नेतृत्वमा भिजन नभएर कांग्रेस कमजोर भएको हो-शेखर कोइराला - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेतृत्वमा भिजन नभएर कांग्रेस कमजोर भएको हो-शेखर कोइराला



कांग्रेस प्रमुख प्रतिपक्षको स्थान पुगेको छ,बामपन्थी सरकार बनेपछिको परिस्थितिलाई कसरी हेरिरहनु भएको छ ?

अहिले देशमा अराजकता बढेको छ।

प्रधानमन्त्री केपी ओलीले अब सबै समस्या समाधान गर्छु भन्नुभएको छ नि ?

अहिलेको सरकारले तीन चौथाई मत पाएको छ । यो मतको कदर गर्नुपर्छ । देश विकास गर्छु भन्नुभएको छ,गर्नुहोला । तर संविधान संशोधन गरेर भत्काउने प्रयासतिर नलागेर सिर्जनात्मक बाटोबाट अगाडि बढ्न म उहाँलाई सल्लाह दिन्छु ।

एमालेका कतिपय नेताहरुले त कांग्रेसलाई पनि सरकारमा आउन आग्रह गरेका छन् नि ?

हामी सरकारमा जाँदैनौं। विपक्षीको भूमिका खेल्छौँ । उहाँहरुले राम्रो काम गर्नुभयो भने सराहना गर्छौँ । गलत गर्नुभयो भने खबरदारी गर्छौँ । लालबाबु पण्डितले सरकारमा आउनुस् भनेको मैले पनि सुनेँ । तर हामी जाँदैनौँ ।

अहिले कांग्रेसको भूमिका त कमजोर भएको देखियो नि । अब कसरी अगाडि बढ्ला कांग्रेस ?

हो, इतिहासमै कांग्रेस अत्यन्त कमजोर भएको छ । यसमा शंका छैन । तर अब समस्या र कमजोरीबाट बाहिर निस्कनुपर्छ । कांग्रेस चुनावमा हार्दैमा अस्तित्वमै छैन भनी ठान्नु हुँदैन,जनतामा यसको के स्थिति छ भन्ने कुरा गत निर्वाचनको मतबाट पनि थाहा पाउन सकिन्छ,निर्वाचनमा हार्नु नै कांग्रेस सकियो भन्ने कसैलाई लागिरहेको छ भने त्यो केवल भ्रम मात्र हो, यथार्थ त्यस्तो होइन ।

कांग्रेस अहिलेकै नेतृत्वबाट फेरि बलियो हुनसक्छ त?

हो यही कुरा मैले बारबार भनेको छु । नेताहरुलाई प्रश्न गरेको छु । कुनै पनि सरकारमा हाम्रो उपस्थिति छैन । कार्यकर्ताहरु निराश छन् । यस्तो अवस्थामा सभापति शेरबहादुर देउवा, जिल्ला, गाउँ र टोलटोलमा जानुपर्छ ।

संसदमा प्रमुख प्रतिपक्षी दलको भूमिका खेल्नुपर्ला । देउवा नै दलको नेतामा निर्वाचित हुनुभएको छ । हो, संसदीय दलको नेता र सभापति, दुवै पदको औचित्य पुष्टी गर्न देउवाले सक्नुहुन्न भन्ने हाम्रो भनाई हो । त्यसकारण हामीलाई अप्ठ्यारो परेको हो ।

एक व्यक्ति दुई पद हुनुहुँदैन भन्न खोज्नुभएको हो ?

त्यसो भन्न खोजेको होइन । अहिलेको अवस्थामा चौथौ महाधिवेशनसम्म एक व्यक्ति एक पद हुनुपथ्र्यो । तर देउवाले मान्नुभएन ।

राष्ट्रपतिको चुनावमा पनि कांग्रेसको उम्मेदवारले फराकिलो अन्तरले हार्नुपर्यो । काग्रेसबाहेक अरुको भोट नै आएन । किन ? यो पनि नेतृत्वको कमजोरी हो । चुनावका बेला गरिएको लोकतान्त्रिक गठबन्धन अहिले कहाँ गयो ?

के कारणले कांग्रेसको नेतृत्व कमजोर भयो ?

नेतृत्वमा भिजन नभएर कमजोर भएको हो ।

भिजन नभएको नेतालाई किन नेतृत्वमा राखिरहनुहुन्छ त ?

त्यो त वैधानिक हिसाबले जाने हो । त्यसै हटाएर हुँदैन । अर्को कुरा नेतृत्वमा नैतिकता पनि हुनुपर्छ । अहिलेसम्म नेतृत्वले कांग्रेसले चुनाव हार्यो भनेर स्वीकार गर्नसम्म सकेको छैन । सभापति देउवा व्यक्ति हारेको हो, पार्टी हारेको होइन भन्दै हिँड्नुभएको छ । योभन्दा लज्जास्पद के हुन्छ ?

अब केन्द्रिय समिति बैठक बस्दैछ । तपाईंको तयारी के छ ?

केन्द्रिय समितिको बैठकपछि महासमितिको बैठक बोलाउनुपर्छ । तुरुन्तै बोलाउनुपर्छ । केन्द्रिय समिति बैठकले नै महासमितिको बैठक बोलाउने निर्णय गर्नुपर्छ ।

केन्द्रिय समितिको बैठकले निर्णय गरेन भने के गर्नुहुन्छ ?

केन्द्रिय समितिले निर्णय गरेन भने हामी हस्ताक्षर अभियान चलाएर भए पनि महासमितिको बैठक बोलाउँछौँ । उहाँहरुले महासमितिको बैठक बोलाएर टालटुल पार्ने नीति लिन खोजेको देखिन्छ । पदाधिकारी बढाउने, उपसभापति, महामन्त्री बनाइदिएर लोभी नेताहरुलाई ललिपप दिन खोजेको आशंका छ । यसरी टालटुले नीतिले अब कांग्रेस अगाडि बढ्न सक्दैन ।

१४ औँ महाधिवेशनमा तपाईहरु शेरबहादुर देउवालाई पराजित गर्न सक्नुहुन्छ ?

पराजितको कुरा होइन, पराजित त उहाँ त्यसै भइसक्नुभयो । पराजित मानसिकतामा नै हिँडिरहनुभएको छ अहिले । पराजित मानसिकताबाट लड्ने व्यक्ति महाधिवेशनमा कसरी जित्छ ?

सभापति देउवा त अझै बलियो बन्दै गएको देखिन्छ नि। ससंदीय दलको नेतामा दुई तिहाई मत ल्याएर जितेका छन् । कसरी हराउनुहुन्छ ?

त्यस्तो लागेको मात्रै हो । समानुपातिकमा आफ्नै मान्छे छानेर सांसद बनाएपछि संसदीय दलको नेतामा भोट त हाल्ने नै भए नि । यो कुन चैं आश्चर्यको बिषय भयो र !
(नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बुधबार रेडियो नेपाल वाणीलाई दिएका अन्तर्वार्ताको सम्पादित अंश)