कहाँबाट निर्वाचन लड्ने तयारी गर्दैछन् नेताहरु ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कहाँबाट निर्वाचन लड्ने तयारी गर्दैछन् नेताहरु ?



काठमाडौँ ।

निर्वाचन आयोगले मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक गरेसँगै दलहरूले निर्वाचनका लागि तयारी थालेका छन्। प्रमुख दलका शीर्ष नेताहरू कहाँबाट चुनाव लड्दैछन् भनेर आजको नयाँ पत्रिकामा रमेश सापकोटा, शुरोजंग पाण्डे, वीरेन्द्र ओलीले लेखेका छन्।

कांग्रेस शीर्ष नेताले पुराना क्षेत्र नछाड्ने

कांग्रेस शीर्ष नेताहरूले प्रतिनिधिसभा निर्वाचनको तयारी थालेका छन् । तर, संसद्को सबैभन्दा ठूलो दल कांग्रेसका नेताहरूले खुलेर निर्वाचन क्षेत्रको घोषणा गरेका छैनन् । आफूहरूले लड्दै आएको परम्परागत निर्वाचन क्षेत्रमै फेरि पनि निर्वाचन लड्ने कांग्रेसका शीर्ष नेताहरूले मनस्थिति बनाएका छन् । परम्परागत क्षेत्र रहेकै ठाउँबाट निर्वाचन लड्दा बढी सुरक्षित र सहज हुने बुझाइपछि उनीहरूले परम्परागत निर्वाचन क्षेत्र नै रोजेका छन् ।

डडेल्धुरा नछाड्ने पक्षमा देउवा
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा अहिलेसम्मका सबै निर्वाचन डडेल्धुराबाट लड्दै आएका छन् । उनी २०७० सालको संविधानसभा निर्वाचनमा डडेल्धुरा र कैलाली ६ बाट विजयी बने । उपचुनावका लागि देउवाले कैलाली ६ छोडेर डडेल्धुरा नै रोजे । देउवाले यसपटक कहाँबाट निर्वाचन लड्ने भन्ने घोषणा गरिसकेका छैनन् । तर, एक ठाउँबाट मात्र निर्वाचन लड्न पाउने हुँदा उनले फेरि पनि डडेल्धुरा नै रोज्ने मनस्थिति बनाएका छन् ।

तनहुँमा पौडेल तानातानमा
कांग्रेस नेता रामचन्द्र पौडेलले २०४८ सालयता तनहुँबाटै निर्वाचन जित्दै आएका छन् । २०४८ सालमा तनहुँ १ बाट जितेका उनले २०५१ सालयता तनहुँ २ बाट निर्वाचन लड्दै आएका छन् । तर, क्षेत्र निर्धारण गर्दा पौडेलले निर्वाचन जित्दै आएको तनहुँ २ यसपटक आधा आधा भएको छ । तीनबाट दुईवटा निर्वाचन क्षेत्र हुने क्रममा क्षेत्र नम्बर आधा–आधा भाग १ र २ परेपछि पौडेललाई दुवैतिरबाट लड्न माग भएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

महामन्त्री शंशाक पुरानै ठाउँमा लड्दै
क्षेत्र निर्धारण गर्दा नवलपरासीलाई दुईवटा जिल्ला बनाइएको छ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले २०६४ र २०७० सालको संधिानसभा निर्वाचनमा जितेको नवलपरासी १ बाटै फेरि पनि निर्वाचन लड्ने तयारी गरेका छन् । नवलपरासीको पूर्वी भाग अर्थात् नवलपुरको क्षेत्र नम्बर १ बाटै कोइरालाले निर्वाचन लड्ने तयारी गरेको कांग्रेस जिल्ला सभापति विष्णु लामिछानेले जानकारी दिए ।

कांग्रेस कोषाध्यक्ष पनि पुरानै क्षेत्रमा
कांग्रेस कोषाध्यष सीतादेवी यादव सिरहा ३ बाट निर्वाचन लड्ने तयारीमा छिन् । क्षेत्र निर्धारण हेरफेर हुँदा ३ का केही भाग २ मा र ५ को केही भाग ३ मा हालिए पनि पहिलेकै क्षेत्र नम्बर ३ कायम भएको जानकारी यावदले दिइन् । ‘केही गाउँपालिका र नगरपालिका हेरफेर भए पनि ३ नम्बरबाटै निर्वाचन लड्ने तयारीमा छु,’ उनले भनिन् ।

अधिकांश प्रभावशाली नेता पुरानै क्षेत्रबाट लड्ने पक्षमा
२०७० सालको संविधानसभा निर्वाचनमा पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह काठमाडौं १, कृष्ण सिटौला झापा ३, डा. शेखर कोइराला मोरङ ७, विमलेन्द्र निधि धनुषा ३, अर्जुननरसिंह केसी नुवाकोट १, डा. रामशरण महत नुवाकोट ३, गगन थापा काठमाडौं ४ बाट निर्वाचन लडेर निर्वाचन जितेका थिए ।

