पीएसजीमा नेयमार र अन्य तीन खेलाडीलाई कोरोना - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पीएसजीमा नेयमार र अन्य तीन खेलाडीलाई कोरोना



एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पीएसजीले बुधबार एक विज्ञप्ति जारी गर्दै तीन खेलाडीमा कोरोना संक्रमण भएको बताएको थियो । क्लबले खेलाडीको नाम भने सार्वजनिक गरेको थिएन ।

तर फ्रान्सको ले’एकिपेले क्लब स्रोतलाई उदृत गर्दै नेयमारसहित अर्जेन्टिनी मिडफिल्डरद्वय एन्जल डी मारिया र लिआन्ड्रो पारेडेसलाई कोरोना संक्रमण भएको जनाएको छ । पीएसजीको लिग खेल स्थगित भएपछि खेलाडीले केहि विश्राम पाएका थिए ।

नेयमार, डी मारिया र पारेडेससँगै अन्य खेलाडी स्पेनको इबिजा बिचमा छुट्टी मनाउन गएका थिए । यूईएफए च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिखसँग पराजित भएपछि पीएसजी पहिलो उपाधिबाट बन्चित भएको थियो । पीएसजी इतिहासमै पहिलो पटक फाइनलमा प्रवेश गरेको थियो ।

फ्रान्सेली लिगको नियम अनुसार अब पीएसजीको लिग खेल पनि स्थगित हुने सम्भावना बढेको छ । लिगको नियम अनुसार ८ दिनको अन्तरमा ४ भन्दा बढी खेलाडीमा कोरोना संक्रमण देखिए खेल स्थगित गर्नुपर्ने छ । क्लबले केहि दिनमा नै अन्य खेलाडी र टोली सदस्यको कोरोना परिक्षण गर्नेछ ।

भर्खरै च्याम्पियन्स लिग खेलेका कारण पीएसजीको सिजनको पहिलो खेल सेप्टेम्बर १० लाई सारिएको थियो । पीएसजीले लेन्ससँग खेल्दै फ्रेन्च लिग वानको सुरुवात गर्ने तालिका रहेको छ ।