नेपालमा बन्छ विश्वकै चर्चित घडी, एउटाकाे मूल्य १६ लाख ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नेपालमा बन्छ विश्वकै चर्चित घडी, एउटाकाे मूल्य १६ लाख !



बबरमहल रिभिजिटेडको मूलचोकबाट दाहिनेतिर मुन्टो बटार्दा एउटा सानो बोर्ड देखिन्छ, जसमा लेखिएको छ– कोबोल्ड वाच कम्पनी, मेड इन नेपाल । भित्र छिर्दा एउटा ठूलो टेबलवरिपरि झुरुप्प केही महिला र पुरुष घडीका लागि आवश्यक छालाका सरसामान बनाइरहेका छन् ।

‘नेपालमा सियो पनि बन्दैन’ भन्नेहरू यो घडी कारखानामा पुग्दा जिब्रो टोक्न बाध्य हुन्छन्, लाखौँ रुपियाँ पर्ने घडी ! हुन पनि यहाँ न्यूनतम साढे २ लाखदेखि साढे १६ लाख रुपियाँसम्मका घडी बन्छन् । बाहिरपट्टि घडीलाई डिस्प्ले गरेर राखिएको छ भने भित्र धमाधम घडी उत्पादनको काम भइरहेको हुन्छ । ६ वर्षदेखि यति महँगो घडी नेपालमा उत्पादन हुँदै आएको छ तर चुपचाप । न कतै विज्ञापन देखिन्छ, न त होर्डिङ बोर्ड नै ।

आश्चर्य त के भने यति महँगा घडी नेपाली बजारमै खपत हुन्छन् । “धेरैजसो त नेपालीकै नाडीमा बाँधिन्छन्,” कोबोल्डको नेपालस्थित प्रबन्ध निर्देशक रजनी नकर्मी भन्छिन् । त्यसबाहेक नेपाल घुम्न आउने पर्यटकहरू यो घडी रोज्नेमा पर्छन् ।

यति महँगो ब्रान्डेड घडीको फ्याक्ट्रीले नेपालमा जरा गाड्नुको पछाडि भने विशेष कारण छ । सन् २००८ मा दुनियाँकै अग्लो शिखर सगरमाथा चढ्न अमेरिकी घडी उत्पादक कम्पनी कोबोल्ड वाचका संस्थापक माइकल कोबोल्ड पहिलोपटक नेपाल ओर्लिए । उनलाई सगरमाथाको शिखरमा पुर्‍याउन सघाएका थिए, दुई जना नेपाली हिमाल आरोही गाइड नाम्गेल शेर्पा र ल्हाक्पा थुन्डु शेर्पाले । त्यसपछिका दुई वर्ष लगातार माइकल सगरमाथा चढ्न आए । पछिल्लो वर्ष भने उनी श्रीमती अनिता उग्यान (कोबोल्ड)सहित आएका थिए । हंगेरी मूलकी अनिता हिमाल आरोहण पेसामै आबद्ध व्यक्ति हुन्, जसले सगरमाथा बिनाअक्सिजन चढिन् । माइकल, अनिता र अर्का एक जना बेलायती मूलका आरोही सम्मिलित आरोहण दलका गाइड थिए, तिनै शेर्पाद्वय । शिखर पुगेर फर्कंदा कोबोल्ड दम्पतीलाई अपर्झट जोखिम आइपर्‍यो । हिमालको साँघुरो खोँचमा माइकलको अक्सिजन सिलिन्डर गुल्टिँदै तलतिर पुग्यो । यति कठिन अवस्थामा समेत नाम्गेलले हत्तपत्त आफ्नो अक्सिजन सिलिन्डर उनलाई दिए र बचाए । यता बिनाअक्सिजन चढेकी अनितालाई समेत शेर्पाद्वयले धेरै स्थानमा लड्नबाट बचाएका थिए ।

मृत्युको मुखबाट फर्काइदिएको यही गुन तिर्न कोबोल्ड दम्पतीले नेपालमा शेर्पाद्वयका लागि कोबोल्ड ब्रान्डको घडी कम्पनी खोलिदिने निर्णय गरेका हुन् । हिमाल चढाउन जाँदा हरेकपटक शेर्पाहरू मृत्युलाई हत्केलामा लिएर जाने भएकै कारण उनीहरूको जोखिमपूर्ण जीवनको विकल्पका लागि कोबोल्ड दम्पतीले यस्तो उपाय निकालेका हुन् । त्यसपछि चैत ०६८ मा बबरमहलमा ‘मेड इन नेपाल’ लेखिएको कोबोल्डको घडी उत्पादन सुरु भयो । “एभरेस्ट चढ्दा आफूहरूलाई बचाइदिएपछि उहाँहरूले शेर्पा दाइहरूका लागि यो कारखाना खोलिदिनु भएको हो,” कम्पनीकी प्रबन्ध निर्देशक नकर्मी भन्छिन् ।

कोबोल्ड हिमालयका घडी हातैले बनाइन्छन् । यो कम्पनी करिब तीन करोड नेपाली रुपियाँमा खोलिएको हो । अहिले यो कारखानामा झन्डै २० जनाले रोजगार पाएका छन् । त्यसमा पनि अधिक संख्या महिलाको छ । शेर्पाद्वयले अमेरिकास्थित कोबोल्ड घडीको मुख्यालयमा गएर १० महिना घडी निर्माण र मर्मतसम्बन्धी तालिम लिए । त्यहाँबाट फर्किएपछि नै उनीहरू घडी बनाउन थालेका हुन् ।

