नेपाल आईडलका बिजेताहरु एडीलेड आउँदै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेपाल आईडलका बिजेताहरु एडीलेड आउँदै



साउथ अस्ट्रेलिया/ १२ मंसिर 

थ्री केजी इन्टरटेनमेन्ट ग्रुपको आयोजनामा हुन लागेको साङ्गीतिक कार्यक्रम ‘कल्चरल फेस्टिव विथ नेपाल आईडल’कार्यक्रमको लागि नेपाल आईडलका बिजेताहरु आफ्नो प्रस्तुति दिन एडीलेड आउने भएका छन्। यही डिसेम्बर २३ तारिकको दिन बेलुका ५ बजे बाट उडबिल टाउन हलमा हुने उक्त कार्यक्रमको लागि नेपाल आईडल बुद्ध लामा , फस्ट रनर अप निशान भट्टराई र सेकेण्ड रनर अप प्रताप दासले आफ्नो साङ्गीतिक प्रस्तुति दिने जानकारी पत्रकार सम्मेलन मार्फत आयोजकहरुले दिएका छन्।

क्वीनसफोर्ड कलेज र मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेसको मुख्य प्रयोजनमा हुन लागेको उक्त कार्यक्रममा साउथ अस्ट्रेलियामा रहेका नेपाली कलाकारहरूको समेत सांस्कृतिक प्रस्तुति रहेको आयोजक ग्रुपका खुम घलेले बताए। कार्यक्रमको बारेमा बताउँदै उनले भने ” आकर्षक भेनुमा हामीले बृह्यत तयारीका साथ नेपाल आईडलका बिजेताहरु र यहाँ रहेका कलाकारहरूको सांस्कृतिक प्रस्तुति समावेश गरेर दर्शकहरुलाई पूर्ण रूपले मनोरञ्जनको प्याकेज प्रदान गर्दैछौ।

मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेसका एडीलेड ब्रान्च म्यानेजर एन्जल पाण्डेले नेपाली कला संस्कृति र सङ्गीतलाई प्रवर्धन गर्नको निम्ति यस प्रकारको कार्यक्रमहरूमा सहयोग गर्न पाउँदा आफूहरू उत्साहित भएको बताए। एडीलेडमा भर्खरै शाखा विस्तार गरेको मेट्स इन्टरनेशनल एजुकेशन भिसा सर्भिसेसका पाण्डेले भने ” हामी व्यवसायसँगै सामाजिक उत्तरदायित्वमा सधैँ यहाँका संघसंस्थाहरुसँग सँगै सहयात्रा गर्ने छौ। ” पाण्डेले एडीलेडका सम्पूर्ण दर्शकहरुलाई कार्यक्रममा आउनको निम्ति समेत आग्रह गरेका छन्।

लोक दोहोरी र अन्य विविध सांस्कृतिक कार्यक्रमहरू समेत समावेश गरिएको उक्त कार्यक्रमको टिकट शुल्क भने ३० डलर राखिएको छ। कार्यक्रम सञ्चालनको निम्ति नेपाल आईडल टिभी सोका प्रस्तोता सुशील नेपाल समेत आउने आयोजकहरुले बताएका छन्। थ्रीकेजीले यस अगाडी पनि एडीलेडमा नेपथ्य , बिपुल क्षेत्री लगायतका ब्याण्डहरुको साङ्गीतिक लाईभ स्वाद एडीलेडको दर्शकलाई पस्किएको थियो।