नेपालकै नम्बर एक पार्टी काँग्रेसको भविष्य कता तिर? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेपालकै नम्बर एक पार्टी काँग्रेसको भविष्य कता तिर?



कर्ण बहादुर अधिकारी हाल मकाउ,चीन।
राष्ट्रियता,लोकतन्त्र र समाजवादलाई आत्मसात गर्दै अगाडी बढेको पार्टी नेपाली काँग्रेस नेपालको भौगोलिक,राजनीति एवं सामाजिक बनावटका आधारमा नेपालकै भूगोलमा स्थापना गरिएको पार्टी हो भन्ने कुरामा दुई मत नै छैन तर त्यही मूल मन्त्र राष्ट्रियता,लोकतन्त्र र समाजवादलाई नै धराशायी बनाउदै पार्टी मुलधारबाट बाहिरीएर अगाडी बढी रहदा पार्टीको भविष्य कता तिर जादै छ र के होला भन्ने विषयमा कांग्रेसी हुँ भनेर स्वदेश तथा विदेशमा कार्यरत रहेका आम कार्यकर्ताको मन भित्र चिन्ता र प्रश्नहरू सृजित भएका छन्।आज यसै सन्दर्भमा केही चर्चा गरौँ।

राष्ट्रियताको सवालमा जननायक बीपी कोइरालाले भारतीय बिस्तारबादलाई चुनौती दिँदै नेपाल फर्किए लगतै राष्ट्रका हित र भारतीयहरूका विरुद्धमा कदम चालेका थिए तर आज त्यही काँग्रेस पार्टीका बागडोर सम्हाल्नेहरू नै भारत परस्त हुँदै राष्ट्रियताको विषयमा कम्जोर प्रस्तुतिका साथ कम्युनिस्टहरूको विश्वासमा परी भारत मुखि बनी रहेका छन्।वर्तमान अवस्थामा कांग्रेसलेमाओबादीलाई साथ दिएर प्रचण्ड सरकारको घोडा बन्नु,पार्टीको नेतृत्व पंक्तिहरूबाट संविधान संशोधनका विषयमा मौन बस्नुका साथै माओवादीलाई समर्थन दिनु,काँग्रेसको प्रतिनिधित्व गरी सरकारमा गएका मन्त्रीहरूले भारतमुखी भई भारतकै प्रतिनिधित्व गरे झैँ गरी बेला बेलामा बोलेका बिबादस्पद कुराहरू नेपाली सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा भाईरल भई रहनु जस्ता कयौ बिषयगत कुराहरूले सिङ्गो पार्टीलाई नै गम्भीर सङ्कटमा पार्दै आई रहेका छ।

पार्टी भित्रका आन्तरिक कुराहरूलाई सञ्चार माध्यममा ल्याउदा तपाईँ हामी सबैलाई खल्लो पना सृजित हुन्छ नै तर यो कुनै रहर नभएर बाध्यता हो भनेर बुझ्न जरुरी छ।जुन नहुने पर्ने कुराहरू छन् ती कुराहरू काँग्रेस पार्टी भित्र भई रहेको छ।अहिलेका युवा पिढीका नेताहरू शङ्कर भण्डारी,गगन थापा,प्रदीप पौडेल,विश्व प्रकाश शर्मा लगायत कयौ युवा नेताहरू मौन बस्दा लाग्छ जब सम्म नेतृत्व गर्नेहरूको बिचार परिवर्तन हुँदैन तब सम्म यिनीहरू मौन बसी रहनु पर्ने छ र पार्टीका हितका लागि युवा पिढीबाट कुनै शुभ समाचार र प्रतिक्रिया पाउने छैनौ।

