स्थानीय तह निर्वाचनको लागि नेपालको सशस्त्र प्रहरी र भारतीय (एसएसबी)को संयुक्त गस्ति - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

स्थानीय तह निर्वाचनको लागि नेपालको सशस्त्र प्रहरी र भारतीय (एसएसबी)को संयुक्त गस्ति



दिनेश ठाकुर\ नेपालगन्ज, २८ बैशाख

 

स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि बाँकेमा सुरक्षा सतर्कता अपनाइएको छ । पछिल्लो समय पहाडी जिल्लामा स्थानीय तहको निर्वाचन नजिकिएसँगै सीमाक्षेत्रमा नेपालीसँगै भारतीय सुरक्षा निकायले समेत सतर्कता अपनाएका छन् ।
सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीहरुको सहभागितामा संयुक्त गस्ती समेत हुने गरेको छ । सशस्त्र प्रहरी बलका अनुसार बिहिवार सीमा अपराध नियन्त्रण र सीमा स्तम्भ रेखदेखका लागि पिल्लर नम्बर २६ देखि ३० सम्मको सीमावर्ती क्षेत्रमा नेपालको सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलले संयुक्त गस्ति गरेको सशस्त्र प्रहरी बल कालाबञ्जरका सशस्त्र प्रहरी निरिक्षक राजेन्द्रबहादुर कुँवरले जानकारी दिए ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महेन्द्र नगर सुरक्षा पोष्ट कालाबञ्जर र भारतको सशस्त्र सीमा बलको कम्पनी हेडक्वार्टर मुन्सीपुर्वाका १३÷१३ जना सुरक्षाकर्मीको टोलीले बिहिवार संयुक्त गस्ति गरेको हो ।
संयुक्त गस्ति टोलीमा नेपाली टोलीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक कुँवर र भारतीय एसएसबीको नेतृत्व निरिक्षक तेजवन्त सिँहले गरेका थिए ।

सीमा ईलाकाको रेखदेख तथा सीमा अपराध नियन्त्रणका लागि नियमित संयुक्त गस्ती गरिँदै आइएको बताउँदै सशस्त्र प्रहरी निरीक्षक कुँवरले नियमित पनि मासिक दुईवटा संयुक्त गस्ति हुने जानकारी दिए ।

सीमा क्षेत्रमा संयुक्त गस्तिहरु यसअघि पनि पटक-पटक हुँदै आएकोमा यसपटक नेपालमा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी गरिएको हो ।

नेपालमा हुन लागेको पहिलो चरणको स्थानीय निर्वाचनलाई सुरक्षित, मर्यादित र पारदर्शी बनाउनका लागि सीमामा बिशेष निगरानी गर्नुका साथै संयुक्त गस्ती गर्न थालिएको सुरक्षा निकायले जनाएको छ ।पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा आइतबार हुने चुनावका लागि बाँकेमा बिशेष सुरक्षा सतर्कता अपनाइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले निर्वाचनको सुरक्षाका लागि जिल्लास्तरमा सुरक्षा योजना बनाएको जानकारी दिदै भारतीय सुरक्षा निकायसँग निरन्तर समन्वय भईरहेको जानकारी दिएका छन् ।