न्युयोर्क पनि 'लकडाउन': बाहिर निस्के ५ सय डलर जरिवाना - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

न्युयोर्क पनि ‘लकडाउन’: बाहिर निस्के ५ सय डलर जरिवाना



एजेन्सी–कोरोना भाइरसको सबैभन्दा धेरै चपेटामा रहेको अमेरिकाको न्युयोर्क सिटीमा अत्यावश्यक बाहेकका कामदारलाई काममा जान अप्रिल १५ सम्म रोक लगाइएको छ। त्यतिन्जेलसम्म घरबाटै काम गर्न सक्ने नियममा उल्लेख छ।

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले अप्रिल १५ सम्मका लागि ‘पज’ लम्बाउने घोषणा गरेका हुन्। सीडीसीले न्युयोर्क, न्युजर्सी र कनेक्टिकटका बासिन्दालाई ट्राभल एड्भाइजरी जारी गरेको भोलिपल्ट कुमोको यस्तो घोषणा आएको हो ।

यी तीन राज्यमा ७० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ सयले ज्यान गुमाएका छन्।

कुमोले आइतबार दिउसो पज अवधि लम्बाउने घोषणा गरेका हुन् । सुपरमार्केटहरु खोल्न र अन्य बिजनेस खोल्न प्रतिबन्ध लगाइएको छ । मानिसको जमघटमा समेत रोक लगाइएको छ।

न्युयोर्क राज्यमा मात्र मृतकको संख्या एकहजारको नजिक पुगिसकेको छ। न्युयोर्कमा बिरामीहरु अस्पतालमा भर्ना हुने दर पनि शनिबारदेखि ह्वात्तै बढेको थियो।

सीडीसीले न्युयोर्क, न्युजर्सी र कनेक्टिकटका बासिन्दालाई १४ दिन अन्य राज्यमा अत्यावश्यकबाहेकका यात्रा नगर्न यात्रा सुझाव जारी गरेको छ । ट्रम्पले न्युयोर्कलाई क्वारेन्टाइन गर्ने बताए पनि सीडीसीले भने यात्रा सुझावमात्र जारी गरेको हो।

नियम नमाने ५ सय डलर जरिवाना

न्युयोर्क सिटीमा सामाजिक दुरी कायम नगर्नेलाई ५ सय डलर जरिवाना गरिने भएको छ। न्युयोर्कका मेयर बिल डे ब्लाजिओले कोरोना भाइरसको महामारीविरुद्ध लड्न सामाजिक दुरी कायम गर्न नमान्नेहरुलाई ५ सय डलर जरिवाना गरिने बताएका छन् ।

जरिवानाको रकम २५० डलरदेखि ५ सय डलरसम्म हुने बताइएको छ। मेयरले भनेका छन्, ‘तपाईहरुलाई बारम्बार चेतावनी दिइएको छ। यदि कसैले सुन्दैन भने त्यो व्यक्ति जरिवानाको भागिदार हुनेछ।’

न्युयोर्क सिटीमामात्र कोरोना संक्रमितको संख्या ३२ हजार नाघेको छ भने मृतकको संख्या ६७८ पुगेको छ ।

अमेरिकाभर सामाजिक दुरीको नियम अप्रिल ३० सम्म

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभरका लागि सामाजिक दुरी कायम गर्नुपर्ने गाइडलाइनलाई अप्रिल ३० सम्मका लागि लम्बाउने घोषणा गरेका छन्। कोरोना संक्रमण फैलिन नदिन अप्रिल ३० सम्मका लागि सामाजिक दुरीको नियम कायम राख्ने उनले बताएका छन् ।

आगामी दुईसाता मृत्युदर उच्च हुने र त्यसपछि जुन १ सम्म मुलुक रिकभरको बाटोमा जाने ट्रम्पले बताएका छन्। जुन १ सम्म धेरै राम्रा कामहरु हुने उनले बताएका छन्