नेपाल–जापानबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्छ : उपराष्ट्रपति पुन - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नेपाल–जापानबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्छ : उपराष्ट्रपति पुन



हिमाल पोष्ट/काठमाडौँ, ३ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल–जापानबीचको सम्बन्ध जनस्तरसम्म विस्तार भएको र दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपालका लागि जापानका राजदूत मासासी ओगावाले आज उपराष्ट्रपति कार्यालय बहादुर भवनमा गर्नुभएको शिष्टाचार भेटवार्ताका क्रममा उपराष्ट्रपति पुनले नेपाल र जापानबीचको औपचारिक सम्बन्ध ६० वर्ष पूरा भए पनि दुई देशबीचको सम्बन्ध निकै पुरानो रहेको र सम्बन्ध जनस्तरसम्म विस्तारित भएको चर्चा गर्नु भयो ।

उपराष्ट्रपतिले जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ऋण सहयोगमा बन्न लागेको नागढुङ्गा सुरुङ मार्ग नेपालका लागि महत्वपूर्ण परियोजना भएको बताउनुहुँदै छिटोभन्दा छिटो निर्माण प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।

राजदूत ओगावाले दुई देशबीचको दौत्य सम्बन्ध स्थापना भएको ६०औँ वर्षगाँठ चलिरहेकाले यो वर्ष दुवै मुलुकका लागि विशेष वर्ष रहेको बताउनुभयो ।

उहाँले नागढुङ्गा सुरुङ मार्ग निर्माणका लागि जापान सरकारले अनुमोदन गरिसकेको बताउनुुहुँदै चाँडै निर्माण प्रक्रिया सुरु हुने बताउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो । रासस