नेपाल स्थिरतातर्फ बढेकोमा चीन प्रसन्न - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नेपाल स्थिरतातर्फ बढेकोमा चीन प्रसन्न



 

काठमाडौं :
चिनियाँ उपप्रधानमन्त्री वाङ याङले अनेकौं कठिनाइबीच पनि नेपाल नयाँ संविधान जारी गरी राजनीतिक स्थिरतातर्फ अघि बढेको उल्लेख गर्दै प्रान्तीय र संसदीय चुनावका लागि शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार शीतल निवासमा एक घन्टा गरेको भेटमा चिनियाँ उपप्रधानमन्त्री वाङले नेपालका प्रमुख राजनीतिक दलले शान्ति र स्थिरताका लागि चालेका कदमप्रति चीनको पूर्ण समर्थन रहेको बताएका थिए । ‘चीन नेपालले आर्थिक प्रगति र समृद्धि हासिल गरेको हेर्न चाहन्छ । राजनीतिक स्थायित्वका लागि नेपालले चालेका कदमप्रति हाम्रो सहयोग र समर्थन रहन्छ’, भेटमा उनले भने ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएको चिनियाँ प्रतिनिधिमण्डललाई जानकारी गराएकी थिइन् । उनले २ असोजमा तेस्रो चरण स्थानीय तहको चुनावका साथै माघभित्र प्रादेशिक र संसदीय चुनावको तयारीमा सरकार जुटेको बताइन् । राष्ट्रपतिले नेपालका सबै राजनीतिक दल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको समेत विश्वास दिलाएकी थिइन् । ‘हामी नेपालमा चीनविरोधी गतिविधि हुन दिँदैनौं’, उनले भनिन् । राष्ट्रपतिले चिनियाँ ‘बेल्ट एन्ड रोड’ अवधारणामा नेपाल साझेदार बनिसकेको र चीनको आर्थिक प्रगतिबाट लाभ लिन चाहेको बताइन् ।
चिनियाँ उपप्रधानमन्त्रीले नेपाल-चीन सम्बन्ध बेल्ट एन्ड रोड अवधारणाको फ्रेमवर्कभित्र अघि बढेको बताए । ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्समा सहकार्यबाट नेपालले पर्याप्त लाभ लिने र त्यसबाट चीनलाई पनि फाइदा हुने हाम्रो विश्वास छ’, चिनियाँ उपप्रधानमन्त्री वाङले भने ।
सीको नेपाल भ्रमण छिट्टै
वाङ नेतृत्वको २१ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि बुधबार भेट गरेको छ । भेटमा चिनियाँ उपप्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङ छिट्टै नेपाल आउन इच्छुक रहेको बताए । ‘नेपालसँगको सम्बन्धलाई राष्ट्रपतिले उच्च महत्व दिनुभएको छ । उहाँ छिट्टै नेपाल आउन इच्छुक हुनुहुन्छ’, उपप्रधानमन्त्री वाङले प्रधानमन्त्री देउवासँग भने ।
वाङले एक चीन नीतिप्रति प्रतिबद्ध नेपालले चीनविरोधी गतिविधि हुन नदिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिए । ‘नेपालले लिएको नीतिको हामी प्रशंसा गर्छौं’, उपप्रधानमन्त्री वाङले पछिल्लो पटक चीन, भुटान र भारतबीच डोक्लाम विवादमा लिएको तटस्थ विदेश नीतिप्रति इंगित गर्दै भने । प्रधानमन्त्री देउवाले सीमापार रेल, सडकलगायत कनेक्टिभिटी सुदृढ गर्न, पूर्वाधार विकास, व्यापार, लगानी र पर्यटनमा नेपालले चिनियाँ सहयोग चाहेको बताए ।
चीनले सन् २०१७ लाई नेपाल भ्रमण वर्षका रुपमा लिएकोमा प्रधानमन्त्रीले खुसी व्यक्त गरे । देउवाले भूकम्प पछिको पुनर्निर्माण र बाढीपीडितलाई चीनले घोषणा गरेको १० लाख अमेरिकी डलर सहयोगका लागि धन्यवाद दिए । प्रधानमन्त्री देउवाले नेपालबाट निर्यात हुने सामानको चीन निकासी वृद्धिमा सघाउन आग्रह गरे । देउवाले तातोपानी नाका र अरनिको राजमार्ग सञ्चालन गर्न आग्रह गरे ।
चिनियाँ प्रतिनिधिमण्डलले चिनियाँ सहयोगमा निर्मित कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको पनि बुधबार नै भ्रमण गरेको थियो । वाङले नेपाल-चीनले आयुर्वेदिक औषधि अनुसन्धान र विकासमा सहकार्य गर्नुपर्ने बताए । तीनदिने भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डल बिहीबार बिहान स्वदेश फर्किनेछ ।
अन्नपूर्ण पोष्ट्मा खबर छ ।