मात्रै ६ मिनेट चलेको कांग्रेस केन्द्रीय समिति बैठक, नेताहरू 'तैँ चुप, मै चुप' - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

मात्रै ६ मिनेट चलेको कांग्रेस केन्द्रीय समिति बैठक, नेताहरू ‘तैँ चुप, मै चुप’



काठमाडौं– सत्तासीन दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ६ मिनेटमै सकिएको छ। शुक्रबार अपरान्ह तीन बजे भर्चुअल रुपमा बसेको बैठक ६ मिनेट बसेर सकिएको हो।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा पार्टी मुख्यालय सानेपा पुगेर बैठकको अध्यक्षता गरेका थिए। उसपभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि सानेपा पुगेका थिए।

बैठकको सुरुवातमा सभापति देउवाले बैठकको एजेन्डाबारे धारणा राखेका थिए। उनले महामारीका कारण भौतिक रुपमा बैठक राख्न नसकिएकाले पहिलो पटक भर्चुअलरुपमा बैठक राख्नुपरेको बताएका थिए।

‘महामारी छ, भौतिकरुपमा बैठक बोलाउन सकिएन। के गर्ने? पहिलो पटक भर्चुअलरुपमा बैठक राख्नु पर्‍यो,’ देउवाले भनेका थिए, ‘हाम्रो विधानले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्नुपर्ने भनेको छ। विधानको त्यही व्यवस्था अनुसार आज समिति गठन गर्न बैठक बोलाइएको हो। महामन्त्रीजीलाई समिति गठनको प्रस्ताव पेस गर्न अनुमति दिन्छु।’

सभापति देउवाले बोलिसकेपछि महामन्त्री थापाले समिति गठनको प्रस्ताव पेस गरे। उनले कार्यसम्पादन समितिमा रहने १३ पदाधिकारी र २४ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए।

प्रस्ताव पेस गरेलगत्तै थापाले निणायार्थ प्रस्तुत गरेका थिए। ‘प्रस्ताव पास गर्न हात उठाउनुहोला भनियो। हात उठाइयो, पास गरियो,’ एक केन्द्रीय सदस्यले ठट्यौली शैलीमा भने।

चुनावबारे भएन छलफल..

स्थानीय तहको निर्वाचनका मितिका विषयमा राष्ट्रिय राजनीति तातेका बेला बसेको सरकारको नेतृत्वकर्ता दल कांग्रेसको केन्द्रीय समिति बैठकलाई अर्थपूर्णरुपमा हेरिएको थियो। तर त्यसबारे कुनै छलफल नै नगरी बैठक सकिएको छ।

सत्तारुढ गठबन्धनले वैशाखमा गर्नुपर्ने स्थानीय तहको निर्वाचन कानून नै संशोधन गरेर पर धकेल्ने प्रयास गरिरहेको छ। निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको अवधि जेठ ५ मा सकिने भन्दै त्यस अगावै निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ। तर, सत्तारुढ गठबन्धन भने संविधान र ऐन बाझिएको भन्दै ऐन संशोधन गर्ने प्रयत्न गरिरहेको हो।

संविधानमा स्थानीय तहका पदाधिकारीको कार्यअवधि सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको, तर ऐनमा पदावधि सकिनुभन्दा २ महिना अघि नै निर्वाचन गर्नु पर्ने व्यवस्था रहेकाले ऐन संशोधन गरेर संविधान अनुसार बनाउने प्रयास गठबन्धनको छ।

स्थानीय तहको निर्वाचन सार्ने खेल भइरहँदा कांग्रेसभित्रै असन्तुष्टि बढेको थियो। डा. शेखर कोइराला समूहले वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउँदै आएको छ। निर्वाचनका सम्बन्धमा पार्टी भित्र बहस हुनुपर्ने माग शेखर समूहको थियो।

यही बेला बसेको बैठकमा निर्वाचनका बारेमा छलफल हुने अनुमान थियो। तर, केन्द्रीय कार्यसम्पादन समिति गठन भएलगत्तै बैठक अन्त्य गरिएको छ।

‘कार्यसम्पादन समिति गठनको प्रस्ताव ल्याइयो। प्रस्ताव पास भएलगत्तै बैठक सकियो,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘केन्द्रीय सदस्यहरुलाई बोल्न दिने कुरा त परै रह्यो, कोही बोलिहाल्लान् कि भने हतारमा भर्चुअल बैठक इन्ड गराइयो।’

को–को परे सम्पादन समितिमा?

बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ। विधान अनुसार ४६ सदस्यीय समिति बन्नुपर्नेमा तत्कालका लागि ३७ सदस्यीय समिति बनाउने निर्णय बैठकले गरेको हो।

कांग्रेसमा हाल १३ जना पदाधिकारी छन्। कोषाध्यक्ष र प्रवक्ताको टुंगो लागेको छैन। प्रवक्तालाई पनि पदाधिकारीकै हैसियत दिइएको छ। यसरी कांग्रेसमा १५ जना पदाधिकारी पुग्नेछन्। सबै पदाधिकारी कार्य सम्पादन समितिमा सदस्य हुने व्यवस्था छ।

सभापति देउवाले ३७ सदस्यीय केन्द्रीय समितिमा शेखर समूहका ८ जनालाई समेटेका छन्। शेखर समूहका चार जना पदाधिकारी पदेन सदस्य रहे भने शेखर सहितका तीन जनालाई देउवाले कार्यसम्पादन समितिमा अटाए।

कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ्ग, महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा सदस्य बनेका छन्।

यस्तै सहमहामन्त्रीहरु फरमुल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्गदेम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्रि पाण्डे र जीवन परियार पदेन सदस्य रहेका छन्।

यस्तै नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, सुनीलबहादुर थापा, डा. शेखर कोइराला कार्यसम्पादन समितिमा छानिएका छन्।

यसैगरी बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जीपछिरिङ्ग लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना कार्यसम्पादन समितिका सदस्य बनेका छन्।