उनीहरूकै नाममा यो कम्पनी नेपालमा खोलिएको थियो । तर, अहिले दुवै शेर्पा यो घडी कम्पनीबाट अलग भइसकेका छन् । ल्हाक्पा थुण्डुले त यो संसारबाटै बिदा लिइसकेका छन् । नौपटक सगरमाथा आरोहण गरेका उनको मंसिर ०७३ मा सगरमाथा नजिकै पर्ने ६ हजार ८ सय १२ मिटर अग्लो हिमाल आमादाब्लाम आरोहणका क्रममा मृत्यु भयो । सहयात्रीको मृत्युपछि अर्का शेर्पा ल्हाक्पाले समेत कम्पनी छोडिदिए । कोबोल्डसँग व्यवसायमा बेमेल भएपछि उनी अलग भएका थिए । यद्यपि, कानुन अनुसार यो कम्पनीका नेपाल साझेदार भने हालसम्म पनि ल्हाक्पा नै हुन् ।
चार वर्ष शेर्पाद्वयको हातबाट ‘हिमालय’ सिरिजका कोबोल्ड घडी बने । तर, अहिले भने घडी बनाउन कम्पनीको केन्द्रीय कार्यालय अमेरिकाबाटै प्राविधिकहरू आउँछन् । “शेर्पा दाइहरू नभएपछि उताबाटै घडी बनाउने जनशक्ति ल्याइरहेका छौँ,” नकर्मी भन्छिन् । घडीमा लाग्ने छालाका फित्ता भने नेपाली हातबाटै तयार हुन्छ ।

 

उच्च क्षेत्रमा यात्रा गर्दा लगाउने घडीका रूपमा कोबोल्ड संसारभर प्रख्यात छ । संसारकै महँगा घडीमध्येमा पर्छ, यो ब्रान्ड । अमेरिकाको पेन्सिलभानियामा मुख्यालय रहेको कोबोल्डका घडी थोरै संख्यामा उत्पादन हुने तर महँगोमा बिक्री हुने गर्छन् । यो कुरा त नेपालमा हुने उत्पादनले पनि पुष्टि गर्छ । नकर्मीका अनुसार नेपालमा वार्षिक करिब ५० वटा मात्रै घडी बन्छन् । कोबोल्डको नेपालमा खोलेको कारखाना विश्वमै पहिलो शाखा पनि हो ।

 

हिमाल आरोहणमा जानेहरूले यो घडी बढी मात्रामा प्रयोग गर्छन् । उचाइ, चिसो र हिउँका कारण सामान्य घडीमा समस्या आउन सक्छ । तर, यो घडीमा त्यसलाई पचाउन सक्ने प्रविधिसमेत राखिएको नकर्मीको भनाइ छ । यसका साथै घडी ‘विन्ड प्रुफ’ समेत हो, जसले हिमाली भेगमा चल्ने बेजोड गतिको वायुको वेगलाई सहजै थाम्न सक्छ । यति मात्र होइन, एक सय मिटरसम्मको गहिराइको पानीमा डुब्दा यो घडी बिग्रँदैन । त्यसमाथि यो ‘स्टेनलेस’ भएकाले चट्टानमा घस्रिँदा समेत बेदाग रहन्छ । यही कारण यो घडीले आरोहीहरूलाई आकर्षित गरेको छ ।

नेपालमा उत्पादित घडीलाई ‘कोबोल्ड हिमालय’ सिरिज ब्रान्डमा उत्पादन गरिन्छ । यो घडीको खास विशेषता के हो भने यसको डायल सगरमाथा क्षेत्रको चट्टानबाट बनेको हुन्छ, त्यही भएर पनि यो सर्वाधिक महँगोमा बिक्री हुने गरेको हो । यस्तो घडीको मूल्य १६ लाख ५० हजार रुपियाँ छ । अर्थात् सगरमाथाको जस्तै उचाइ छ, घडीको मूल्यको पनि । ‘हिमालय ४४’ मोडलको यो घडीको सामान्य डायलको नै ३ लाख ७० हजार रुपियाँ पर्छ ।

हिमालय ४१, ट्रान्सग्लोब, थाङ्का डायल, लिंक्स मोडलका घडी बन्छन्, नेपालमा । यसमध्ये थाङ्का डायलमा बुद्धको चित्र अंकित थाङ्का कुँदिएको हुन्छ । लिंक्स सबैभन्दा सस्तो मोडलको घडी हो । घडी बनाउन प्रयोग हुने क्राउन, ह्यान्स, सफारी ग्लासजस्ता कच्चा पदार्थ अमेरिकाबाटै आयात हुन्छ ।

भूकम्पपछि पर्यटकहरूको आगमन कम भएकाले यो घडीको व्यापारसमेत थोरै ओह्रालो लागेको छ । महिनाभरि एउटा बिक्री हुने हिमालय घडी अहिले मुस्किलले तीन–चार महिनामा एउटा बिक्री हुने नकर्मी बताउँछिन् । पर्यटक र पर्यटकसँगै आउने उच्च वर्गका नेपालीहरू यो घडीका प्रमुख ग्राहक हुन् । “सोरुममा आउने, हेर्ने अनि किन्ने जस्तो सामान्य बजारमा चलेको ट्रेन्ड यहाँ लागू हुँदैन,” नकर्मी भन्छिन्, “सम्पर्क र सम्बन्धका आधारमा बिक्री हुन्छन् ।”

सम्बन्धका आधारमा आधा दशकभन्दा लामो समयदेखि चलिरहेको यो घडी विश्व बजारमा समेत पुर्‍याउन सक्ने हो भने सगरमाथाको देशमा बनेको घडी नाडीमा बाँधिदा विश्वमा नेपालको अलग परिचय स्थापित हुन सक्छ ।
नेपाल साप्ताहिकमा मनबहादुर बस्नेतले लेखेको न्यूज स्टोरी