निधार !! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

निधार !!



-हेमन्त गिरी

सबैले भन्थे-
‘निधार ठुलो छ तेरो
भाग्यमानी छस् !’

कम्पनीमा
भाग्य अजमाउन
जाँदा र आउँदा
काँचका घरहरूमा
हेर्छु फर्की फर्की
आफ्नो आकृति !

सौ मन्जिला भित्ताहरूमा
रङ्ग पोतिरहँदा
पर..
रेगिस्तानको मिराजमा
देखिरहन्छु आफ्नो तस्बिर !

तातो पानीले नुहाइदिई वरी
कपालमा लिरिक्क तेल लगाइदिएर आमाले
टिलिक्क तालु टल्काइदिए झैँ,
टल्काउँछु भाँडाहरू निधार रसाउन्जेल

तिनमा हेर्छु भाग्यको ऐना !

आहा !!
कति ठुलो छ मेरो निधार !
खुसी हुनुको कुनै सीमा हुन्छ भने
त्यो नाघेर मक्ख पर्छु !
चिच्याएर भन्न मन लाग्छ उत्तिबेलै-
गोरू चराउने रामेलाई
गाडी चलाउने श्यामेलाई
झिँगा धपाउने शिवेलाई
अनि
मान्छे बेच्ने शंकरेलाई !
‘देख्यौ केटा हो मेरो भाग्य ?
यहाँ त सबथोक चिल्लै चिल्ला !
जे हेर्‍यो तिनै चिल्ला
चिल्लाहरूले जिल्ल पार्दै
देखाइदिन्छन् मेरो ठुलो निधार !’

कहिलेकाहीँ
साहूले सामान बोक्न
पछाडिको सिट ‘अफर’ गर्‍यो भने
झटपट सिसामा हेर्छु
मुसुक्क मुस्कुराउँछु
सलूट गर्छु सुस्तरी आफूले आफूलाई

बिस्तारै पन्छाउँछु
भाग्य छेक्ने चुल्ठोलाई
निधार बाट पछाडितिर !
उत्तिबेलै खलासी बिरेलाई
फोन गरेर भन्न मन लाग्छ,
‘कैलै कारको खलासी बनेको छस् लठूवा ?!’

यता दूरदेशमा,
थकान,सुस्केरा,निद्रा र चेतना..
अनौठा छन् यी साथीहरू मेरा !
थकान सँगै सुस्केरा आउँछ
तनावको तन्ना लिएर
अनि
चकचके चेतना आई बिथोल्न खोज्छ
निमुखो निद्रालाई !
भन्छ-
‘ए चाँदे,
कति मक्ख छस् हाउ जिन्दगीमा !?
बुझेको छस्-
कित्ता कित्तामा पलट्टिंग भइसक्यो तेरो निधार

बेचिइसके सबै प्लटहरू !

एक कित्ता-पासपोर्टको राजस्वको लागि
अर्को कित्ता- नेताको सर्वस्वको लागि
तेस्रो कित्ता- बाको अहंको लागि
चौथो कित्ता- आमाको दमको लागि

अन्तिम कित्ता सङ्गिनीको सुनको लागि..
बेचिइसक्यो केटो तेरो निधार सप्पै !’

त्यसो त
‘निधार ठुलो छ तेरो’ भनेर
बा-आमा-आफन्त र संगीसाथीले जगाइदिएको
विश्वासको अगाडी
कहाँ पत्याउँछु र म
फुच्चे चेतनाको कुरा !?

ठुलो स्क्रिन भएको मोबाइल
पठाइदिएको छु बालाई यसपालि दसैँमा !
बा भन्नुहुन्थ्यो,
घरको तलो बढ्यो भने
मेरो निधार

आफ्नो नाकको आकार
एकै पटक बढ्छ भनेर !

साइतको समय पारेर
साहूले नदेख्ने गरी टोइलेटमा लुकेर
ट्याक्क गर्नेछु भिडियो कल बा-आमालाई
ठुलो स्क्रिन भएको मोबाइलमा

पसार्ने छु स्क्रिनमा निधार
‘ल, बा-आमा साइतको टिको लगाइदेऊ’ भनी,
‘भाग्यका आशीर्वाद बर्साइदेऊ’ भनी !
ठुलो स्क्रिन भएको मोबाइलमा
मेरो निधार कत्ति ठुलो देखिएला हगि ?!

आमा टोलाइरहनेछिन्-
‘मेसिन खसेर लागेको
निधारको खत
अझै सन्चो भएनछ यसको’ भन्दै !
बाले आँखाका डिल भरी
पानी रोकेर भन्नेछन्-
‘निधार त ठुलै पाको होस् ठुले,
भाग्यमानी हुनू !

✍️हेमन्त गिरी