नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि



काठमाडौँं, चैत १३ गते । 

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि ललितपुरस्थित बीपी कोइराला स्मृति भवनमा बस्ने भएको छ ।  निकै लामो समयपछि बस्न लागेको केन्द्रीय समितिको बैठक विशेषगरी स्थानीय निर्वाचनमा केन्द्रित हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा स्थानीय निकायको निर्वाचनका लागि घोषणापत्र  निर्माण समिति, निर्वाचन परिचालन समिति, प्रचार प्रसार समिति  गठन हुने, गाउँपालिका र नगरपालिकाको परिवर्तित संरचना अनुरूप पार्टीको संरचना निर्माण गर्नेलगायतका विषयहरू छलफल हुने पौडेलले बताउनुभयो ।  पार्टीको कार्यसम्पादन समितिलाई पनि यसै बैठकले पूर्णता दिने छ ।  केन्द्रीय समितिको बैठक बस्न नसकेको अवस्थामा कार्यसम्पादन समितिलाई सम्पूर्ण कार्य गर्ने अधिकार दिने गरिन्छ ।

बैठकले पार्टीको विभाग सङ्ख्याबारे पनि टुङ्गो लगाउने सचिवालयले जनाएको छ ।  पार्टीको लेखा समिति, निर्वाचन समितिको संयोजक, अनुशासन समितिलाई पनि यस पटकको बैठकले पूर्णता दिने अपेक्षा गरिएको छ तर पार्टी सभापतिले नियुक्त गर्ने उपसभापति महामन्त्री, सहमहामन्त्री तोकिने वा नतोकिने विषय भने बैठकको कार्यसूचीमा नपरेको जनाइएको छ ।

बैठक गत १० गते नै बस्ने भनिए पनि मधेशी मोर्चासित वार्ता भइरहेकाले आइतबारका लागि सारिएको जनाइएको थियो ।  यसअघि गत कात्तिकमा काँग्रेसको केन्द्रीय समितिको बैठक बसेको थियो ।