एनआईसी एसिया र प्रभुको एटीएम चोरीमा प्रयोग भएको खुलासा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एनआईसी एसिया र प्रभुको एटीएम चोरीमा प्रयोग भएको खुलासा



काठमाडौं : शनिबार रातिदेखि सनसनी बनेको एटीएम चोरी प्रकरणमा प्रभु र एनआईसी एसिया बैंकको एटीएम कार्ड प्रयोग भएको खुलासा भएको छ ।  प्रहरी अनुसन्धानबाट विभिन्न बैंकबाट कम्तिमा ४ करोड रुपैयाँ चोरी गर्ने चिनियाँले यी दुई बैंकको नक्कली एटीएम प्रयोग गरेर अरु बैंकका एटीएमबाट पैसा निकालेको खुलेको छ। 

ह्याकरले ती बैंकको नक्कली एटीएमकार्ड बनाएर भिसा प्रणाली सञ्चालन गर्ने नबिल, नेपाल एसबीआई, सानीमा, एनएमबीलगायत थुप्रै बैंक तथा वित्तीय संस्थाको एटीएमबाट पैसा निकालेको प्रहरीले बताएको छ। सबै बैंकले शंकास्पद कारोबारको विवरण प्रहरीलाई बुझाइसकेका छन्। त्यसमाथि छानबिन भइरहेको प्रहरीले बताएको छ। 

नेपाल इलेक्ट्रिक पेइमेण्ट सिस्टम लिमिटेड (नेप्स)को कार्ड प्रयोग गरेर भीसा कार्ड प्रयोग गर्ने बैंकका एटीएमबाट पैसा झिकिएको प्रारम्भिक प्रहरी अनुसन्धानमा देखिएको छ। अहिले प्रभु, सनराइज, माछापुच्छे, जनता, सिद्धार्थ, सिटिजन्स, एनआईसी एसिया, बैंक अफ काठमाण्डू, प्राइम, नेपाल बंगलादेश र ग्लोबल आईएमई बैंक नेम्स प्रणालीमा आबद्ध छन्। त्यस्तै देवः विकास, ज्योति विकास, ओम डेभेलपमेण्ट, शाइनरेसुङ्गा, सांग्रिला डेभेलपमेण्ट, एक्सेल डेभेलपमेण्ट र लुम्बिनी विकास बैंक पनि यस सञ्जालमा आबद्ध छन्। 

अहिले नेप्समा आबद्ध बैंकका एटीएम कार्डहरु अरु बैंकका एटीएम मेसिनमा प्रयोग गर्न बन्द गरिएको छ। तर सोही बैंकको एटीएमबाट भने पैसा निकाल्न पाइन्छ। 

विभिन्न बैंकको एटीएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसर टेकुको टोलीले आइतबार दरबारमार्गस्थित नबिल बैंकको एटीएममा पैसा निकालिरहेको अवस्थामा चिनियाँ नागरिक चु ल्याङयाङलाई पक्राउ गरेपछि ह्याकरको गिरोह फेला परेको हो। 

प्रहरीले राजधानीका विभिन्न ठाउँबाट करिब दुई करोड रुपैयाँसहित पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी  होबिन्द्र बोगटीका अनुसार उनीहरुको साथबाट १३२ थान नक्कली एटीएम बरामद गरिएको छ। 

प्रहरीले चिनियाँ नागरिक लो च्याल, चु ल्याङया, छिल यूनछिङ, छन पिङपिलाई पक्राउ गरेको हो।  प्रहरीले उनीहरुको साथबाट सक्कली एटीएम १७, कार्ड प्रिन्टर मेसिन १  थान, मोबाइल ६ थान, ल्यापटप १ थान र सामसुङ मोबाइल १ थान बरामद गरेको छ।