तत्काल नयाँ पार्टी खोल्ने सोँचमा छैनन् माधव नेपाल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

तत्काल नयाँ पार्टी खोल्ने सोँचमा छैनन् माधव नेपाल



काठमाडौँ- आफू निकट स्थायी कमिटिको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अहिले नै नयाँ पार्टीको विकल्पमा जान नसकिने बताएका छन् । सकेसम्म सहमतिमै पार्टी एकता जोगाउने र बाध्यात्मक अवस्थामा मात्र नयाँ पार्टीको विकल्प सोच्नुपर्ने उनले बताएका थिए ।

आफू निकट स्थायी कमिटी सदस्यहरुको बैठकमा नेता नेपालले जहिले पनि आफ्नो प्राथामिकता पार्टी एकता नै रहेको बताए । बुधबार बसेको एमाले संस्थापनपक्षको स्थायी कमिटी बैठकले फागुन २८ मा गठन भएको दसौं महाधिवेशन आयोजक कमिटी भंग गर्ने निर्णय गर्दै उक्त कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको थियो ।

निर्णयले पार्टीभित्रका असन्तुष्ट पक्षको माग सम्बोधन भएको र एकताको आधार बनेको संस्थापन पक्षको दाबी थियो ।महाधिवेशन आयोजक कमिटी भंग गर्ने संस्थापन पक्षको निर्णयपछि लिनुपर्ने रणनीतिमाथि छलफल गर्न नेपालले बिहीबार आफू निकट स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएका थिए । सोही बैठकमा नेता नेपालले अन्तिमसम्म एकताको प्रयास गर्ने र अन्तिम विकल्पमा मात्रै नयाँ पार्टीबारे सोच्ने धारणा राखेको एक सदस्यले बताए ।

उनका अनुसार नेपालको भनाइ थियो, ‘हाम्रो प्रयास जहिले पनि एकताका लागि हुनुपर्छ । तर, एकता यत्तिकै हुने पनि होइन । एकताका लागि अर्को पक्ष तयारै भएन भने मात्रै हामीले मात्रै भनेर त हुँदैन । त्यसपछि अरु विकल्प सोच्नुपर्छ । तर, अन्तिमसम्म हामी एकतामै लाग्छौं ।’

एकताका लागि प्रयास गरेको तर पार्टी विधान अनुसार अध्यक्ष नचलेको आरोप नेपालको छ । ‘अध्यक्ष ओलीलाई नवौं राष्ट्रिय महाधिवेशनबाट गठित केन्द्रीय कमिटी, निकाय र मातहतका सबै पार्टी कमिटी एवम् जनसंगठनलाई २०७५ साल जेठ २ गते अघिको अवस्थामा पार्टी विधान अनुरुप सक्रिय तुल्याउन ६ बुँदे लिखित प्रस्तावसहित आग्रह गरेका थियौं’, बैठकपछि सञ्चारकर्मीसँग भीम रावलले भनेका थिए, ‘तर, पार्टी विधान विपरीत गठित दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसका निर्णयले पार्टी एकतामा अवरोध पुर्‍याउने भएकाले १८ गते बोलाइएको बैठकमा सहभागी हुन सकिँदैन। वार्ता र सहमतिबाट समस्याको समाधान खोजिनुपर्छ ।’

केन्द्रीय कमिटी बैठक बोलाउनु अगाडि स्थायी कमिटी बैठक बस्नुपर्ने बैठकको निर्णय छ । ‘केन्द्रीय कमिटीको बैठक स्थायी कमिटीको बैठकको प्रस्ताव वा निर्णयको आधारमा मात्र बोलाइनुपर्छ’, रावलले भने ।

बैठकमा नेता नेपालले संविधान, लोकतन्त्र र राष्ट्रियताका लागि अहिले विपक्षी गठबन्धनमा सहभागी भएकोसमेत दाबी गरेका थिए । बैठकले संस्थापन पक्षले शुक्रबार बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय लिएको छ । ‘हिजो केपी ओली पक्षले गरेका निर्णय अस्वीकार गरेका छौं । ती निर्णय एकताका पक्षमा छैनन् । दोस्रो, भोलि बस्ने भनिएको बैठक अवैधानिक छ । त्यसकारण हामी सहभागी हुँदैनौं । तेस्रो, एकता गर्ने हो भने सम्पूर्ण रुपमा जेठ २ मा फर्किनु पर्छ । चौथो, सबै कुराहरु सहमतिबाट गर्नुपर्छ,’ स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने ।

संस्थापन पक्षसँग अनौपचारिक वार्तामा बसेका खनाल–नेपाल समूहका नेताहरुले शुक्रबारको बैठक स्थगित गरेर एकताका लागि सहमति खोज्ने प्रस्ताव गरेका छन् । तर, संस्थापन पक्षले यसबारे केही बताएको छैन ।

एमालेको संस्थापन पक्षले बुधबार दसौं महाधिवेशन आयोजक कमिटी भंग गरेर ०७५ जेठ ३ पूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो । खनाल–नेपाल पक्ष भने जेठ २ मा कायम कमिटीबाट पार्टी सञ्चालन हुनुपर्ने अडान राख्दै आएको छ ।