प्रत्यक्ष निर्वाचन लड्ने क्षेत्र रोज्दै एमाले शीर्ष नेता

एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरूले संघीय संसद्को निर्वाचनमा लड्ने निर्वाचन क्षेत्रको तयारी थालेका छन् । शीर्ष नेताहरूले प्रत्यक्षतर्फको निर्वाचन क्षेत्रबारे पार्टीनिकट नेता र निर्वाचन क्षेत्रका कार्यकर्तासँग अनौपचारिक परामर्शमार्फत तयारी थालेका हुन् ।

निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझाएपछि साबिकको निर्वाचन क्षेत्रमा फेरबदल भएकाले नेताहरूले निर्वाचन क्षेत्रको रोजाइका लागि समयबाटै परामर्श अघि थालेका हुन् । अध्यक्ष ओलीसहित एमालेका सबैजसो शीर्ष नेता पुरानै निर्वाचन क्षेत्रबाट निर्वाचन लड्ने तयारीमा लागेका छन् ।

केपी ओली

एमाले अध्यक्ष केपी ओलीले झापा ५ बाट संघीय संसद्को निर्वाचन लड्ने मनस्थिति बनाएका छन् । ओलीको गृहनगर दमक पनि यही क्षेत्रमा पर्छ । गौरादह, लखनपुर, तोपगाछी, गौरीगन्जजस्ता नगरपालिका र गाउँपालिका पर्ने ती क्षेत्र एमालेको ‘पकेट क्षेत्र’ मानिन्छन् । झापाका नेता–कार्यकर्ताको सुझाबका आधारमा ओलीले ५ नम्बर क्षेत्रबाट निर्वाचन लड्ने मनस्थिति बनाएको उनको सचिवालय स्रोतले जनाएको छ ।

झलनाथ खनाल

वरिष्ठ नेता झलनाथ खनालले इलाम–१ बाट पाँचपटक निर्वाचन जितेका छन् । संघीय संसद्को आउँदो निर्वाचनमा दोस्रो ह्याट्रिक गर्ने गरी खनालले सोही क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरेका छन् ।

माधवकुमार नेपाल

नेता माधवकुमार नेपालले काठमाडौं र रौतहटका तीनवटा क्षेत्रमध्ये एउटा क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरिरहेका छन् । तीनवटै क्षेत्रबाट चुनाव लड्ने दबाब रहेकाले उनले कुनै निर्णय लिइसकेका छैनन् । ‘काठमाडौं–२, रौतहट ४ र १ मध्ये एउटा क्षेत्रबाट निर्वाचन लड्ने उहाँको तयारी छ,’ नेपालका स्वकीय सचिव मोहन गौतमले भने, ‘अब छिट्टै निर्णय लिनुहुनेछ ।’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा र प्रभावका हिसाबले नेपालले पुरानो क्षेत्र काठमाडौं–२ बाटै चुनाव लड्दा सबैभन्दा उत्तम हुने भन्दै नेता–कार्यकर्ताको दबाब छ ।

नेपालको गृहनगर गौर रौतहट १ मा पर्छ । गौर नगरपालिकालाई एमालेको ‘पकेट क्षेत्र’ मानिए पनि ६–७ वटा साबिकका गाविस भारतसँग जोडिएको दक्षिण क्षेत्रमा पर्ने भएकाले पनि नेपालले स्वयंले ती दुई क्षेत्रप्रति बढी रुचि देखाएका हुन् । नेपालले अघिल्लोपटक रौतहट–१ बाट जितेका थिए ।

वामदेव गौतम

उपाध्यक्ष वामदेव गौतमले बर्दिया र प्युठानमध्ये एक ठाउँबाट निर्वाचन लड्ने तयारी गरेका छन् । दुवै जिल्लाका नेता–कार्यकर्ताको तीव्र दबाब रहेकाले आफूले तत्काल निर्णय नलिएको गौतमको भनाइ छ । ‘दुईमध्ये एउटा जिल्लाबाट लड्छु, मैले निर्वाचन लडेँ भने दुवै जिल्लाको १ नम्बर क्षेत्रबाटै लड्छु, छलफल गर्न बाँकी छ,’ गौतमले भने, ‘जुनसुकै क्षेत्र छाडे पनि त्यहाँ कसलाई उठाउने सोच्नुपर्ने हुन्छ, त्यसकारण सजिलो छैन, पार्टीले नै निर्णय गर्नुपर्छ, म पनि छिट्टै निर्णय गर्दै छु ।’

