नेपाल-भारत प्रवृद्ध समूहको बैठक रद्द - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

नेपाल-भारत प्रवृद्ध समूहको बैठक रद्द



हिमाल पोष्ट / २ पुस, काठमाडौं । नेपाल-भारत सम्बन्ध समीक्षाका लागि गठित प्रबुद्ध समूहको अर्को साताका लागि निर्धारित बैठक रद्द भएको छ । अन्नपूर्ण पोष्ट दैनिक लेख्छ-  पुस ६–७ पोखरामा निर्धारित उक्त बैठक भारतीय पक्षको आग्रहपछि हालका लागि रद्द भएको आधिकारिक स्रोतले बताएको छ ।

भारतको उत्तरप्रदेशमा यसै महिना हुने निर्वाचनमा भारतीय प्रबुद्ध समूहका प्रमुख भाजपाका नेता भगतसिंह कोसियारी सहभागी हुनुपर्ने भएकाले निर्धारित बैठकमा सहभागी हुन नसक्ने जानकारी दिएपछि बैठक रद्द भएको हो ।

भारतीय पक्षले अर्को वैकल्पिक मिति अनुकूल समयमा तोक्ने बताएको छ । एक वर्षअघि गठित उक्त समूहको परिचयात्मक बैठक जुलाई पहिलो साता काठमाडौंमा भएको थियो भने त्यसपछिको बैठक दिल्लीमा भएको थियो ।

आलोपालो दुई मुलुकमा गरिने उक्त बैठक नेपालले पोखरामा आयोजना गर्ने निर्णय गरे पनि अन्तिम समयमा भारतीय पक्षले राजनीतिक कारण देखाई सहभागितामा असमर्थता जनाएपछि रद्द गरिएको हो ।

प्रबुद्ध समूहमा नेपालतर्फबाट संयोजक डा. भेषबहादुर थापा, पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद डा. राजन भट्टराई र कानुनविद् सूर्यनाथ उपाध्याय सदस्य छन् भने भारतीय पक्षबाट समूहको संयोजकमा भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, प्राध्यापकहरू बीसी उप्रेती, महेन्द्र लामा र पूर्वराजदूत जयन्त प्रसाद सदस्य छन् ।