नेपाल भारतको सम्बन्ध सुधार गर्न निरन्तर संवादमा जोड - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेपाल भारतको सम्बन्ध सुधार गर्न निरन्तर संवादमा जोड



अर्जुन खनाल /ईन्द्र कमल जैरु ,नयाँ दिल्ली: नेपाल-भारतका युवाहरूले दुवै देशबिचको सामाजिक-आर्थिक सम्बन्धलाई मजबुत बनाउनका लागि दुवै देशका युवाहरूबिच निरन्तर संवाद हुनुपर्नेमा जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानले मङ्गलवार भारतको राजधानी दिल्लीस्थित कन्स्टीट्युशनल क्लबमा आयोजना गरेको भारत-नेपाल सामाजिक-आर्थिक युवा संवाद कार्यक्रममा विभिन्न वक्ताहरूले दुवै देशका युवाहरूबिचको निरन्तर संवादले सम्बन्ध नयाँ उचाइमा पुग्ने बताएका हुन ।

समारोहमा बोल्दै पुर्व अर्थ राज्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले नेपाल-भारतबिच राजनीतिक मतभेद रहेपनि जनता-जनताबिच मतभेद नरहेको बताउनुभयो । उहाँले भारतमा अध्ययनका लागि आउने विद्यार्थी एवं रोजगारीका लागि आउने नेपालीहरूले स्वदेशमै रहेको जस्तो अनुभव गर्ने गरेको बताउनुभयो । राणाले नेपाल र भारतको संयुक्त पहलमा सुरु भएका ऊर्जा परियोजनाहरूले नेपालको आर्थिक विकासमा लाभ पुग्ने बताउनुभयो ।

दिल्लीस्थित नेपाली दूतावासका राजनीतिक काउन्सलर हरि ओडारीले सामाजिक-आर्थिक सम्बन्ध थप बढाउन यस प्रकारका संवाद कार्यक्रमहरू भईरहनुपर्ने बताउनुभयो । त्यसैगरि बीजेपीका राष्ट्रिय मिडिया प्रभारी रोहित चहलले दुवै देशको सम्बन्ध विश्वका अन्य कुनै पनि देशभन्दा फरक रहेको भन्दै यसलाई अझ मजबुत बनाउनका लागि भारत-नेपालका युवाहरूको संवाद निरन्तर भइरहनुपर्ने बताउनुभयो ।

दिल्लीस्थित साउथ एसियन युनिभर्सिटीका प्राध्यापक युवराज पोखरेलले नेपाल-भारतबिचको सुमधुर सम्बन्धलाई कायम राख्न नेपालका नेताहरूले भारत विरुद्ध गैर-जिम्मेवारीपूर्ण टिप्पणी दिन बन्द गर्नुपर्ने भनाई राख्नुभयो । प्रतिष्ठानका संयोजक सन्दीप रानाले नेपाल-भारत सम्बन्ध दुवै देशका लागि महत्त्वपूर्ण भएको बताउनुभयो । नेपालको आर्थिक विकासका लागि नेपाल-भारतबिच हुनसक्ने सम्भावित सहकार्यका क्षेत्रबारे वक्ताहरूले राखेको धारणाबारे बोल्दै रानाले कृषि, जलस्रोत, पर्यटन र जडीबुटीको क्षेत्रको विकास महत्त्वपूर्ण सम्भावना हुनसक्ने बताउनुभयो ।

समारोहमा विभिन्न पेसामा सम्मिलित नेपाल-भारतका युवाहरूको उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानले नेपाल-भारतका विभिन्न मुद्धामा दुवै देशका युवाहरूबिच संवाद कार्यक्रम गर्दै आएको छ ।