मोदीसंग बिहारका मुख्यमन्त्रीको गुनासो: ‘नेपालले सहयोग नै गरेन’ « Himal Post | Online News Revolution
Logo

मोदीसंग बिहारका मुख्यमन्त्रीको गुनासो: ‘नेपालले सहयोग नै गरेन’



काठमाडौं- बिहारका मुख्यमन्त्री नीतिश कुमारले प्रधानमन्त्री नरेन्द्र मोदीसंग नेपालले सहयोग नगरेको गुनासो गरेका छन् । उनले बाढी नियन्त्रणका लागि नेपालले सहयोग नगरेको आरोप लगाएका हुन्।

विभिन्न राज्यमा आएको बाढीको बारेमा छलफल गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको भर्चुअल मिटिङमा उनले बाढी नियन्त्रणमा नेपालले सहयोग नगरेको आरोप लगाएका भारतीय समाचार एजेन्सी पिटिआईले जनाएको छ।

‘नेपालका विभिन्न क्षेत्रमा भिषण वर्षाको कारण उत्तरी बिहारमा बाढीले नराम्रोसँग क्षति पुर्यावएको छ’, मोदीसँग नीतिशकुमारले भने, ‘नेपाल र भारतबीच भएको सम्झौताअनुसार बिहारको जलस्रोत विभागले सीमा क्षेत्रमा बढी व्यवस्थापनको कार्य गर्दै आएको छ। तर विगत केही वर्षदेखि यस विषयमान नेपालले पूर्ण रुपमा सहयोग प्राप्त गर्न सकेका छैनौं।’

मोदीले बाढीको विषयमा छलफल गर्न आसाम, बिहार, उत्तर प्रदेश, महाराष्ट्र, कर्नाटक र केरलाका मुख्यमन्त्रीहरुको बैठक राखेका थिए।
बिहारमा डुबानको राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै नितिश कुमारको आलोचना हुँदै आएको छ।

आगामी हिउँदमा बिहार बिधानसभाको चुनाव हुँदैछ। विपक्षी दलरुले सरकारको कमजोरीले बाढी नियन्त्रण हुन नसकेको आरोप लगाउँदै आएका छन्।

बाढी तथा डुबानको कारण बिहारका १६ जिल्लाको ७४ लाख मानिस प्रभावित हुँदै आएका छन्।

बिहार र उत्तर प्रदेश राज्यका विभिन्न स्थानमा अन्तर्राष्ट्रिय नियम विपरित भारतले एक पक्षीय रुपमा निर्माण गरेका तटबन्ध र सडकका कारण पानीको प्राकृतिक वहाव रोकिदा नेपालतर्फ बर्षेनी डुबान हुँदै आएको छ।

यसप्रति नेपालले पटकपटक आवाज उठाउँदै आए पनि भारतले चासो देखाएको छैन।