माधवले विश्वासै गर्न छाडेपछि ओलीतर्फ ढल्किएका थिए नेताहरू - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

माधवले विश्वासै गर्न छाडेपछि ओलीतर्फ ढल्किएका थिए नेताहरू



काठमाडौं- नेकपा एमाले माधव नेपाल समुहमा देखिने गरेका केहि प्रभावशाली नेताहरूले नेता नेपालको साथ् छाडेको र ओली समूहसँग नजिक भएको आरोप लाग्दै आएको छ । कार्यदलमा भएका नेताहरू भिम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल जस्ता नेताहरूले नेता नेपालको साथ छाडेको भन्ने हल्ला चर्चामा छ ।

केपी शर्मा ओली समुहका धेरै नेताहरूले समेत यी नेताहरूले कित्ता परिवर्तन गरेर आफ्नो समुहमा आएको हल्ला फैलाएका छन् । समाचारको पुरानै शैली अपनाएर ओली समुहका नेताहरूले विभिन्न खाले प्रचार समेत गर्ने गरेका छन् । यसैलाई आधार मानेर कतिपय ओली पक्षका नेताहरूले माधव नेपाललाई छाडेर भएपनि एकता गरिछाड्ने बताउन थालेका छन् । तर बजारमा चलेको हल्ला र वास्तविकता भने निकै फरक छ । कार्यदलमा भएका यी नेताहरूले नेता नेपालको साथ छाडेका होइनन् बरू माधव नेपालले यी नेताहरूको वास्ता गर्न छाडेपछि ओलीको नजिक बन्न खोजेका हुन् ।

वास्तविकता नबुझेर नेताहरूले बालुवा पेलेर तेल निकाल्न खोजेको भन्दै नेपाल आफ्नै समुहका दोस्रो तहका नेताहरूसँग रुष्ट बनेका थिए । नयाँ संगठन बनाउन पनि हिम्मत नभएको र कुनै निर्णय लिन नसक्ने भन्दै आफ्नै समुहका तल्लो तहका नेताहरूको आरोप खेपिरहेका कार्यदलका नेताहरूसँग नेता नेपाल भेट्नै छाडेपछि उता ढल्किएको स्रोतको दाबी छ । पार्टी मिलाउने भन्दै नेता नेपालको समय मागेपनि लामो समय नेता नेपालले उनीहरूसँग छलफल गर्न छाडेका छन् ।

रावल, पाण्डे, विष्ट र भुसाल भएको पार्टीको कार्यक्रममा आफ्ना भनाई राखेर उनीहरूको वास्तै नगरेर नेता नेपाल निस्किन थालेका छन् । त्यसको पछिल्लो उदाहरण मंगलबारको जनवर्गीय संगठनका अध्यक्ष र महासचिवहरुसँगको छलफल कायक्रम काफी छ । कार्यक्रममा कतिपय नेताहरूले एमाले फुटाउन सबै शक्तिहरू लागेको दाबी गरे । तर नेता नेपालले भने यो सबै ओलीको षडयन्त्र भएको र अझैपनि ओलीले आफ्नो षडयन्त्र अनुरुप फसाउन खोजेको भन्दै भाषण सकाएर निस्किएका थिए ।

उनले उक्त कार्यक्रममा आफ्नै नेताहरूले समेत कुरा बुझ्न नसकेको र ओलीलाई फाइदा हुने काम गरिरहेको संकेत गरेका थिए । पहिलेदेखि नै ओलीलाई गलाउने अभियानमा लागेका नेता नेपाललाई ओलीसंग झुकेको नै मन परेको थिएन ।

मंगलबारको उक्त कार्यक्रममा भुसालले भनेका थिए, ‘एमालेलाई अमेरिकाले फुटाउन चाहन्छ, ईयूले फुटाउन चाहन्छ, भारतले फुटाउन चाहन्छ, माओवादी, कांग्रेसले फुटाउन चाहन्छन् र ओलीले पनि फुटाउन चाहन्छन्, त्यसैले हामी माधव नेपालसहितको सिंगो एमाले निमार्णको पक्षमा छौँ।’

