नेपालमा पनि भेटिए मंकिपक्सका बिरामी, बढ्यो खतरा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

नेपालमा पनि भेटिए मंकिपक्सका बिरामी, बढ्यो खतरा



काठमाडौं- अमेरिका र युरोपमा देखिएको मंकिपक्स भाइरस नेपालमा पनि देखिएको छ। दुबईबाट नेपाल आएका एकजना नेपालीमा मंकिपक्सको लक्षण देखिएको र हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएर उपचार जारी रहेको अस्पतालले जानकारी दिएको छ।

भर्ना भएर उपचाररत ती व्‍यक्ति रसुवा जिल्लाका २६ वर्षीय पुरुष रहेको बताइएको छ। अस्पतालले भन्यो, ‘बिरामीको अहिलेको लक्षण र अवस्था हेर्दा मंकिपक्सकै शंका गरेका छौँ । थप परीक्षणपछि अझै प्रष्ट हुनेछ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल भित्रिएका एक युवकलाई ‘मंकीपक्स’ भाइरसको आशंका गरेर सरुवा रोग अस्पताल टेकुमा पठाएको थियाे।

ती युवककोे ढाँड र हातमा ‘मंकीपक्स’ भाइरसको जस्तो देखिने राता विविरा प्रशस्तै रहेको र ‘मंकीपक्स’ भाइरस संक्रमणको आशंका गरिएको अस्पताल स्रोतले जनाएको छ।

यो भाइरस पश्चिम र मध्ये अफ्रिकाका केही भागमा संक्रमित जंगली जनावरहरूमा पाइएको थियो। यो भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरूमा देखिएको थियो। त्यसपछि मानिसमा भने सन् १९७० मा कंगोमा देखिएको थियो।

पछिल्लो पटक सन् २०१९ मा सिंगापुरमा नाइजेरियाबाट आएका एक व्यक्तिमा ‘मंकीपक्स भाइरस’ पुष्टि भएको थियो। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार मंकीपक्स एउटा दुर्लभ किसिमको रोग हो, जुन मंकीपक्स नामक भाइरसका कारण हुन्छ। यो भाइरस दादुरा गरउने बेरियोला भाइरसकै प्रजातिसँग सम्बन्धित ‘अर्थोपक्स’ वंशको हो।

कसरी सर्छ ?

सुरुमा जनावरबाट सर्ने यो भाइरस मानिसबाट मानिसमा समेत सर्ने हुँदा जनस्वास्थ्यको हिसाबले जोखिमपूर्ण रहेको बताइन्छ।

यो भाइरस संक्रमण भएपछि शरीरमा पानी सहितको मसिनो बिमिरा आउने र त्यही बिमिरा फुटेर त्यहाँ भित्र भएको पानी अर्को व्यक्तिको शरीरमा पुगेर संक्रमण हुन सक्ने साथै संक्रमित व्यक्तिको ​सिँगान‚ कफ तथा कपडा प्रयोग गरेमा पनि यो भाइरस सर्ने जोखिम रहेको छ।

कति खतरनाक छ ?

यो भाइरसको सङ्क्रमण रोक्नका निम्ति बिफर विरुद्धको खोप ८५ प्रतिशत प्रभावकारी साबित भएको छ र अझै पनि त्यसको प्रयोग गरिने गरेको पाइन्छ।

हालसम्म कुनै पनि उपचार विधि नभए पनि ‘मङ्कीपक्स’ भाइरसको विरुद्ध बिफरको खोप प्रभावकारी हुनसक्ने भए पनि यो भाइरस संक्रमण भइसकेपछि कहिलेकाहीँ निकै गम्भीर हुने हुँदा सजग रहनुपर्ने चिकित्सकहरु बताउँछन्।

यो भाइरस शरीरमा पसेको ५ देखि २१ दिन भित्र यो भाइरसले लक्षण देखाउँछ, त्यसपछि मानिसमा ‘ज्वरो आउनु, टाउको र जिउ दुख्नु, जाडो लाग्नु, अनुहार तथा शरीरका अन्य भागमा बिमिराहरु देखिनुका साथै ती बिमिरामा पानी भरिँदा चिलाउँछ र कन्याउँदा फुटेपछि आफैँ सुक्दै जान्छ तर कहिलेकाहीँ भने अन्य जटिलता पनि निम्ताउँछ।’

दश जना संक्रमित मध्ये एककाे भने जटिलताका कारणले मृत्यु हुने गरेको अनुसन्धान रिपोर्टहरुमा उल्लेख गरिएको छ।