ईश्वर पोखरेल

महासचिव ईश्वर पोखरेलले कुनै निर्णय नलिइसके पनि पुरानै काठमाडौं–५ नम्बरबाट लड्ने सम्भावना देखिएको उनीनिकट ३ नम्बर प्रदेश संगठन कमिटीका सदस्य नारायण सिलवालले बताए ।

पदाधिकारीहरूको रोजाइ पुरानै क्षेत्रमा
उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, सचिवहरू प्रदीप ज्ञवाली, भीम आचार्य, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ पुरानै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा छन् । सचिव योगेश भट्टराईले काठमाडौं ६ वा ताप्लेजुङबाट निर्वाचन लड्ने तयारी गरेका छन् । त्यस्तै, स्थायी समिति सदस्य शंकर पोखरेल र सुरेन्द्र पाण्डेले पनि पुरानै निर्वाचन क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरिरहेका छन् ।

धेरैजसो माओवादी नेता आ–आफ्नै गृहजिल्लाबाट उठ्ने तयारी

माओवादी केन्द्रका अधिकांश शीर्ष नेता प्रतिनिधिसभा निर्वाचनमा आ–आफ्नै गृहजिल्लामा उठ्ने तयारी गरेका छन् । तर, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेक कुनै नेताले जिल्ला र निर्वाचन क्षेत्र घोषणा गरेका छैनन् ।

प्रचण्ड चितवनबाट

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन ३ बाट निर्वाचनमा उठ्ने भएका छन् । उनको मतदाता नामावली भतरपुर महानगरपालिका–४ लंकुमा छ । प्रचण्ड पहिलो संविधानसभा निर्वाचनमा रोल्पा २ र काठमाडौं १० बाट निर्वाचित भएका थिए । उनी दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं १० र सिरहा ५ बाट उठेका थिए ।

नारायणकाजी श्रेष्ठ गोरखा

नारायणकाजी श्रेष्ठले गोरखा २ बाट उठ्ने तयारी गरेका छन् । उनको घर गोरखा सिरानचोक गाउँपालिका–८ जौबारीमा पर्छ । श्रेष्ठको मतदाता नामावली पनि त्यहीँ छ ।

रामबहादुर थापा पनि चितवनबाटै

माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले पनि चितवनबाटै निर्वाचनमा उठ्ने तयारी गरेका छन् । थापाको मतदाता नामावली भरतपुर महानगर–१० सप्तकोसीमा छ । उनको घर चितवन १ मा पर्छ ।

कृष्णबहादुर महरा दाङ वा रोल्पा

माओवादी नेता कृष्णबहादुर महरा रोल्पा वा दाङ २ बाट उठ्ने तयारी गरेका छन् । महरा पराराष्ट्रमन्त्री हुँदा नेता वर्षमान पुनसँग भएको समझदारी कार्यान्वयन भएमा दाङ २ बाट उठ्नेछन् । पहिलो संविधानसभा निर्वाचनमा महरा दाङ ३ र दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा २ बाट निर्वाचित भएका थिए ।

वर्षमान पुन रोल्पा

नेता वर्षमान पुन अनन्त रोल्पाबाट उठ्ने तयारी गरेका छन् । पहिलो संविधानसभा निर्वाचनमा उनी ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । तर, दोस्रो संविधानसभा निर्वाचनमा मोरङ ९ बाट पराजित भए ।

जनार्दन शर्मा पश्चिम रुकुम

माओवादी नेता जनार्दन शर्माले पश्चिम रुकुमबाट उठ्ने तयारी गरेका छन् । शर्माको मतदाता नामावली पश्चिम रुकुमको मुसिकोट नगरपालिकाको श्रीगाउँमा छ । उनी पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा रुकुम २ बाट निर्वाचित भएका थिए ।

टोपबहादुर रायमाझी अर्घाखाँची

नेता टोपबहादुर रायमाझी अर्घाखाँचीबाट निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छन् । यसअघि अर्घाखाँची जिल्लामा दुईवटा निर्वाचन क्षेत्र थिए । अहिले एउटा मात्र निर्वाचन क्षेत्र छ । उनी अर्घाखाँची १ बाट निर्वाचित भएका थिए ।

पम्फा भुसाल ललितपुर

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले ललितपुर ३ बाट निर्वाचनमा उठ्ने तयारी गरेकी छन् । उनी यसअघि पनि ललितपुरबाटै निर्वाचन लड्दै आएकी छन् । पहिलो संविधानसभा निर्वाचनमा भुसाल ललितपुर ३ बाट निर्वाचित भएकी थिइन् । दोस्रो संविधानसभा निर्वाचनमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा आबद्ध थिइन् । वैद्य माओवादीले निर्वाचन बहिष्कार गरेकाले भुसाल निर्वाचन लड्न पाइनन् ।