विश्वकप तयारी : यस्ता छन् नेपालले जित्नसक्ने सम्भावना र चुनौती - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

विश्वकप तयारी : यस्ता छन् नेपालले जित्नसक्ने सम्भावना र चुनौती



काठमाडौं– विश्वकपको एसियाली छनोटको उपाधिको प्रमुख दाबेदार नेपालले आईसीसी टी २० को पहिलो खेल मंगलबार कतारसँग खेल्दै छ । खेल नेपाली समय अनुसार विहान ७:१५ पछि सुरु हुनेछ ।

प्रतिस्पर्धा गर्न नेपाली क्रिकेट टोली अहिले सिंगापुरमा छ। अस्ट्रेलियामा २०२० मा हुने टी–२० विश्वकप क्रिकेट खेल्न नेपालले अझै दुई चरण पार गर्नुपर्नेछ। नेपाल कतारमाथि सहज जित निकाल्दै सुखद सुरुवात गर्न चाहान्छ । उपाधिको एक्लो दाबेदारका रुपमा हेरिएको नेपालले कतारलाई सहजै हराउन सक्ने अनुमान गरिएको छ ।

कतार सोमबार पहिलो खेलमा आयोजक सिंगापुरसँग ३३ रनले पराजित हुँदै खराब सुरुवात गरेको छ । पहिलो पटक ग्लोबल छनोटमा पुग्ने लक्ष्य राखेको कतारलाई नेपालसँगको खेल जित्नै दबाब छ । कतारले सन् २००७ मा कुवतेमा भएको एसीसी टी २० प्रतियोगितामा नेपाललाई ३ विकेटले पराजित गरेको थियो । सन् २००९ मा कतारलाई नेपालले ६ विकेटले पराजित गरेको थियो । आईसीसी टी २० वरीयता अनुसार नेपाल ११ र कतार २१ औं स्थानमा छन् ।

कतार भन्दा नेपाल सबै पक्षमा अब्वल देखिन्छ । नेपाललाई मध्यक्रमका ब्याट्सम्यान ज्ञानेन्द्र मल्लको खराब लयले भने चिन्ता थपेको छ । मल्ललाई आफुलाई प्रमाणित गर्ने यो राम्रो अवसर समेत हो । मल्ल बाहेक अन्य सबै खेलाडी लयमा देखिन्छन् ।

पहिलो खेल जित्दै बलियो मनस्थिति बनाउन नेपालले कतारसँग सम्हालिएर खेल्नुपर्नेछ। प्रधानमन्त्री कप क्रिकेटमा घाइते दीपेन्द्रसिंह ऐरी पूर्णरुपमा फिट हुँदा नेपालको मध्यक्रम ब्याटिङ झनै बलियो बनेको छ । औंलामा चोटका कारण दीपेन्द्रले मलेसियासँगको दुई टी२० खेल गुमाएका थिए । ओपनिङ कप्तान पारस खड्काले गर्ने निश्चित छ । पारसलाई साथ प्रदीप ऐरी र पवन सरार्फमध्य एकले साथ दिने छन् । मध्यक्रममा दीपेन्द्रसँगै,शरद भेषवकर र रोहित कुमार पौडेलले समाल्ने छन् ।

उत्कृष्ट लयमा देखिएका हिटर विनोद भण्डारीले फिनिङको जिम्मेवारी समाल्ने छन् । करण केसी र सोमपाल कामीबाट तल्लोक्रममा ठूला सर्टको आसा गर्न सकिन्छ । नेपालले तीन तीब्र गतिका बलर र दुई स्पिनर मैदान उतार्न सक्छ । स्पिनरको रुपमा सन्दीप लामिछानको स्थानमा टोलीमा निश्चित जस्तै हुँदा ललित नारायण राजवंशरी र वसन्त रेग्मी मध्य एकले स्थान पाउने छन् । यदी तीन स्पिनर खेलाए तीब्र गतिका बलर अभिनाष बोहोरालाई बेन्चमा राख्ने संभावना देखिन्छ ।

नेपालका लागि कप्तान पारस खड्का, सोमपाल कामी र सन्दीप लामिछाने प्रमुख हतियार हुन् । यता कतारका लागि सिंगापुरसँगको खेलमा ४ विकेट लिएका इकवाल हुसेन, अलराउण्डर तमोर शज्जाद र भरपर्दा ब्याट्सम्यान मोहम्मद तनविर उसका प्रमुख खेलाडी हुन् । कतारले नेपालसँग पहिलो पटक टी२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

प्रतियोगितामा रहेका टोलीमध्ये एक मात्र एकदिवसीय मान्यता प्राप्त नेपाल टी–२० वरीयताका आधारमा पनि अगाडि छ। वरीयतामा नेपाल ११औं, कतार २१औं, सिंगापुर २३औं, कुवेत २९औं र मलेसिया ३५औं स्थानमा छन्। तयारी प्रतियोगिताका लागि मलेसियासँग दुई खेल खेल्दा देखिएका कमजोरी हेर्दा भने नेपालले सुधार गर्नुपर्ने ठाउँ निकै छन्।

पारसको सुरुवाती ब्याटिङ चलेर मध्यक्रमका ब्याट्सम्यान ढुक्क भएर खेल्न पाए नेपाली टोलीको बलिङसँगै ब्याटिङ पनि हाबी हुनेछ। मध्यक्रममा ज्ञानेन्द्र मल्लको ब्याट चल्न नसकिरहेको भए पनि रोहित पौडेल, शरद भेषावकर, विनोद भण्डारीबाट आस गर्ने ठाउँ देखिन्छ। रोहितले अप्ठ्यारो परिस्थितिमा सम्हालिएर स्ट्राइक परिवर्तन गर्ने छन् भने शरद र विनोद लामा सट हान्न माहिर छन्।

नेपालले दोस्रो खेल बुधबार मलेसियासँग, तेस्रो खेलमा शनिबार कुवेतसँग र अन्तिम खेलमा आइतबार सिंगापुरसँग खेल्नेछ।