भारतबाट नेपाली कामदारलाई पैसा पठाउन गार्हो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

भारतबाट नेपाली कामदारलाई पैसा पठाउन गार्हो



हिमाल पोस्ट नयाँ दिल्ली / कार्तिक २४,
भारत सरकारले अकस्मात हिजो रातीदेखि लागु हुनेगरी पाँच सय र हजारको नोट प्रयोगमा रोक लगाएपछि भारतमा कार्यरत कामदारहरु प्रभावित हुने भएका छन् । दिल्लीमा कार्यरत नेपाली कामदारहरुले नेपालमा पैसा पठाउन समस्या उत्पन्न भईसकेको वताएका छन् ।

विशेषगरी भारतको बै‌कमा खाता नभएका र मनी ट्रान्सफर कम्पनीहरु मार्फत पैसा पठाईरहेका नेपाली प्रभावित भएका छन् । नगद हातमा भएका र बैंकमा खाता भएकाले पैसा बैंकमा जम्मा गरेर इलेक्ट्रोनिक रुपमा पैसा पठाउन सक्ने भएपनि खाता नभएकाहरु प्रभावित भएका छन् ।
उसो त बैंकमा हजार र पाँच सयको नोट जम्मा गर्ने कार्य त्यति सहज भने छैन जसका लागि परिचयपत्र र स्रोत खुलाउन पर्ने अनिवार्य सर्त वनाइएको छ ।
एभरेष्ट बैंकको भारत सम्पर्क कार्यालयका सहायक प्रतिनिधि भरत कार्कीले तत्कालका लागि भारतबाट नेपाल पठाउने रेमिट्यान्स प्रभावित हुने वताए ।
उनले नेपाली कामदारहरु जसको वैंक खाता छैन र नगदमा नै तलव वुझ्ने गरेका छन्, उनीहरुले वढी समस्या भोग्ने अवस्था रहेको बताए । धेरै कामदारको वैक खाता छैन भने उनीहरुले कुनै परिचय पत्र विना तलव वुझिरहेका छन् । कतिपयले आफ्नो तलव नगदमा नै जम्मा गरिरहेका पनि छन् ।
उनले कम्पनीहरुले तत्काल कर्मचारीलाई सयको नोट जम्मा पारेर तलव दिन नसक्ने अबस्था रहेकाले नेपाली कामदारले तलव पाउन समेत कठिनाई उत्पन्न हुन सक्ने वताए । “अव नयाँ नोट सर्कुलेसन नभएसम्मका लागि नेपालीलाई समस्या हुने देखिएको छ” कार्कीले भने ।
भारतमा रहेका केही रेमिट्यान्स कम्पनीमा विहानदेखि नै नेपालीहरुले फोन गरेर आफूसंग भएको नगद अव के गर्ने भन्ने समस्या पर्न लागेको गुनासो गरेका छन् । उनीहरुले नेपालमा आफ्ना आफन्तलाई पैसा पठाउने व्यवस्था गरिदिन आग्रह गरिरहेका छन् । प्रभु मनि ट्रान्सफर दिल्लीका प्रतिनिधि सुनिल मिश्र भन्छन्, “जसको बैंकमा खाता छ उनीहरुले अहिले जम्मा गरेर सय अथवा पछि नयाँ नोट लिन सक्छन् तर, खाता नहुनेका लागि भने केही समस्या देखिएको छ।”

उनका अनुसार रेमिट्यन्स कम्पनीहरुले पाँच सय र हजारका नोटहरु नगद लिएर काठमाडौं पठाउन सक्दैनन् । तर सयको नोट लिएर आए भने पैसा पठाउन सकिन्छ । उनका अनुसार मोदी सरकारको यो नीतिले दीर्घकालिन रुपमा भने रेमिट्यान्स कम्पनीहरुलाई फाइदा हुने छ र हुण्डीको कारोवारमा केही नियन्त्रण हुने छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीको नाममा सम्वोधन गर्दै सो घोषणा गरेका हुन् । विशेषत कालोधन, नक्कली भारु नोट र भ्रष्टाचारलाई नियन्त्रण गर्नका लागि सो घोषणा गरिएको वताइएको छ । भारत सरकारको यो कदमले आतंकावादी समुहहरुको गतिविधिलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने बताइएको छ ।

यद्यपी अस्पताल, पेट्रोलपम्म लगायतका स्थानहरुमा भने आगामी नोभेम्वरसम्म दुवै नोट चल्ने छ । अर्को व्यवस्था नभएसम्म एटिमबाट पनि दिनमा दुई हजार निकाल्न सकिने सरकारी अधिकारीहरुले वताएका छन् । तर बुधवारका लागि भने सवै एटिम तथा वैंकहरु वन्द गरिएका छन् ।
मोदीले सरकारको यो घोषणामा सहयोग गर्नका लागि अपिल गरेका छन् । यस अगाडी मोदी सरकारले स्रोत नखुलेको सम्पतिको पैतालिस प्रतिशत कर तिरेर त्यसलाई शुद्ध वनाउन सकिने प्रावधान ल्याएको थियो । तर भारत सरकारले सोचे अनुसार त्यसमा सफल नभएपछि सो निर्णय लिइएको वताइएको छ ।
आगामी डिसेम्वर ३० सम्म आफुसँग भएको दुवै नोट साटिसक्नु पर्नेछ । भारतले छिटै नै पाँच सय र दुई हजारका नोटहरु सर्कुलेसन गर्ने जानकारी गराएको छ । अवको चार दिनसम्मका लागि हस्पिटल, रेलवे टिकट, एयरलाइन्स, पेट्रोल पम्पलगायतका स्थानहरुमा भने दुवै नोट चल्ने छन् ।

कान्तिपुर