तर सोही कार्यक्रममा नेपालले भने ओलीले फेरि पनि आफूहरुलाई फसाउने षडयन्त्र गरिरहेकाले उनको पासोमा नपर्ने अभिव्यक्ति दिएर निस्किहाले।

यसबीचमा कार्यदलका नेताहरूले समय माग्दा पनि नेता नेपालले पहिले जस्तो समय नदिने गरेको नेताहरूले बताउने गरेका छन् । केहि दिनअघि मात्र राजीनामा फिर्ता गराउन दवाव दिन नेता रावलको घरमा पुगेका नेपालले राजनीतिक कुरा नगरी राजीनामा फिर्ता लिन आग्रह गरेर फर्किएका थिए । रावलले कुरा गर्न खोज्दा पनि उनले अरू कुरा पछि गरौँला पहिले राजीनामा फिर्ता लिनुस भन्दै निस्किएका थिए ।

नेता नेपालले उनीहरूलाई दिने समय बरु तल्लो तहका नेताहरू र गत साउन ३ गतेदेखि आफ्नो पक्षमा आएका सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठलगायतसँग छलफल गर्न थालेका छन् । उनीहरूसँग समय बिताउन थालेका छन् ।

नेपालले पार्टीमा स्थायी कमिटी भन्दा केन्द्रीय कमिटी र जनवर्गीय कमिटीलाई बढी संक्रिय बनाउन अभ्यास गरिरहेका छन् । स्थायी कमिटी र जनवर्गीय संगठनका कार्यक्रमहरूमै बढी समय दिन थालेका नेपालले संगठन निर्माणलाई नै पार्टीको मेरुदण्ड ठान्ने गरेका छन् । पार्टीको तल्लो तहको ठुलो तप्का ओलीसंग नेताहरूले झुक्नु नहुने भन्दै अहिले गरिरहेका प्रयास पनि रोक्न आग्रह गरिरहेका छन्।

१० बुँदेपछि झनै बढ्यो दुरी

नेता नेपालले सबैभन्दा बढी विश्वास गर्ने यी नेताहरूले बुँदेमा जालझेल गरेको आशंका गरेका छन् । नेपाल समुहका एकले माधव नेपाललाई गलाउन उनीहरूले १० बुँदेमा जानीजानी ओलीको जित गराएको बताउँछन् ।

गत असार २७ गते राति पार्टीभित्रको विवाद निरुपणका लागि बनेको कार्यदल बैठकमा १० बुँदे सहमति भएपछि उपाध्यक्ष भीम रावलले वरिष्ठ नेता नेपाललाई फोन गरे। रावलले नेपाललाई सहमतिका सबै बुँदा क्रमशः सुनाउँदै गए, नेपालले फोनबाटै ‘उम् ठीक छ, ठीक छ’ भन्दै गए। तर अन्त्यमा नेता नेपाललाई बोल्ने नदिई रावलले फोन काटे ।

दसौँ नम्बर बुँदा सुनाएर फोन काटेपछि नेपाल फायर बनेका थिए । रावलले दसौँ बुँदा पढेर सक्दा नेपाल केही बोल्न खोज्दै थिए, रावलले झ्वाट्ट फोन काटिदिए । फोन मात्र काटिएण त्यसपछि हतारमा कार्यदलका सदस्यहरूले १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गरिहाले ।

तर, नेता नेपालले तुरुन्तै प्रतिवाद गरिहाले–अदालतको निर्णय प्रभावित हुनेगरी भएका कुनै पनि सम्झौता मान्य हुनेछैन। नेपालको यो अभिव्यक्तिको पृष्ठभूमिमा उनले आफ्नो पक्षमा पनि लेखिएको कुनै बुँदा खोजिरहेका थिए। त्यहाँ समाहि गरिएका सबै बुँदाले ओलीलाई नै बलियो बनाएको थियो । त्यसपछि नेपालले झनै कार्यदलका सदस्यको कुरा नै सुन्न छाडिदिए ।

पछिल्लो छलफलमा कार्यदलमार्फत ओलीले पठाएको अध्यक्ष बन्ने अफर पनि नेता नेपालले अस्विकार गरिदिए । बरू त्यो अध्यक्ष भीम रावललाई बनाउनुस मैले शुभकामना दिउँला भन्दै व्यंग्य गरेका थिए ।