नेपाली पोशाकमा दार्जिलिङमा गोर्खाल्याण्डको माग - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेपाली पोशाकमा दार्जिलिङमा गोर्खाल्याण्डको माग



काठमाडौं/२२ असार 

भारतको पश्चिम बंगाल सरकारले बंगाल भाषालाई बाध्यकारी शिक्षण व्यवस्था गर्ने प्रयास गरेपछि भड्किएको आन्दोलन पछिल्लो समयमा गोर्खाल्याण्ड प्राप्तिको आन्दोलनमा परिणत भएको छ ।

आन्दोलनका क्रममा दार्जिलिङका नौ दलका नेता र कार्यकर्ताले ढाकाको पोशाक लगाएर प्रदर्शन गर्ने गरेको दार्जिलिङका लेखक विष्णु कुमार शर्माले जानकारी दिए ।

गोर्खाल्याण्ड आन्दोलनका क्रममा दार्जिलिङमा तीन जना नेपाली भाषीको मृत्यु भएपछि गोर्खा जनमुक्ति मोर्चाले आव्हान गरेको आम हड्तालको २१ दिनसम्म दार्जिलिङ, कालेबुङ, मिरिक , सिक्कम लगायतका क्षेत्रमा दैनिक प्रदर्शन हुने गरेको छ ।

आन्दोलनका क्रममा प्रदर्शनकारीले बेग्लै गोर्खा राज्यको मागलाई अघि सारेका छन् ।

एक सय दश बर्ष लामो गोर्खाल्याण्ड आन्दोलन ३६ बर्षसम्म आन्दोलन गरेर १९९२ अगष्ट २१ मा आठौ अनुसूचीमा पुगेर टुंगिएको थियो ।

लेखक बी बी ठकुरीका अनुसार पश्चिम बंगालका मुख्य मन्त्री विधान चन्द्र रायले सन् १९६१ मा पहाडमा बंगाल भाषा पढाउन आदेश दिएका थिए ।

त्यो आदेश विरुद्ध गोर्खाल्याण्डका नागरिकले सडकमै आएर प्रतिपाद गरेपछि आदेश फिर्ता भएको थियो ।

पछिल्लो पटक मुख्यमन्त्री ममता व्यनर्जी सरकारले बंगालभाषालाई बाध्यकारी बनाउने प्रयास गरेपछि आन्दोलन र दमन जारी रहेको गोर्खा जनमुक्ति मोर्चाकी नेतृ निरा शर्माले बताइन् ।

बंगाल सरकारले आन्दोलन शुरु भएपछि अवरुद्ध गरेको इन्टरनेट सेवा अहिलेसम्म शुरु नभएको स्थानिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । हिमालय दर्पणले इन्टरनेट बन्द भएको कारण विद्यार्थीहरुले अनलाईन फर्म भर्न नपाएको उल्लेख गरेको छ ।

गोर्खाल्याण्ड आन्दोलन दवाउन दार्जिलिङ सहितको गोर्खाल्याण्ड क्षेत्रमा इन्टरनेट सेवा बन्द गरेको विरोधमा जिल्ला अदालत दार्जिलिङमा यस अघि नै मुद्धा दर्ता गरिएको छ ।

जिल्ला प्रशासकको निर्देशनमा इन्टरनेट सेवा बन्द गर्ने कदम भारतको इन्फरमेसन टेक्नोलोजी ऐन ६९९ए० विपरीत भएको भन्दै वार एसोसिएसन दार्जिलिङले सो निर्देशन विरुद्ध मुद्दा दर्ता गराएको हो । (अन्नपूर्ण पोष्ट दैनिक)