पार्टीको केन्द्र देखि तल्लो तह सम्मका संरचनाहरूलाई के कसरी सुधार गर्न सकिन्छ र कसरी अगाडी बढाउने भन्ने चिन्ता कुनै नेतालाई छैन।काँग्रेस भित्र कोइराला परिवारको भूमिकाको अन्त्य भए सँगै पार्टी नै डगमगाएको हो की भन्ने स्थिति छ।१३औं महाधिवेशन सकिएको १ वर्ष पुग्नै लाग्दा कार्य समिति बिस्तार हुन नसक्नु सबै भन्दा लज्जा स्पद कुरा हो।पार्टी भित्रको आन्तरिक खिचातानी र सही नेतृत्व एवं सही व्यक्तित्व छान्न नसक्नु नै काँग्रेसको लागि अभिशाप बन्न पुगेको छ।सुशील कोइरालाको अन्त्य सँगै काँग्रेसको शाँख गिरेको अनुभूति आम कार्यकर्तालाई भएको छ।

विभिन्न काल खण्डमा काँग्रेसले गरेको गल्ती र कमी कम्जोरीलाई नेपाली जनताले बिचाराधीन अवस्थामा थाति राख्दै काँग्रेसलाई विश्वास गरी लाखौ लाख नेपाली जनताले काँग्रेसलाई नै भोट दिएर विजय गराउदै आई रहेको छ।जुन कुरा नेपाली जनताले २०७० सालको संविधान सभा चुनावमा पनि साथ दिएर विजय काँग्रेसलाई नै गराएर प्रमाणित गरी दियो तर आज देशमा त्यो स्थिति रहेन।देश अहिले केपी ओलीका राष्ट्रबादी भावनामा लीन भई जनमत एमालेको पक्षमा देखिएको छ।केपी ओलीको खोक्रो राष्ट्रबादको पछाडि जनता सत्य तथ्य नबुझिकनै लाग्नुले पनि काँग्रेसलाई असर गरी रहेको छ।

विगतमा काँग्रेस प्रति जनताकै समर्थन भएको कारण २०७० सालको चुनावमा विजय हुनुको साथै सुशील कोइरालाको नेतृत्व सरकारले २०७२सालमा देशमा संविधान जारी गर्न सफल भयो तर त्यही जारी भएको संविधानलाई कार्यान्वन गर्न नपाउदै संशोधनका लागि प्रस्ताव संसद्मा दर्ता हुनु र काँग्रेसले नै संशोधनको पक्षमा माओवादीको साथ लागेर समर्थन जनाउनु पक्कै पनि राम्रो कुरा होइन।प्रदेश सिमाङकन,भाषा देखि लिएर अंगिकृत नागरिकताको बारेमा हुन लागेको संशोधन प्रस्तावमा समर्थन गर्नु नै काँग्रेसले आफ्नो खुट्टामा आफै बन्चरो हाने सरह नै हो।

नेपाल सरकारले मधेसी मोर्चाले राखेका मागहरूलाई समाधान गर्दै अगाडी बढ्यो भने एक दिन नेपालको राष्ट्रियता नै धरापमा पर्ने छ।नेपालका राजनीतिक दलहरू पनि सजग हुन जरुरी छ।मधेसीहरूको माग पुरा हुनु नै भारतको मनोकांक्षा पुरा हुनु हो।भारतको नेपालमा माथिको हस्तक्षेप अझै बढ्ने छ।वर्तमान अवस्थामा भारतले नेपालको आकाशी मार्ग र एयरपोर्टमा भारतीय मार्सल सैनिक राख्न चाहनु हामी र हाम्रो राष्ट्र नेपाल माथिको ठाडो हस्तक्षेप हो।भारतीय राजदूत रन्जीत रे को त कुरा नगरौ यिनले त नेपाल सरकार र नेपाल माथि नै खुल्ला नाच प्रस्तुत गरी रहेको छ त्यस कारण नेपाली काँग्रेस भारत मुखि हुनुको साटो नेपाली जनताको भावना,राष्ट्र र राष्ट्रियताको हितमा लागेर अगाडी बढ्न सक्यो भने भविष्य सुनौलो छ यदि अहिलेकै अवस्था रही रहने र सञ्चार माध्यममा विवाद स्पद कुराहरू आई रहने हो भने औशीको रात झैँ अन्धकारमयी हुने छ।
जय नेपाल।