न्युयोर्कमा संकटकाल घोषणा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

न्युयोर्कमा संकटकाल घोषणा



न्युयोर्क । अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागु गरिएको घोषणा गरेको अधिकारीहरूले जनाएका छन् ।

कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेकोलगायत कारणले संकटकाल लगाउनुपरेको उनले स्पष्ट पारेका छन् ।

“पछिल्लो समयमा कोरोनाभाइरसबाट संक्रमित भएर अस्पताल भर्ना हुनेहरूको संख्या बढेकाले थप महामारी फैलिन नदिनका लागि संकटकाल लगाइएको हो,” गभर्नरले भनेका छन् ।

कोरोनाभाइरस पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिएकाले थप चिन्तित बनाएकाले सतर्कता अपनाउनुपरेको उनको भनाइ छ ।

अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागु हुने र आवश्यकताअनुसार लम्बिन पनि सक्ने उनले स्पष्ट पारेका छन् ।

शुक्रबार बेलुका निर्देशन जारी गर्दै उनले संकटकाल लागु गरेसँगै अस्पतालको क्षमता वृद्धिमा पनि सरकारले काम गर्ने जानकारी दिए । त्यसैगरी, खोपको प्रयोगलाई पनि विस्तार तथा वृद्धि गर्ने उनको भनाइ छ ।

दक्षिण अफ्रिकामा नयाँ कोरोनाभाइरसको रूपमा ओमिक्रोन कोरोनाभाइरस फैलिएको भन्ने सूचनाका आधारमा पूर्वसतर्कता स्वरूप पनि न्युयोर्कमा संकटकालको घोषणा गरिएको अधिकारीहरूले जनाएका छन् ।

न्युयोर्कसहित अमेरिकाले अन्य राज्यहरूलाई पनि उच्च सतर्कता अपनाउन तथा प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गर्न आह्वान गरेको छ ।

त्यसैगरी बेलायत, क्यानडालगायत कैयौँ युरोपेली मुलुकहरूलाई समेत विदेशबाट आउने यात्रुहरूको प्रवेशमा कडाइ गर्न सुझाइएको छ । रासस/एएनआई