प्रधामन्त्री प्रचण्डको भारत भ्रमण- नेपाललाई खास तीन उपलब्धि - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रधामन्त्री प्रचण्डको भारत भ्रमण- नेपाललाई खास तीन उपलब्धि



चार दिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदै छन् । फर्किनुअघि आज प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले टीसीएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ ।

प्रधामन्त्री प्रचण्डले भ्रमण ऐतिहासिक र महत्त्वपूर्ण भएको बताएका छन् । तीन विषयमा देशलाई हित हुने खालका सहमति र समझदारी भएका छन् । पहिलो, नेपाललाई भारतले हवाई प्रवेश रुट (नेपालगञ्ज) दिने विषयमा सकारात्मक जवाफ दिनु, दोस्रो, सीमा समस्यामा भारतीय प्रधानमन्त्रीले नै जोड दिनु र तेस्रो दीर्घकालीन ऊर्जा व्यापार सम्झौता हुनु, त्यसमा पनि बंगलादेश-भारत-नेपाल त्रिपक्षीय विद्युत् व्यापार सम्झौताले नेपालको दीर्घकालीन विकासमा फाइदा पुर्‍याउने प्रचण्डको दाबी छ ।

बिहीबार प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो । यस क्रममा दुई देशबीच केही विषयमा सहमति तथा समझदारीसमेत भएको छ ।

दिल्ली भ्रमण सकेर शुक्रबार इन्दोर पुगेका प्रधानमन्त्रीलाई देवी अहिल्याबाई होल्कर विमानस्थलमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गरेका थिए । विमानस्थलबाट उज्जैनस्थित श्री महाकालेश्वर मन्दिर पुगेर उनले वास्तुकलाको अवलोकन गरेका थिए । भ्रमणका क्रममा प्रचण्डले हिजै मध्यप्रदेशका गभर्नर मङ्गुभाइ पटेलसँग भेटवार्ता गरे ।

त्यहाँ रहँदा उनले स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेसनले गरेको फोहर व्यवस्थापनसम्बन्धी सफल अभ्यासबारे जानकारी लिए । हिजो प्रधानमन्त्री दाहालको सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गरेका थिए । प्रचण्ड गत बुधबार दिउँसो दिल्ली पुगेका थिए । उनलाई एक राज्यमन्त्रीले विमानस्थलमा स्वागत गरेकी थिइन् ।