपालको गणतन्त्र दिवसलाई अमेरिकी राज्य सरकारबाट 'नेपाल डे' घोषणा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नेपालको गणतन्त्र दिवसलाई अमेरिकी राज्य सरकारबाट ‘नेपाल डे’ घोषणा



गोकुल श्रेष्ठ, न्यूयोर्क– अमेरिकाको न्यूयोर्क राज्यको विधान सभाले नेपालको गणतन्त्र दिवसलाई ‘नेपाल डे’ को रुपमा मनाउने घोषणा गरेको छ । न्यूयोर्क राज्यले प्रत्येक वर्षको मे २९ तारिखलाई नेपाल डे को रुपमा मनाउने घोषणा गरेको हो ।

अमेरिकामा रहेका नेपाली तथा नेपाली मूलका अमेरिकनहरुको पहिचान तथा सम्मान स्वरुप ‘नेपाल डे’ घोषणा गरिएको हो । यो घोषणासँगै अमेरिकामा रहेका नेपाली एवं नेपाली मूलका अमेरिकनहरुको आफ्नो भाषा, संस्कृति एवं पहिचानले सरकारी मान्यता पाएको छ । जसले गर्दा नेपालीहरुको पहिचान अव सरकारी तवरबाटै संरक्षित भएको छ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा करिव चार लाखको हाराहारीमा नेपालीहरुको बसोबास रहेको छ । त्यसमध्ये अधिकांश नेपालीहरु न्यूयोर्क राज्यमा बस्ने गरेको विभिन्न तथ्यांकले देखाएको छ ।

अमेरिकी राज्य सभाको यो घोषणासँगै न्यूयोर्कमा रहेका नेपालीहरुले मे २९ लाई विशेष दिनको रुपमा मनाउने तयारी गरेका छन् । ‘नेपाल डे’ घोषणाका लागि विशेष भूमिका खेलेको नेपाल आदिवासी जनजाति महासंघ अमेरका (फिप्ना) को संयोजकत्वमा नेपाल डे २०२१ मूल आयोजक समिति निर्माण भएको छ । यो समितिमा न्यूयोर्कमा रहेका सबैजसो संघसंस्थाहरु सदस्यको रुपमा रहेका छन् । आयोजक समितिले सोमबार न्यूयोर्कमा गरेको पत्रकार सम्मेलनमा ९४ सदस्यीय मूल आयोजक समिति घोषणा गरिएको छ ।

न्यूयोर्कको क्वीन्समा आयोजना गर्न लागिएको विशेष समारोहलाई सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । समितिले पत्रकार सम्मेलन मार्फत विशेष कार्यक्रमको विस्तृत जानकारी दिएको छ । कार्यक्रम नेपाली पहिचान सहितका झाँकी सहित क्वीन्सको ब्रड वे मा -याली गरी विशेष सभामा परिणत हुने समितिले जनाएको छ ।

त्यस्तै समितिले न्यूयोर्कमा रहेका सम्पूर्ण नेपालीहरुलाई उक्त दिन कार्यक्रममा सहभागि हुन आव्हान गरेको छ । ‘हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने मूल नाराका साथ मनाउन लागिएको विशेष समारोहमा नेपाली महावाणिज्य दुतावास संरक्षक रहेको छ । समितिका संयोजक लोक चेम्जोङ र सदस्य सचिव नरेन्द्र थापाले जारी गरेको विज्ञप्तीमा भनिएको छ- “हामी नेपालीहरूले पुस्तौ पुस्ता सम्म पनि नेपाली अमेरिकन पहिचानका साथ रहने कुरालाई यहाँको प्रदेश (राज्य) सरकारको तहवाट “नेपाल डे” को रूपमा सम्बोधन भएको छ । सर्वप्रथम विधानसभा बैठकमा प्रस्ताव राख्नुहुने न्यूयोर्क राज्य विधानसभा सदस्य जेनिफर राजकुमार प्रती हार्दिक धन्यवाद व्यक्त गर्दछौ । यो प्रस्तावको लागी नेपाल डे किन ? भन्ने विषयमा अध्ययन अनुसन्धान गरी नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाको प्रस्ताव लेखनमा सहयोग पुर्याउनुहुने लोक चेम्जोङ, नरेन्द्र थापा, दिपेन्द्र लामा, आरती मगर र सजिना श्रेष्ठ प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।”

फिप्नाको विशेष समितिले नेपालको गणतन्त्र दिवस तथा विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाईला पुगेको दिन मे २९ लाई नेपाल डेको रुपमा मान्यता दिन आग्रह गरेको थियो । फिप्नाको आग्रहलाई विधानसभाले रिजोलुसन मार्फत सम्बोधन गरेको हो ।

अमेरिकाको न्यूयोर्कमा नेपाली पहिचानका लागि नेपाल डे परेड भने २०१६ देखि गर्न सुरु ग्रिएको थियो । न्यूयोर्क सिटीले यसलाई मान्यता दिएको भए पनि अहिले भने राज्यसभाले नै यसलाई मान्यता दिएको छ । यद्यपी नेपाल डे परेड र आगामी मे २९ मा गर्न लागिएको विशेष कार्यक्रम नितान्त भिन्नै प्रकृतिका हुन् । आगामी वर्ष गरिने यो संग सम्बन्धित कार्यक्रम एउटै मञ्चमा हुने आयोजकको दावी छ । यद्यपी दुवै संस्था यो कार्यक्रम प्रति एक भएका छन्, जसले आगामी दिनमा नेपाली डायस्पोरालाई एकतावद्ध बनाउने संकेत गरेको छ ।